मकवानपुर – आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै गर्दा मकवानपुरमा चुनावी वातावरण तात्दै आएको छ । राजनीतिक दलहरूले जिल्लाबाट प्रतिनिधि सभा, प्रदेश सभा तथा समानुपातिकको लागि उम्मेदवार बन्ने सम्भावित व्यक्तिहरूको नाम सिफारिस गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो घोषणा तथा प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।
मकवानपुरमा एकाघरका दिदी बहिनी र दाजु बहिनी उम्मेदवारको लागि सिफारिस भएका छन् । यसैगरी बाबु छोरीले स्वतन्त उम्मेदवारी सिफारिस गरेका छन् ।
राप्रपा मकवानपुरको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फबाट दुई दिदीबहिनी इन्दिरा डल्लाकोटी र बालकुमारी डल्लाकोटी सिफरिस भएका छन् । एकै पार्टीबाट डल्लाकोटी दिदीबहिनी सिफारिस भएका हुन् ।
यता नेकपा एमाले र नेपाली काँग्रेसबाट एकाघरका दाजुबहिनीको नाम सिफारिस भएको छ । नेकपा एमालेबाट मकवानपुर १ (१) का लागि आरती पाठकको नाम सिफारिस हुँदा नेपाली काँग्रेसबाट पार्टी सचिवसमेत रहेका इश्वरकुमार पाठक पनि सोही क्षेत्रमा सिफारिस भएका छन् । हाल सिफारिस भएका दुवैजनाले निर्वाचन टिकट पाएमा चुनावी मैदानमा एकै क्षेत्रमा फरक फरक पार्टीबाट दाजुबहिनीको भिडन्त हुनेछ ।
यसैगरी मकवानपुरमा बाबुछोरीले आगामी निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । नीति निर्माण तहमा सक्षम युवा भन्ने नाराका साथ मकवानपुरका राकेश कुमार शर्माले प्रतिनिधि सभाको लागि मकवानपुरको क्षेत्र २ बाट उम्मेदवारी घोषणा गरेका छन् । शर्माकै छोरी दिपिकाले उहीँ नाराका साथ प्रतिनिधि सभाको लागि मकवानपुरको क्षेत्र १ बाट उम्मेदवारी घोषणा गरेकी छिन् । इकागजबाट
मकवानपुर । आज चेपाङ समुदायमा जातिय महान पर्वको रुपमा मनाउँदै आइएको न्वागी पर्व मनाइदै छ । चेपाङ समुदायको प्रमुख धार्मिक पर्वको रुपमा मनाइने छोनाम अर्थात न्वाँगी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ ।
आफ्नो जातीय पहिचान बोकेको यो पर्वमा सार्वजनिक बिदाको माग गर्दै आएका चेपाङ समुदायको आवाजलाई सम्मान गर्दै बागमती प्रदेश सरकारले आज सार्जनिक बिदा दिएको हो । बागमती प्रदेशको ३ जिल्लामा मात्रै लागु हुने गरी पहिलो पटक प्रदेश सरकारले बिदा दिएको हो ।
नेपाल चेपाङ संघको माग अनुसार प्रदेश सरकारको मन्त्रिपरिषदले २०७८ चैत ९ गते प्रदेशको चेपाङ बाहुल्यता रहेको मकवानपुर, चितवन र धादिङमा प्रत्येक वर्षको भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । यि ३ जिल्लामा आज सार्वजनिक बिदा दिइएको हो ।
विगतको वर्षहरुमा झै चेपाङ संघले आज बुधबार चितवनमा सामूहिक रुपमा न्वाँगी पर्व मनाउँदै छ । तत्कालीन संविधानसभाका सदस्य एवं नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले पर्वको सबै तयारी पुरा भएको बताए । विगत ७ वर्षदेखि चेपाङ समुदायले चेपाङ संघको पहलमा सामूहिक रुपमा न्वाँगी मनाउँदै आएका छन् ।
प्रकृतिक पूजक चेपाङहरूले आफ्नो धर्म परिवर्तन गर्न थालेपछि न्वाँगी पर्व मनाउने क्रम क्रमशः लोप हुँदै गएकोले सामुहिक रुपमा पर्व मनाउँदै महत्वबारे चर्चा गर्ने गरिएको छ । चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफुल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न तथा फलफुल भूमि र पितृलाई चढाउने गरिन्छ ।
सामूहिक रुपमा भोजन गरेर, रातभर रमाइलो गरेर जागा बस्ने गरीन्छ । लोपोन्मुख चेपाङ जातिले भीरपाखाबाट कन्दमुल र फलफूलहरु संकलन गरेर छाक टार्ने गरेको भएपनि यस दिन मिठो खाने र रमाउने गरेको प्रदेश साँसद सन्त चेपाङले बताए । चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्ने पनि गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको साँसद चेपाङले बताए । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भासामा “छोनाम” भन्छन् भने खस नेपाली भासामा न्वाँगी भनिन्छ ।
बागमती प्रदेशमा ६३ हजारको हाराहारीमा चेपाङको जनसंख्या रहेको छ । बागमती प्रदेश बाहेक गोरखालगायतको जिल्लाहरुमा पनि चेपाङको बसोबास रहेको छ । चेपाङ समुदायलाई संघीय सरकारले लोपोन्मुख प्रजातिको रुपमा सुचिकृत गरी सामाजिक सुरक्षाको व्यवस्था गर्दै आएको छ ।
आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सांस्कृतिक रूपमा चेपाङ चेपुवामा परेको बताउँदै आएता पनि न्वागीपर्व विशेष महत्वका साथ मनाइएको मकवानपुरका चेपाङ अगुवा तथा पूर्व साभासद् पूर्व गोविन्दराम चेपाङले बताए ।
गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरु भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरुले कुखुराका बली समेत दिने गर्छन् । दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे) द्वारा पितृ पुजा रातभरि गरेपछी भोली ‘बारना’ गरेर चाड समापन गरिदैछ ।
मकवानपुर । स्थानीय तह निर्वाचन २०७८ मा गठबन्धनबाट चुनाव जितेर आएपछिको १०० दिनमा भएको प्रगतिको बारेमा जानकारी गराउँन आयोजित कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामाले गुनासोको बेलीविस्तार लगाइन् ।
नगरप्रमुख भएर आएपछि नगरपालिकाको कार्य प्रगतितर्फभन्दा आफन्तलाई चित्त बुझाउन अग्रसर भएको आरोपप्रत्यारोप खेपिरहेकी लामाले आफैले आयोजना गरेको कार्यक्रममा आफूमाथि लागेको गुनासाहरु आफैं सार्वजनिक गरिन् ।
लामाले भ्रष्टाचारको आरोपमा जनप्रतिनिधिलाई असफल बनाउने खेल भएको आरोप लगाइन् । लामाले अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा बेनामी र फर्जी उजुरी हालेर जथाभावी भ्रष्टाचार भएको भन्ने आरोप हेटौंडा उपमहानगरमाथि लगाइएको बताइन् । भ्रष्टाचार भएको प्रमाणित भए आफू हदैसम्मको कारबाही भोग्न तयार रहेको लामाले बताइन् । लामाको नेतृत्व आएपछि मात्रै हेटौंडा उपमहानगरपालिकामा ५० वटाभन्दा बढी उजुरी परिसकेको लामाले बताइन् ।
हेटौंडा उपमहानगरपालिकाले एकसय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गर्न कार्यक्रम गरेको थियो । उपमहानगरपालिकाले हेटौंडामा पत्रकार सम्मेलन गरेर आफूले अगाडि बढाएको कार्यबारे जानकारी दिएको हो ।
उपमहानगरपालिकाले यसअवधिमा प्रत्येक घरधुरीलाई दश हजार लिटर खानेपानी निः शुल्क वितरण सुरु गरेको, उपमहानगरका अतिविन्न १५४१ परिवारलाई स्वास्थ्य बीमा गरिएको नगरप्रमुख लामाले जानकारी दिइन् । यसैगरी नगरमा तीनपांग्रे सवारी पार्किङ व्यबस्थापनको पहल स्वरुप स्टिकर टास्ने कार्य सुरु लामाले बताइन् ।
नगरपालिकाले हालसम्म मयुरी ३०३ र अटो १ हजार १२२ गरी जम्मा १ हजार ४२५ तीन पांग्रे सवारीमा स्टिकर टाँसेको छ । यसैगरी रेडक्रससंग सम्झौता गरी चालु आर्थिक बर्षमा नगरबासीहरुलाई निःशुल्क रक्तसेवालाई नविकरण गरिएको जनाएको छ ।
यो सेवा अघिल्लो आर्थिक वर्षमा नै निर्णय भएको थियो । लामाको कार्यकाल सुरु भएपछि हटिया र पदमपोखरी स्वास्थ्य चौकीकोस्तर बृद्धि गरी आधारभूत अस्पतालको रुपमा सञ्चालन गरी हाललाई ओपिडि, प्रयोगशाला र स्वास्थ्य बीमाको औषधी वितरण गर्ने प्रयोजनको लागि चिकित्सक भर्ना प्रक्रिया र बीमा सेवा अनुमती प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
मकवानपुर । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) जिल्ला सञ्जाल मकवानपुर संयाेजकमा केदार आचार्य चयन भएका छन् । हेटौंडामा भएको एनसीई जिल्ला सञ्जालकाे पाँचौ भेलाले ग्रामिण असहाय बालबालिका सामुदायिक पुनर्स्थापना (रुहेल–सीआरसी) हेटौंडाका कार्यक्रम व्यवस्थापक आचार्यकाे संयाेजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हाे ।
नयाँ कार्यसमितिमा संयाेजक आचार्यसँगै हिमराईट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबालाई कोषाध्यक्ष चयन भएकी छिन् । यस्तै समितिको सदस्यहरुमा माईती नेपालकी माया लामा र मन लामा, नारी सीप सृजना केन्द्रकी ज्योति बम्जन, मकवानपुर महिला समूहकी नीशा लामा, सिविन नेपालका झविन्द्र ज्ञवाली, बाल कल्याण समाजका कमल फुयाँल, नारी संरक्षण केन्द्रका राम मिजार, शान्ति फाउण्डेशनकी सीता गरुङ, पत्रकार अशोकसुजन श्रेष्ठ, मानबहादुर वाईबा रहेका छन् ।
साथै, एनसीई नेपालको भदौ २३ र २४ गते काठमाडौंमा हुने १३ औं बार्षिक सभा तथा सातौं अधिवेशनका लागि मकवानपुर प्रतिनिधीमा संयोजक आचार्य र कोषाध्यक्ष वाईबालाई तोकिएको छ । त्यसका साथै जिल्ला सभाले एनसीई जिल्ला सञ्जालको विकास तथा क्षेत्र विस्तार गर्दै सदस्यहरुलाई थप सकृय बनाउन आवश्यक रणनीति निर्माण गर्नका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई सञ्जालमा समावेश गर्ने निर्णय गरेको सदस्य श्रेष्ठले जानकारी दिए ।
एनसीई मकवानपुरका संयोजक बुद्धवीर लामाको सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे ।
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसको क्याम्पस सभा भएको छ । हेटाैडा उपमहानगरपालिका २ नम्बर वडामा रहेकाे क्याम्पसकाे शनिबार १६ औं क्याम्पस सभा भएकाे हाे ।
मकवानपुरकाे पुरानाे शैक्षिक संस्था मकवानपुर क्याम्पसकाे संचालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलले क्याम्पसको पृष्ठभूमि र अहिलेको अवस्थाबारे जानकारी गराएका थिए । सभामा पाैडेलले क्याम्पसको शैक्षिक अवस्था, भौतिक अवस्था, आर्थिक तथा प्रशासनिक अवस्था लगायतको प्रगति प्रतिवेन प्रस्तुत गरेका थिए । क्याम्पसका सवल र दुर्वल पक्षहरु पेश गरेका उनले क्याम्पसलाई थप सुधारका लागि शैक्षिक कार्य योजनाहरु, दीर्घकालीन कार्ययोजना, प्रशासनिक सुधार कार्य योजनाहरु, छात्रवृति कोष, मानव संसाधनको विकासका विषयको प्रतिवेदन पेश गरेका थिए ।
सभामा कोषाध्यक्ष हिरालाल श्रेष्ठले क्याम्पसका आर्थिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कोरोनाका कारण पठन पाठन र भर्ना संस्थाका केहि समस्या उत्पन्न भएता पनि क्रमिक रुपमा सहज हुदैं गएको बताए । सभामा श्रेष्ठले क्याम्पसले गत आर्थिक वर्ष २०७८।७९ मा २० करोड ४० लाख ४८ हजार ६ सय ७९ को कारोबार गरेको जानकारी दिए । उनले चालु आर्थिक वर्ष २०७९।८० मा २४ करोड ११ लाख ९० हजार १ सय ७० रुपैयाकाे आयव्यव अनुमानित बजेट प्रस्तुत गरेका थिए । सभामा क्याम्पस सेवा समितिका अध्यक्ष बद्रीप्रसाद लम्सालले सेवा समितिले गरेका वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।
सभामा विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो भने क्याम्पस प्राध्यापक लोकराज शर्माले पिएचडी गरिएकाले सम्मान समेत गरिएको थियो । जेष्ठ सदस्य नवराज अर्यालको अध्यक्षतामा भएकाे क्याम्पस सभामा क्याम्पसका पुर्व अध्यक्षहरु डोरमणि पौडेल, माइकल रामचन्द्र अर्याल लगायत सभाका सभासदहरुको उपस्थिती रहेको थियो ।
