मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तीमा बागमती प्रदेशका जनप्रतिनिधिहरु पुगेका छन् । प्रदेश मुख्यमन्त्री, मन्त्री तथा सांसदहरु वनकरिया वस्तीमा पुगेका हुन् ।
संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोग तथा जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजनामा नागरिकसंग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु र वनकरियाहरु बीच समुदायकाे समस्यामा छलफल भएकाे छ । जनताको पहुँचमा सांसदहरुलाई अझै पहुँच योग्य बचाउनका लागि यो कार्यक्रम वनकरिया वस्तीमा गरिएको हो । संसदीय र राज्यका मामिलामा संलग्न हुनु र जानकारी पाउनु नागरिकको अधिकार भएकाले नागरिकसंग प्रत्यक्ष सवाद कार्यक्रम राखिएको हो ।
अन्तरक्रियामा वनकरियाहरुले वषौंदेखिको जंगली जिवन छोडेर पछी बस्दै आएको जमिनको लापलपुर्जा पाउनुपर्ने, गाउँमा बिद्यालय, खानेपानी, सडकको उचित व्यवस्था गर्न माग गरेका छन् । यता प्रदेशसभाका सदस्यहरुले वनकरियाको समस्या समाधान गर्न तीनै तहका सरकारलाई दवाव दिने बताए ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले वनकरियाका कारण मकवानपुरको चिनारी थपिएकाे बताए । कार्यक्रमलाई संबोधन गर्दै उनले यो वस्तीलाई व्यवस्थित बनाउनका लागि आफुहरुले तीनै तहका सरकारलाई दवाब दिने बताए । वनकरिया समुदायले पनि लालपूर्जा पाउने चरणमापुग्दा भूमि आयोगनै खारेज भएकोमा आपत्ति जनाए ।
वनकरिया वस्तीमा नजिक विद्यालय नहुँदा समस्या भएकोले विद्यालय खोल्नुपर्नेमा जोड दिदै पौडेलले भने–‘स्कुल खोल्न हामी लाग्छौं । अहिले यस समुदायका बालबालिकालाई जतिसम्म पढ्ने हो त्यती सम्म निशुल्क हुनुपर्छ । अझै विद्यालय स्तरमा पढ्नका लागि त शुल्क लाग्दैन । कसैले लगायो भने गाउँपालिकाले पढ्ने वतावरण तयार पार्छ ।’ यस वस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विजुलीको उचित व्यवस्थापन गर्न सरकारलाई आफुहरुले दवाव दिने उनले बताए ।
बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले आफुले आफुलाई वनकरिया हौं भनेर हिनताबोध नगरिकन काम गर्नका लागि आग्रह गरिन् । ‘यो समुदायको विकास गर्न हामी लागि पर्ने छाै । अब तपाइहरु र हामी सबै एउटै हौं त्यसैले कुनैपनि काममा अग्रसर भएर लागौं’ उनले भनिन् । वनकरिया समुदायको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकार मिलेर आयआर्जन र बृद्धी बिकास काम गर्ने श्रेष्ठले बताईन् ।

बागमती प्रदेशसभाका सदस्य सन्त चेपाङले वनकरियाका समस्याहरु बुझ्नैका लागि आफुहरु गाउँमै आएको बताए । ‘सिमान्तकृत लोपन्मुख समुदायको समस्या बुझेर त्यही अनुसार काम गर्न सरकारले ध्यान दिनुपर्छ’ कार्यक्रममा बोल्दै उनले भने ।
बागमती प्रदेशका प्रदेशसभाका सदस्य ओम बहादुर ग्लानले वनकरियाहरु पनि आत्म निर्भरकाे बाटाेमा लाग्नुपर्ने बताए । जिवन बाच्नकै लागि संघर्ष गरिने बताउँदै उनले भने–‘आफै आत्मनिर्भर वन्नका लागि सोचौं ।’ वस्ती व्यवस्थित गर्नका लागि आफुहरुले सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले यहाँको वस्तीलाई स्थायी गराउनका लागि संघीय सरकारसंग पहल भइरहेको बताए । मनहरीमा ८ सय परिवार सुकुम्वासी रहेको बताए । कार्यक्रममा मनहरी–४ का वडा अध्यक्ष धुर्ब खड्काले यस वस्तीका लागि सबै सांसदले ध्यान दिनुपर्ने बताए । मनहरी–४ का वडा सदस्य बिष्णु चेपाङले विद्यालय टाढा हुँदा ठुलो समस्या भोग्नुपरेको बताए । जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले सांसदहरुले समुदायमै गएर छलफल गर्दा स्थानीयहरुका समस्या नजिकबाट जानकारी पाउने र सरकारलाई दवाव दिन सहज हुने बताए ।

कार्यक्रममा आफ्ना गाउँको समस्या पोख्दै स्थानीय सन्तोष वनकरियाले बषौदेखि जग्गाको उपभोग गर्दै आएका छौं तर, आफ्नो नाममा नहुँदा समस्या भएको बताए । आफुहरुलाई काम गर्नका लागि कुनै अफ्ठेरो नभएको बताउँदै उनले भने–‘जग्गा छ । खेती गर्दै आएका छौं । तरकारी पनि लगाएका छौं । तर, वारम्वार वन कार्यालयले वस्ती हटाउन लाग्दा हामी समस्यामा पर्ने गरेका छौं । वर्षायाममा बाढी आएर भाग्नुपर्ने बाध्यता त्यतीनै छ ।’
स्थानीय ठुलिमायाँ वनकरियाले आफुहरु पहिले जंगलका ओडारमा बसेको भएपनि अहिलेको पुस्तालाई यही वस्ने वातावरण मिलाउनका लागि सांसदसंग माग गरिन् । तत्काल विरामी हुँदा एम्बुलेन्स आउन सक्ने सडक नहुँदा समस्या परेको उनले दुखेसो पोखिन् । स्थानीय बुद्धराम प्रजाले यसक्षेत्रका हरेक घरधुरीका लागि सरकारले हेर्नुपर्ने बताए । सरकारले यो वस्तीबाट हटाउन खोज्ने भन्दा पनि स्थायी रुपमा वसोवास गराउनुपर्ने स्थानीय कान्छीमायाँ वनकरिया बताउँछिन् ।


