मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकालाई मौरीपालन पकेट क्षेत्रकाे रुपमा विकास गरिने भएकाे छ । कृषिको विकासलाई प्राथमिकता दिँदै आएको गाउँपालिकाले मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको हाे ।
मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई पालिकाले मौरीको घार वितरण गरेर पकेट क्षेत्रकाे विकास गर्न सुरु गरेकाे हाे । बकैयाकाे वडा नम्बर ११ स्थित आहालेमा आइतबार पालिकाको वडा नम्बर १०, ११ र १२ किसानलाई १ सय ३३ वटा मौरीको घार वितरण गरेको हो । गाउँपालिकाले यसअघि वडा नम्बर ११ र १२ का किसानलाई लक्षित गरी एक हप्ते मौरीपालन सम्बन्धी तालिम दिएकाे थियाे ।
पालिकाले सेरेना जातको मौरीपालनको लागि ६ लाख ६५ हजार रुपियाँ बराबरको मौरी घार वितरण गरेको छ । मौरीकाे घार वितरण गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको कृषि ग्राम निर्माणलगायतका कृषि क्षेत्रमा बकैया गाउँपालिकाले गरेको लगानीको प्रसंशा गरे । रोजगारी देश विकासको आधार भएको बताउँदै रोजगारीका लागि उद्यमशीलता आवश्यक भएको उनले बताए ।
‘सडक, विजुली, विद्यालयको भवनमा निर्माणलगायत भौतिक पूर्वाधार विकाससँगै दैनिकी चलाउन आर्थिक श्रोत आवश्यक पर्छ’मन्त्री चित्रकारले भने ‘उद्यमशीलता र रोजगारीबाट आर्थिक उपार्जन गर्न सकिने भएकाेले त्यसकाे लागि अग्रसर रहनु पर्ने बताए । लगानी भएपछि त्यसको उपलब्धी हुने गरी विकासको कार्य गर्न आवश्यक रहेको उनले बताए । आयआर्जनका लागि उद्यमशीलता, व्यवसायीकरण पनि आवश्यक भएकोले कृषिलाई उद्योगका रुपमा विकास गर्नु अहिलेकाे आवश्यकता भएकाे उनकाे भनाई थियाे ।
यसैगरी बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछानेले कृषिमा आधुनिकीकरणसँगै व्यावसायीकरण समेत आवश्यक भएको बताउँदै कृषि उत्पादनलाई बजारसम्म पु¥याउन प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘प्रदेश सरकारले कृषि उद्यमशीलतालाई जोड दिएको छ’ लामिछानेले भने ‘स्थानीय तहलाई बजेट उपलब्ध गराउने र स्थानीय तहले पकेट क्षेत्र बनाएर उत्पादनमा जोड दिनुपर्ने हुन्छ ।’

कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लमिछानेले बकैयामा मौरीपालनको राम्रो सम्भावना रहेको अध्ययनले देखाएको बताए । उनले किसानको आयआर्जन वृद्धिमा सहयोग गर्दै आत्मनिर्भर बनाउन पालिकाले मौरी घार उपलब्ध गराएको जानकारी दिए । पालिकाका किसानले उत्पादन गर्ने कृषिजन्य उत्पादनको बजारीकरणका लागि पालिकाले सहजीकरण गर्ने उनले बताए । ‘कृषकलाई प्रोत्साहित गर्न मौरीको घार वितरण गरेका छौ’ अध्यक्ष लामिछानेले भने ‘तपाईहरु उत्पादन गर्नुहोस् म तपाईहरुले उत्पादन गरेको मह बजारीकरणको लागि व्यवसायीसँग समन्वय र सहकार्य गर्छु।’
उत्पादन भएको महका लागि बजारको समस्या नहुने उनले जानकारी दिए । किसानलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न पालिकाले विभिन्न कार्ययोजना अघि सारेको बताउँदै लामिछानेले मौरी घार वितरण गरिएको क्षेत्रमा फलफूलका बिरुवा समेत वितरण गर्ने योजना रहेको जानकारी गराए ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ र कृषि ईन्जिनियर बुद्धिनाथ तिमिल्सिनाले मौरी पालनबाट राम्रो आम्दानी लिन सकिने बताउँदै पालिकाले कृषिमा लगानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
कार्यक्रमका बकैया १० नम्बर वडा वडाध्यक्ष कमला कुमारी वाईबा, ११ नम्बर वडा अध्यक्ष गोपाल न्यासुर लामा, १२ नम्बर वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, गाउँपालिकाका कृषि अधिकृत सचित रिजाललगायतकाे उपस्थिति रहेको थियो ।

