मकवानपुर / खानी उत्खननपछि निस्केको डस्टले खोला भरिएर दुर्घटनाको संभावना हुंदासम्म खानी सन्चालक शिवम सिमेन्टले वास्ता नगरेपछि स्थानीयले प्रशासन गुहारेका छन् । खानी पीडितहरू खानीको ओभर बडेनको कारण ग्रामीण बस्तिमा हुनसक्ने दुर्घटना औल्याउँदै जीवन रक्षाको माग गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाको सुकौरामा शिवम् सिमेन्ट उद्योगले जंगलका सालका रुख समेत काटेर खानी क्षेत्र बिस्तार गर्दै ओभर बडेन समेत यत्रतत्र फालेको छ । खानी बिभागसँगको सम्झौता विपरित सुकौराको खोटार खानी क्षेत्रमा हरिया सालका रुख समेत एक्साभेटरले उखलेर फालेको पाईएको छ । खानी क्षेत्रको ओभरबडेन समेत त्यसै फालिएको छ ।
जंगलको पहाड जथाभावि रुपमा खन्दै तल त्यसै फाल्दा यहाँको बस्ती समेत जोखिममा परेको छ । शिवम सिमेन्ट उद्योगले तोकिएको जंगल क्षेत्रबाट मात्र उत्खनन् गर्नुपर्ने स्थानमा त्यसको पाँच गुना समेतको क्षेत्रफलमा उत्खनन् गरिरहेको स्थानीय प्रतक्षदर्शीहरु बताउँछन् । जंगलको एरिया समेत उत्खनन् गरेर त्यसै फाल्दा मकवानपुरगढीको चार वटा वडाका वासिन्दाहरु निकै समस्यामा परेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।
मकवानपुर गढी गाउँपालिकास्थित खोटार खानीमा भएको अव्यवस्थित उत्खनन् कारण उत्पन्न समस्याहरुका बारे ब्यापक जनगुनासो आएपछी शनिबार मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौलाको नेतृत्वमा खानी क्षेत्रको अनुगमन गरिएको छ ।
खानी क्षेत्रका वासिन्दाहरुलाई प्रत्यक्ष रुपमा असर पर्नेगरी भएको उत्खनन् र ओभरबडेन फालेका कारण तलको वस्ती जोखिममा परेको भन्दै सांसद बतौलाको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, स्थानीय वासिन्दाहरु सहितले खानी क्षेत्रको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा सांसद बतौलाको नेतृत्वको टोलिले पाँच वुँदे निर्देशन दिएको छ । शिवम सिमेन्ट उद्योगले खानी सन्चालन सम्बन्धी मापदण्ड र सम्पुर्ण शर्तहरू पुर्ण कार्यान्वयन गरेर मात्रै खानी सन्चालन गर्नुपर्ने, खानीबाट निस्किएको र जथाभावी रुपमा खोलामा फालिएको ओभरबडेनलाई तत्काल व्यवस्थित गर्नुपर्ने, उक्त कार्य सम्पन्न नहुँदासम्म खानी उत्खनन कार्य बन्द गर्नुपर्ने, प्रभावित क्षेत्रमा बस्ती संरक्षणलगायत सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरु गर्नुपर्ने, आगामी दिनमा गाउँपालिकाको नेतृत्वसँग परामर्श, जानकारी र समन्वय गरेर मात्रै खानी सम्बन्धी सम्पूर्ण कार्य अगाडि बढ्ने र बढाउने निर्देशन दिइएको सांसद बतौलाले बताए ।
अनुगमनमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईं, जिल्ला समन्वय समिति सभापति ललित घलान, गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो । अनुगमनको क्रममा पुगेका नेतृत्वसंग स्थानीयहरूले जीवन सुरक्षाको माग गरेको थिए ।

