मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसको क्याम्पस सभा भएको छ । हेटाैडा उपमहानगरपालिका २ नम्बर वडामा रहेकाे क्याम्पसकाे शनिबार १६ औं क्याम्पस सभा भएकाे हाे ।
मकवानपुरकाे पुरानाे शैक्षिक संस्था मकवानपुर क्याम्पसकाे संचालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलले क्याम्पसको पृष्ठभूमि र अहिलेको अवस्थाबारे जानकारी गराएका थिए । सभामा पाैडेलले क्याम्पसको शैक्षिक अवस्था, भौतिक अवस्था, आर्थिक तथा प्रशासनिक अवस्था लगायतको प्रगति प्रतिवेन प्रस्तुत गरेका थिए । क्याम्पसका सवल र दुर्वल पक्षहरु पेश गरेका उनले क्याम्पसलाई थप सुधारका लागि शैक्षिक कार्य योजनाहरु, दीर्घकालीन कार्ययोजना, प्रशासनिक सुधार कार्य योजनाहरु, छात्रवृति कोष, मानव संसाधनको विकासका विषयको प्रतिवेदन पेश गरेका थिए ।
सभामा कोषाध्यक्ष हिरालाल श्रेष्ठले क्याम्पसका आर्थिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कोरोनाका कारण पठन पाठन र भर्ना संस्थाका केहि समस्या उत्पन्न भएता पनि क्रमिक रुपमा सहज हुदैं गएको बताए । सभामा श्रेष्ठले क्याम्पसले गत आर्थिक वर्ष २०७८।७९ मा २० करोड ४० लाख ४८ हजार ६ सय ७९ को कारोबार गरेको जानकारी दिए । उनले चालु आर्थिक वर्ष २०७९।८० मा २४ करोड ११ लाख ९० हजार १ सय ७० रुपैयाकाे आयव्यव अनुमानित बजेट प्रस्तुत गरेका थिए । सभामा क्याम्पस सेवा समितिका अध्यक्ष बद्रीप्रसाद लम्सालले सेवा समितिले गरेका वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।
सभामा विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो भने क्याम्पस प्राध्यापक लोकराज शर्माले पिएचडी गरिएकाले सम्मान समेत गरिएको थियो । जेष्ठ सदस्य नवराज अर्यालको अध्यक्षतामा भएकाे क्याम्पस सभामा क्याम्पसका पुर्व अध्यक्षहरु डोरमणि पौडेल, माइकल रामचन्द्र अर्याल लगायत सभाका सभासदहरुको उपस्थिती रहेको थियो ।

