मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्ने भएकाे छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयकाे प्रवर्धनमा सिस्नुपानी मकवानपुरले उक्त कार्यक्रम ४ भदौमा हेटौंडामा गर्ने भएकाे हाे ।
संस्थाका अध्यक्ष संप्रस पौडेलले समाजमा रहेका बेथिति र विसङ्गतिविरूद्ध साहित्य सिर्जना गर्दै आइरहेको संस्थाले १ दर्जन बढी कलाकारहरूमार्फत् विविध हास्यव्यङ्ग्यात्मक प्रस्तुतिहरू प्रस्तुत गर्ने बताए ।
वडाध्यक्ष नवीन सिग्देलले हास्यव्यङ्ग्य सिर्जनाले कमजोरीहरूलाई सुधार्नका लागि प्रेरणा मिल्ने र जनताको आवाजलाई व्यङ्ग्यका साथसाथै रमाइलो अनि ठट्यौली शैलीमा मुखतरित गर्ने बताए । ‘अघिल्ला वर्ष भएकाे कार्यक्रम उपलब्धी मुलक भएकाेले यो वर्ष समेत निरन्तरता पाएकाे छ’ उनले भने ।
कार्यक्रममा प्यारोडी गायन, व्यङ्ग्य प्रहसन, नाचलगायत विविध हास्यव्यङ्ग्य प्रस्तुतिहरू रहने संस्थाका सचिव सुमार्गी हुमागाईंले बताए ।साहित्यको उन्नयनमा होस्टेमा हैंसे गर्दा समग्र हेटौंडाकै र नेपालको साहित्यमाथि नै लगानी हुने र त्यसले साहित्यिक क्षेत्रमा ठुलो टेवा पुगेको उनले जानकारी दिए ।
४ नम्बर वडाले विगतदेखि नै सिस्नुपानीलगायतका अन्य संस्थाहरूमार्फत् साहित्य लेखन कार्यशाला, रचना वाचन, प्रतियोगिता, साहित्यकार तथा कलाकार सम्मान गरिरहेको छ । वडाले शिक्षामा समेत यथेष्ट लगानी गरिरहेकाेले सर्वाधिक शिक्षित जनसङ्ख्या रहेको वडाका रूपमा परिचित रहेको बताइएकाे छ । साहित्य सिर्जना जोसुकैले गर्न नसक्ने र सिर्जना गर्नेहरूलाई हौसला दिनुपर्ने भन्दै यस्ता काममा अन्य वडाहरूलाई समेत हातेमालो गर्न समेत सिस्नुपानीले आग्रह गरेकाे छ ।
४ नम्बर वडा कार्यालयको प्रवर्धनमा हुने कार्यक्रम हेटौंडा ४ स्थित ओम्याक्स सिनेमा हलमा आयोजना हुने आयोजकले जनाएकाे छ । कार्यक्रममा प्रवेश पासकाे व्यवस्था गरिएकाेले सिस्नुपानी तथा वडा कार्यालयमा सम्पर्क गर्न सकिने वडा सचिव आरपी गुरागाईंले जानकारी दिए ।
यसअघि राष्ट्रव्यापि कविता प्रतियोगिता, हास्यव्यङ्ग्यात्मक गाईजात्रा, देउसीभैलो, कार्टुन प्रदर्शनी, हास्यव्यङ्ग्यकार सम्मान तथा रचना वाचनलगायतका विविध कार्यक्रमहरू गर्दै आइरहेको सिस्नुपानी मकवानपुर सिस्नुपानी नेपाल(केन्द्र) काे पहिलो जिल्ला शाखा हो ।

