मकवानपुर । सर्वोच्च अदालतको अदालत व्यवस्थापन समितिको २०७६ फागुन २२ गतेको निर्णय अनुसार नयाँ भवन निर्माणको लागि नक्सा स्वीकृत भइ कवीन्द्र नवसिर्जन सेलेट जेबि कम्पनी काठमाडौँले निर्माण गर्ने सम्झौता २०७७ माघ २१ गते भएको थियो ।
२०७७ चैत १५ गते भवनको शिलान्यास गरिएको थियो । २०८० साउन २० मा निर्माण सम्पन्न भएको थियो । भवन निर्माणपछि सुपरभिजनलगायतको कार्य सम्पन्न गरी २०८० माघ ९ गते निर्माण कम्पनीले हस्तान्तरण गरेको थियो ।
१० कठ्ठा जग्गा बनेको भवनको भुमिगत तल्लामा पार्किङको सुविधा रहेको छ, भने पहिलो तल्लामा श्रेस्तेदार कक्ष, तहसिल्दार कक्ष, मुद्दा दर्ता, प्रशासन दर्ताचलानी शाखालगायत गरी ११ कोठा रहेको छ । यसैगरी दोस्रो तल्लामा २ वटा इजलाश शाखा सहित पुस्तकालय सरकारी वकिल प्रतिक्षालयसमेत गरी १५ कोठा छन् । तेस्रो तल्लामा १६ कोठा, चौथो तल्लामा १४ कोठा, पाँचौमा १३ कोठा र छतमा एक कोठा गरी जम्मा ७१ कोठा रहेको मुख्यन्यायाधीश श्रीप्रसाद संजेल श्रीप्रसाद सञ्जेलले बताए ।
अदालतमा अपाङ्गमैत्री र्याम्प, अपाङ्गमैत्री शौचालय, सेवाग्राहीको लागि र न्यायधीश कर्मचारीको लागि २ वटा लिफ्ट, ४८ थान सिसि क्यामरा, विद्युत व्याक अपको लागि ५० केबि क्षमताको सोलार प्यान, आगो निभाउन प्रयोग हुने ग्याँस सिलिण्डर समेत छ ।
बेलपत्र लागतमा २७ करोड ८९ लाख १४ हजार रहेकोमा १८ करोड १२ लाख ३३ हजारमा कवीन्द्र नवसिर्जन सेलेट जेबि कम्पनी काठमाडौँको बोलपत्र स्वीकृत भएको थियो । भवन निर्माणको क्रममा मुल्य अभिवृद्धिलगायतको कारण निर्माण लागतमा २३ करोड ७७ लाख ४ हजार लागतमा निर्माण सम्पन्न भएको सञ्जेलले बताए ।
कुल ७ वटा इजलास कक्ष रहेको उक्त भवनमा १५० जना अट्ने क्षमताको सभाहल पनि रहेको छ । अदालतले गत माघ २८ गते आइतबारबाट नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । पुरानो भवन भत्काएपछि जिल्ला अदालत मकवानपुरले उच्च अदालत पाटन हेटौँडा इजलासको परिसरमा रहेको एकनाले भवनबाट आफ्ना सेवा दिँदै आएको थियो । साँघुरो भवन भएकाले अदालतका कर्मचारी र न्यायाधीश कोचाकोच गरी सेवा प्रवाह गरिरहेका थिए भने सेवाग्राहीले पनि समस्या भोगिरहेका थिए । जिल्ला अदालत मकवानपुर ४ जना न्यायाधीशसहित ५६ जना कर्मचारी कार्यरत छन् ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा न. ३ कि कमला माया तितुङलाई कोशिश संस्थाले घरेलु साना उद्योग संचालनका लागि सहयोग गरेको छ ।
वडा अध्यक्ष ढलक बहादुर थापा, बसामाडी स्वाथ्य चौकी स्वास्थ्य प्रमुख सुस्मा तिवारी मनोसामाजिक अपाङ्गता रहेको संजालका संयोजक धिरज लामालगायतको उपस्थितिमा तितुङ्लाई सहयोग उपलब्ध गराईएको कोशिश मकवानपुरको पैरवी अधिकृत सुनीरा लामाले बताइन् ।
तितुङलाई जिविकोपार्जन र मनोशिक्षा प्रदान गरिएको लामाले बताइन् । मनोसामाजिक स्वास्थ समस्या भएपछि लामो समय कोशिश संस्थाले परामर्शसँगै औषधि सेवनमा सहयोग गरेपछि तितुङलाई अहिले परिवारमा पर्नस्थापना गराइएको छ । हाल उनी सिलाईकटाइ सिपको राम्रो प्रयोग गर्न सक्ने भएकी छिन् । संस्थाले उनलाई सिलाई सम्बन्धी उद्यमकोलागि कपडा १ सय ३७ मिटर कपडा, धागो, मेसिनमा हाल्ने तेल, इलास्टिकलगायत २१ हजार रुपैया बराबरको सामन सहयोग गरिएको कोशिशको सामुदायिक अभियानकर्ता सकुन्तला पौडेलले बताइन् ।
मनोसामाजिक समस्या जसलाई पनि हुन सक्ने भएकोले यसलाई विकराल रुपमा लिन नहुने र उपचारमा ध्यान दिनुपर्ने स्वस्थ्य प्रमुख सुष्मा तिवारीले बताइन् । वडास्तरको स्वाथ्य चौकीमा ३ किसिमका औषधिहरु निशुल्क पाइने भएकोले कसैलाई समस्या भएमा सम्पर्क गर्नेलाई गोपनियता कायम गरि परार्मश सहित औषधि उपलब्ध गराउने उनलेे बताइन् ।
वडा अध्यक्ष ढलक्बहादुर थापाले सिपलाई प्राथमिकता दिनसक्दा धेरै प्रकारको समस्या समाधान हुने बताए । उद्यम गर्ने, व्यस्त रहने गर्नाले मानसिक स्वास्थ राम्रो हुने भएकोले सीप सिकेर दक्ष बन्न उनले आग्रह गरे । सीप सिक्न र बीउ पुजीको सहयोगको लागि वडा कार्यालय सधै तयार रहेको थापाले बताए । आगामी दिनमा मनोसामाजिक विषयलाई प्रथामिकतामा राखी कार्यक्रम तथा योजना बनाई काम गर्ने र सहकार्य, समन्वय मार्फत कोशिशसंग काम गर्न, अभिभावकत्व ग्रहण गर्न वडा तयार रहेको उनले बताए ।
मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकालाई मौरीपालन पकेट क्षेत्रकाे रुपमा विकास गरिने भएकाे छ । कृषिको विकासलाई प्राथमिकता दिँदै आएको गाउँपालिकाले मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको हाे ।
मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई पालिकाले मौरीको घार वितरण गरेर पकेट क्षेत्रकाे विकास गर्न सुरु गरेकाे हाे । बकैयाकाे वडा नम्बर ११ स्थित आहालेमा आइतबार पालिकाको वडा नम्बर १०, ११ र १२ किसानलाई १ सय ३३ वटा मौरीको घार वितरण गरेको हो । गाउँपालिकाले यसअघि वडा नम्बर ११ र १२ का किसानलाई लक्षित गरी एक हप्ते मौरीपालन सम्बन्धी तालिम दिएकाे थियाे ।
पालिकाले सेरेना जातको मौरीपालनको लागि ६ लाख ६५ हजार रुपियाँ बराबरको मौरी घार वितरण गरेको छ । मौरीकाे घार वितरण गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको कृषि ग्राम निर्माणलगायतका कृषि क्षेत्रमा बकैया गाउँपालिकाले गरेको लगानीको प्रसंशा गरे । रोजगारी देश विकासको आधार भएको बताउँदै रोजगारीका लागि उद्यमशीलता आवश्यक भएको उनले बताए ।
‘सडक, विजुली, विद्यालयको भवनमा निर्माणलगायत भौतिक पूर्वाधार विकाससँगै दैनिकी चलाउन आर्थिक श्रोत आवश्यक पर्छ’मन्त्री चित्रकारले भने ‘उद्यमशीलता र रोजगारीबाट आर्थिक उपार्जन गर्न सकिने भएकाेले त्यसकाे लागि अग्रसर रहनु पर्ने बताए । लगानी भएपछि त्यसको उपलब्धी हुने गरी विकासको कार्य गर्न आवश्यक रहेको उनले बताए । आयआर्जनका लागि उद्यमशीलता, व्यवसायीकरण पनि आवश्यक भएकोले कृषिलाई उद्योगका रुपमा विकास गर्नु अहिलेकाे आवश्यकता भएकाे उनकाे भनाई थियाे ।
यसैगरी बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछानेले कृषिमा आधुनिकीकरणसँगै व्यावसायीकरण समेत आवश्यक भएको बताउँदै कृषि उत्पादनलाई बजारसम्म पु¥याउन प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘प्रदेश सरकारले कृषि उद्यमशीलतालाई जोड दिएको छ’ लामिछानेले भने ‘स्थानीय तहलाई बजेट उपलब्ध गराउने र स्थानीय तहले पकेट क्षेत्र बनाएर उत्पादनमा जोड दिनुपर्ने हुन्छ ।’

कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लमिछानेले बकैयामा मौरीपालनको राम्रो सम्भावना रहेको अध्ययनले देखाएको बताए । उनले किसानको आयआर्जन वृद्धिमा सहयोग गर्दै आत्मनिर्भर बनाउन पालिकाले मौरी घार उपलब्ध गराएको जानकारी दिए । पालिकाका किसानले उत्पादन गर्ने कृषिजन्य उत्पादनको बजारीकरणका लागि पालिकाले सहजीकरण गर्ने उनले बताए । ‘कृषकलाई प्रोत्साहित गर्न मौरीको घार वितरण गरेका छौ’ अध्यक्ष लामिछानेले भने ‘तपाईहरु उत्पादन गर्नुहोस् म तपाईहरुले उत्पादन गरेको मह बजारीकरणको लागि व्यवसायीसँग समन्वय र सहकार्य गर्छु।’
उत्पादन भएको महका लागि बजारको समस्या नहुने उनले जानकारी दिए । किसानलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न पालिकाले विभिन्न कार्ययोजना अघि सारेको बताउँदै लामिछानेले मौरी घार वितरण गरिएको क्षेत्रमा फलफूलका बिरुवा समेत वितरण गर्ने योजना रहेको जानकारी गराए ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ र कृषि ईन्जिनियर बुद्धिनाथ तिमिल्सिनाले मौरी पालनबाट राम्रो आम्दानी लिन सकिने बताउँदै पालिकाले कृषिमा लगानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
कार्यक्रमका बकैया १० नम्बर वडा वडाध्यक्ष कमला कुमारी वाईबा, ११ नम्बर वडा अध्यक्ष गोपाल न्यासुर लामा, १२ नम्बर वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, गाउँपालिकाका कृषि अधिकृत सचित रिजाललगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे साहित्यिक संस्था झरना साहित्यिक परिवारले ९ जना स्रष्टालाई सम्मान गरेकाे छ । झरनाले ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० काे अवसरमा ती सष्ट्राहरूलाई सम्मान गरेकाे हाे ।
साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका होमनाथ–टीकामाया प्रतिभा सम्मान २०७९ बाट काठमाडौँका डा. गीता त्रिपाठीलाई सम्मानित गरिएकाे छ । त्रिपाठीलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ राशीकाे उक्त सम्मान प्रदान गरिएकाे झरनाका अध्यक्ष विश्वनाथ सन्जेलले बताए । यसैगरी,साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट खोटाङका बाबुराम पोखरेललाई सम्मानित भएका छन् । पाेखरेललाई साहित्यकाे मुक्तक विधामा योगदान पुर्याए वापत नगद १५ हजार ५ सय ५५ सहित उक्त सम्मानबाट सम्मानित गरिएकाे उनले बताए ।
मकवानपुरका साम्ब ढकाललाई बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिएकाे छ । साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका उक्त पुरस्कारबाट जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत ढकाललाई सम्मान गरिएकाे हाे । उक्त पुरस्कार राशी नगद १५ हजार ५ सय ५५ रहेकाे छ ।



त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट स्याङ्जाका मिलन समिर, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट बिमला कार्की सुसं, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेको सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट भरतप्रसाद सापकोटा र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेको खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट बासुरीवादक बिष्णु घतानीलाई सम्मान गरिएकाे झरनाका सचिव मसान उपासकले जानकारी दिए । उनीहरुलाई जनही नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिएकाे हाे ।
त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई प्रदान गरिएकाे छ । यो पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् । पत्रकारिताको माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्याएको योगदानकाे कदर गर्दै पत्रकार रामकुमार एलनलाई गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएकाे छ । उक्त सम्मानको राशी नगद ११ हजार १ सय ११ रहेको छ । उक्त पुरस्कार गौतमका माता नन्ददेवीले स्थापना गरेकी हुन् ।

झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० शुक्रबार र शनिबार दुई दिन बकैया–९, शिखरपुरमा भएकाे हाे । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैया कला–साहित्य महोत्सव भएको छ । बकैया गाउँपालिका–९, शिखरपुरस्थित कालिदेवी माविमा शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले महोत्सवको उद्घाटन गरे । झरनाका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष टंकध्वज लोप्चनकाे आतिथ्यता रहेको थियो ।
पहिलो दिन शुक्रबार गाउँपालिकाका विद्यालयका विद्यार्थीको सहभागितामा कविता प्रतियोेगिता र चित्रकला प्रतियोेगिता समेत भएको छ । विद्यार्थीले नृत्यकला समेत प्रस्तुत गरेका छन् । यस्तै कला साहित्य महोत्सवको दोस्रो दिन विविध सम्मान समर्पण, पालिका अध्यक्षलाई प्रश्न कार्यक्रमको भिडियो प्रदर्शनी, कविता वाचन कार्यक्रम, नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक वहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन/गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम भएकाे हाे ।
महोत्सव आयोजनाका लागि ४ लाख ५० हजार रुपैैयाँ सहयाेग गरेकाे बकैया गाउँपालिकाले कला सहित्य प्रतिष्ठान समेत गठन गरेको छ । २०५० साल फागुन १२ गते स्थापना भएको झरनाले विविध साहित्यिक क्रियाकलाप गर्दै आएको छ ।
मकवानपुर / खानी उत्खननपछि निस्केको डस्टले खोला भरिएर दुर्घटनाको संभावना हुंदासम्म खानी सन्चालक शिवम सिमेन्टले वास्ता नगरेपछि स्थानीयले प्रशासन गुहारेका छन् । खानी पीडितहरू खानीको ओभर बडेनको कारण ग्रामीण बस्तिमा हुनसक्ने दुर्घटना औल्याउँदै जीवन रक्षाको माग गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाको सुकौरामा शिवम् सिमेन्ट उद्योगले जंगलका सालका रुख समेत काटेर खानी क्षेत्र बिस्तार गर्दै ओभर बडेन समेत यत्रतत्र फालेको छ । खानी बिभागसँगको सम्झौता विपरित सुकौराको खोटार खानी क्षेत्रमा हरिया सालका रुख समेत एक्साभेटरले उखलेर फालेको पाईएको छ । खानी क्षेत्रको ओभरबडेन समेत त्यसै फालिएको छ ।
जंगलको पहाड जथाभावि रुपमा खन्दै तल त्यसै फाल्दा यहाँको बस्ती समेत जोखिममा परेको छ । शिवम सिमेन्ट उद्योगले तोकिएको जंगल क्षेत्रबाट मात्र उत्खनन् गर्नुपर्ने स्थानमा त्यसको पाँच गुना समेतको क्षेत्रफलमा उत्खनन् गरिरहेको स्थानीय प्रतक्षदर्शीहरु बताउँछन् । जंगलको एरिया समेत उत्खनन् गरेर त्यसै फाल्दा मकवानपुरगढीको चार वटा वडाका वासिन्दाहरु निकै समस्यामा परेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।
मकवानपुर गढी गाउँपालिकास्थित खोटार खानीमा भएको अव्यवस्थित उत्खनन् कारण उत्पन्न समस्याहरुका बारे ब्यापक जनगुनासो आएपछी शनिबार मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौलाको नेतृत्वमा खानी क्षेत्रको अनुगमन गरिएको छ ।
खानी क्षेत्रका वासिन्दाहरुलाई प्रत्यक्ष रुपमा असर पर्नेगरी भएको उत्खनन् र ओभरबडेन फालेका कारण तलको वस्ती जोखिममा परेको भन्दै सांसद बतौलाको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, स्थानीय वासिन्दाहरु सहितले खानी क्षेत्रको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा सांसद बतौलाको नेतृत्वको टोलिले पाँच वुँदे निर्देशन दिएको छ । शिवम सिमेन्ट उद्योगले खानी सन्चालन सम्बन्धी मापदण्ड र सम्पुर्ण शर्तहरू पुर्ण कार्यान्वयन गरेर मात्रै खानी सन्चालन गर्नुपर्ने, खानीबाट निस्किएको र जथाभावी रुपमा खोलामा फालिएको ओभरबडेनलाई तत्काल व्यवस्थित गर्नुपर्ने, उक्त कार्य सम्पन्न नहुँदासम्म खानी उत्खनन कार्य बन्द गर्नुपर्ने, प्रभावित क्षेत्रमा बस्ती संरक्षणलगायत सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरु गर्नुपर्ने, आगामी दिनमा गाउँपालिकाको नेतृत्वसँग परामर्श, जानकारी र समन्वय गरेर मात्रै खानी सम्बन्धी सम्पूर्ण कार्य अगाडि बढ्ने र बढाउने निर्देशन दिइएको सांसद बतौलाले बताए ।
अनुगमनमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईं, जिल्ला समन्वय समिति सभापति ललित घलान, गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो । अनुगमनको क्रममा पुगेका नेतृत्वसंग स्थानीयहरूले जीवन सुरक्षाको माग गरेको थिए ।