मकवानपुर । सर्वोच्च अदालतको अदालत व्यवस्थापन समितिको २०७६ फागुन २२ गतेको निर्णय अनुसार नयाँ भवन निर्माणको लागि नक्सा स्वीकृत भइ कवीन्द्र नवसिर्जन सेलेट जेबि कम्पनी काठमाडौँले निर्माण गर्ने सम्झौता २०७७ माघ २१ गते भएको थियो ।
२०७७ चैत १५ गते भवनको शिलान्यास गरिएको थियो । २०८० साउन २० मा निर्माण सम्पन्न भएको थियो । भवन निर्माणपछि सुपरभिजनलगायतको कार्य सम्पन्न गरी २०८० माघ ९ गते निर्माण कम्पनीले हस्तान्तरण गरेको थियो ।
१० कठ्ठा जग्गा बनेको भवनको भुमिगत तल्लामा पार्किङको सुविधा रहेको छ, भने पहिलो तल्लामा श्रेस्तेदार कक्ष, तहसिल्दार कक्ष, मुद्दा दर्ता, प्रशासन दर्ताचलानी शाखालगायत गरी ११ कोठा रहेको छ । यसैगरी दोस्रो तल्लामा २ वटा इजलाश शाखा सहित पुस्तकालय सरकारी वकिल प्रतिक्षालयसमेत गरी १५ कोठा छन् । तेस्रो तल्लामा १६ कोठा, चौथो तल्लामा १४ कोठा, पाँचौमा १३ कोठा र छतमा एक कोठा गरी जम्मा ७१ कोठा रहेको मुख्यन्यायाधीश श्रीप्रसाद संजेल श्रीप्रसाद सञ्जेलले बताए ।
अदालतमा अपाङ्गमैत्री र्याम्प, अपाङ्गमैत्री शौचालय, सेवाग्राहीको लागि र न्यायधीश कर्मचारीको लागि २ वटा लिफ्ट, ४८ थान सिसि क्यामरा, विद्युत व्याक अपको लागि ५० केबि क्षमताको सोलार प्यान, आगो निभाउन प्रयोग हुने ग्याँस सिलिण्डर समेत छ ।
बेलपत्र लागतमा २७ करोड ८९ लाख १४ हजार रहेकोमा १८ करोड १२ लाख ३३ हजारमा कवीन्द्र नवसिर्जन सेलेट जेबि कम्पनी काठमाडौँको बोलपत्र स्वीकृत भएको थियो । भवन निर्माणको क्रममा मुल्य अभिवृद्धिलगायतको कारण निर्माण लागतमा २३ करोड ७७ लाख ४ हजार लागतमा निर्माण सम्पन्न भएको सञ्जेलले बताए ।
कुल ७ वटा इजलास कक्ष रहेको उक्त भवनमा १५० जना अट्ने क्षमताको सभाहल पनि रहेको छ । अदालतले गत माघ २८ गते आइतबारबाट नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । पुरानो भवन भत्काएपछि जिल्ला अदालत मकवानपुरले उच्च अदालत पाटन हेटौँडा इजलासको परिसरमा रहेको एकनाले भवनबाट आफ्ना सेवा दिँदै आएको थियो । साँघुरो भवन भएकाले अदालतका कर्मचारी र न्यायाधीश कोचाकोच गरी सेवा प्रवाह गरिरहेका थिए भने सेवाग्राहीले पनि समस्या भोगिरहेका थिए । जिल्ला अदालत मकवानपुर ४ जना न्यायाधीशसहित ५६ जना कर्मचारी कार्यरत छन् ।

