मकवानपुर । नेपाल बिज्ञान तथा प्रबिधि-प्रतिष्ठान (नास्ट) को आयोजनामा कार्तिक २८ गते आइतबारबाट हेटौंडामा बिज्ञान लेखन तालीम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको ब्यबस्थापनमा सुरु भएको ३ दिने तालिममा बिज्ञानका बिषय वस्तुलाई समाचार बनाउन सहज होस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए । तालिममा मकवानपुरका २२ जना पत्रकारहरुको सहभागिता रहेकोे छ ।
नास्टका सचिब महेश कुमार अधिकारीको सभाध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तालिमका प्रशिक्षक केदार शर्मा, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुरका अध्यक्ष मणिराज गौतम, वनस्पति अनुसन्धान केन्द्र प्रमुख रघुराम पराजुली, नास्टका प्रवर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना ब्रज लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तीमा बागमती प्रदेशका जनप्रतिनिधिहरु पुगेका छन् । प्रदेश मुख्यमन्त्री, मन्त्री तथा सांसदहरु वनकरिया वस्तीमा पुगेका हुन् ।
संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोग तथा जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजनामा नागरिकसंग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु र वनकरियाहरु बीच समुदायकाे समस्यामा छलफल भएकाे छ । जनताको पहुँचमा सांसदहरुलाई अझै पहुँच योग्य बचाउनका लागि यो कार्यक्रम वनकरिया वस्तीमा गरिएको हो । संसदीय र राज्यका मामिलामा संलग्न हुनु र जानकारी पाउनु नागरिकको अधिकार भएकाले नागरिकसंग प्रत्यक्ष सवाद कार्यक्रम राखिएको हो ।
अन्तरक्रियामा वनकरियाहरुले वषौंदेखिको जंगली जिवन छोडेर पछी बस्दै आएको जमिनको लापलपुर्जा पाउनुपर्ने, गाउँमा बिद्यालय, खानेपानी, सडकको उचित व्यवस्था गर्न माग गरेका छन् । यता प्रदेशसभाका सदस्यहरुले वनकरियाको समस्या समाधान गर्न तीनै तहका सरकारलाई दवाव दिने बताए ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले वनकरियाका कारण मकवानपुरको चिनारी थपिएकाे बताए । कार्यक्रमलाई संबोधन गर्दै उनले यो वस्तीलाई व्यवस्थित बनाउनका लागि आफुहरुले तीनै तहका सरकारलाई दवाब दिने बताए । वनकरिया समुदायले पनि लालपूर्जा पाउने चरणमापुग्दा भूमि आयोगनै खारेज भएकोमा आपत्ति जनाए ।
वनकरिया वस्तीमा नजिक विद्यालय नहुँदा समस्या भएकोले विद्यालय खोल्नुपर्नेमा जोड दिदै पौडेलले भने–‘स्कुल खोल्न हामी लाग्छौं । अहिले यस समुदायका बालबालिकालाई जतिसम्म पढ्ने हो त्यती सम्म निशुल्क हुनुपर्छ । अझै विद्यालय स्तरमा पढ्नका लागि त शुल्क लाग्दैन । कसैले लगायो भने गाउँपालिकाले पढ्ने वतावरण तयार पार्छ ।’ यस वस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विजुलीको उचित व्यवस्थापन गर्न सरकारलाई आफुहरुले दवाव दिने उनले बताए ।
बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले आफुले आफुलाई वनकरिया हौं भनेर हिनताबोध नगरिकन काम गर्नका लागि आग्रह गरिन् । ‘यो समुदायको विकास गर्न हामी लागि पर्ने छाै । अब तपाइहरु र हामी सबै एउटै हौं त्यसैले कुनैपनि काममा अग्रसर भएर लागौं’ उनले भनिन् । वनकरिया समुदायको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकार मिलेर आयआर्जन र बृद्धी बिकास काम गर्ने श्रेष्ठले बताईन् ।

बागमती प्रदेशसभाका सदस्य सन्त चेपाङले वनकरियाका समस्याहरु बुझ्नैका लागि आफुहरु गाउँमै आएको बताए । ‘सिमान्तकृत लोपन्मुख समुदायको समस्या बुझेर त्यही अनुसार काम गर्न सरकारले ध्यान दिनुपर्छ’ कार्यक्रममा बोल्दै उनले भने ।
बागमती प्रदेशका प्रदेशसभाका सदस्य ओम बहादुर ग्लानले वनकरियाहरु पनि आत्म निर्भरकाे बाटाेमा लाग्नुपर्ने बताए । जिवन बाच्नकै लागि संघर्ष गरिने बताउँदै उनले भने–‘आफै आत्मनिर्भर वन्नका लागि सोचौं ।’ वस्ती व्यवस्थित गर्नका लागि आफुहरुले सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले यहाँको वस्तीलाई स्थायी गराउनका लागि संघीय सरकारसंग पहल भइरहेको बताए । मनहरीमा ८ सय परिवार सुकुम्वासी रहेको बताए । कार्यक्रममा मनहरी–४ का वडा अध्यक्ष धुर्ब खड्काले यस वस्तीका लागि सबै सांसदले ध्यान दिनुपर्ने बताए । मनहरी–४ का वडा सदस्य बिष्णु चेपाङले विद्यालय टाढा हुँदा ठुलो समस्या भोग्नुपरेको बताए । जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले सांसदहरुले समुदायमै गएर छलफल गर्दा स्थानीयहरुका समस्या नजिकबाट जानकारी पाउने र सरकारलाई दवाव दिन सहज हुने बताए ।

कार्यक्रममा आफ्ना गाउँको समस्या पोख्दै स्थानीय सन्तोष वनकरियाले बषौदेखि जग्गाको उपभोग गर्दै आएका छौं तर, आफ्नो नाममा नहुँदा समस्या भएको बताए । आफुहरुलाई काम गर्नका लागि कुनै अफ्ठेरो नभएको बताउँदै उनले भने–‘जग्गा छ । खेती गर्दै आएका छौं । तरकारी पनि लगाएका छौं । तर, वारम्वार वन कार्यालयले वस्ती हटाउन लाग्दा हामी समस्यामा पर्ने गरेका छौं । वर्षायाममा बाढी आएर भाग्नुपर्ने बाध्यता त्यतीनै छ ।’
स्थानीय ठुलिमायाँ वनकरियाले आफुहरु पहिले जंगलका ओडारमा बसेको भएपनि अहिलेको पुस्तालाई यही वस्ने वातावरण मिलाउनका लागि सांसदसंग माग गरिन् । तत्काल विरामी हुँदा एम्बुलेन्स आउन सक्ने सडक नहुँदा समस्या परेको उनले दुखेसो पोखिन् । स्थानीय बुद्धराम प्रजाले यसक्षेत्रका हरेक घरधुरीका लागि सरकारले हेर्नुपर्ने बताए । सरकारले यो वस्तीबाट हटाउन खोज्ने भन्दा पनि स्थायी रुपमा वसोवास गराउनुपर्ने स्थानीय कान्छीमायाँ वनकरिया बताउँछिन् ।

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा रहेकाे पुष्पलाल स्मृति शान्तिपार्क व्यवस्थापन समितिको अध्यक्षमा गणेश भेटवाल चयन भएका छन् ।
शनिबार पार्क परिसरमा आयोजित साधारणसभाले भेटवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा रिटबहादुर खत्री,सचिवमा सानुकाजी पाण्डे, सहसचिवमा पूर्णप्रसाद अर्याल र कोषाध्यक्षमा विष्णुकुमारी बस्नेत चयन भएकी छन् ।
पार्क व्यवस्थापन समितिका अध्यक्ष हरिवंश भेटवालको सभाध्यक्षमा भएकोे कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र हेटौंडाको व्यवस्थापनमा पुष्पलाल स्मृति शान्तिपार्क व्यवस्थापन समितिले पार्कको संरक्षण गर्दै आएको छ ।
मकवानपुर । मनहरी गाउँपालिकाको हाडीखोलामा रहेको पशुपतिनाथ माविमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्री सहयाेग गरिएकाे छ । ललितपुर गोदावरीकी प्रजिता घिमिरेले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री सहयाेग गरेकी हुन् ।
ललितपुर गोदावरीकी स्थायी बासिन्दा घिमिरेले जन्मदिनको अवसर पारेर विद्यालयलाई १ हजार थान कपी, पेन्सिल, डटपेनलगायत शैक्षिक सामाग्री प्रदान गरेकी हुन् । प्रजिताको आमाले अध्ययन गरेको पशुपतिनाथ माविलाई शैक्षिक सामाग्री सहयोग गर्न उनीहरु मनहरी गाउँपालिका हाडिखाेला आएका थिए ।
विद्यालयका १ सय ९० जना बालबालिकालाई जनही ५ थान कपी, सोही बराबरको पेन्सिल र डटपेन वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले जानकारी दिए । विव्यस अध्यक्ष गौतमले जन्मदिनमा केक काटेर अनावश्यक खर्च गर्ने परम्परालाई तोड्दै बिपन्न बालबालिकालाई सहयोग गरेको भन्दै प्रजिता र उनको परिबारलाई धन्यबाद दिएका थिए । आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिन विद्यालय परिबारले अपेक्षा गरेको अध्यक्ष गौतमले बताए ।
केहीदिन अघि मनहरी–४ का वडासचिव बिदुर पाठकले पनि आफ्नो जन्मदिनको अवसरमा विद्यालयका ३ जना बालबालिकालाई १० हजार रुपैयाँ सहयोग गरेको थिए । विद्यालयले जन्मदिनमा गर्ने खर्च कटौती गरी विद्यालयको कोषमा रकम जम्मा गर्न पनि सुरु गरेको अध्यक्ष गौतमले जानकारी दिएका छन् । हालसम्म कोषमा २५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।
मनहरी–४ का वडाअध्यक्ष ध्रुब खड्काको प्रमुख आतिथ्यतामा बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको हो ।
मकवानपुर । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औ बार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ ।
साधारणसभामा बोल्दै प्रदेश सहकारी बोर्ड कार्यकारी उपाध्यक्ष तथा जिल्ला सहकारी संघ अध्यक्ष नारायण देवकोटाले बहुउद्देश्यीय सहकारीले गर्दै आएको लगानी प्रभावकारी रहेको बताएका छन् । सहकारीको उदाहरणीय कामलाई अझै पारदर्शी बनाउनु पर्ने उनले बताए । सहकारीहरू धेरै हैन व्यवस्थित बनाउन तर्फ कसरत जारी रहेको उनले बताए ।
सहकारीलाई व्यवस्थित गर्न ल्याईएको ऐनमा अझै पनि केही कठिनाइ रहेकोले संशोधन आवश्यक भएको देवकोटाले बताए । प्रदेश सरकारले पनि सहकारीलाई प्रोत्साहन गर्दै विकासको मेरूदण्डको रूपमा स्वीकार गरेको उनले बताए । कार्यक्रममा विशेष अतिथि रहेका हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले स्थानीय सरकारले गर्ने काममा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
यसैगरी सहकारीका अध्यक्ष रामहरि न्यौपानेले संस्थाको गतिविधि तथा भाबी कार्ययोजना प्रस्तुत दिएका थिए । अध्यक्ष न्यौपानेले सहकारीले सदस्यमुखी काम गरेको बताए । सहकारीले हेटौंडा सिमेन्ट, रिद्दिसिद्दी सिमेन्ट, शिवम सिमेन्ट र बिश्वकर्मा सिमेन्टको बिक्री गर्दै आएको न्यौपानेले अध्यक्ष बताए ।
सहकारीले वृद्ध शेयर सदस्यलाई मासिक ५ सयका दरले बार्षिक एकमुष्ट ६ हजार प्रदान गर्दै आएको छ । शनिबार भएको साधारणसभामा पनि ४ जना वृद्ध शेयर सदस्यलाई सम्मान सहित रकम हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा प्रदेश बचत संघ उपाध्यक्ष राधा सिंतान, सहकारी संस्थाका संस्थापक अध्यक्ष भोला शर्मा खरेल,हेटौंडा सिमेन्ट बिक्री बिभाग प्रमुख सीता गिरीलगायतको उपस्थिति रहेको थियो ।
कुल शेयर पुँजी ५ करोड ९ लाख ७४ हजार ५ सय रूपियाँ रहेको सहकारीमा १ हजार ८ सय ३३ जना शेयर सदस्यहरू रहेका छन् । संस्थाको कुल ऋणलगानी २० करोड ३६ लाख २६ हजार ५ सय र जगेडा कोष १ करोड ७० लाख ९९ हजार रहेको सहकारीले जनाएको छ । साधारणसभामा संस्थाका उपाध्यक्ष जंगबहादुर गुरुङले स्वागत गरेका थिए ।