भीम विराग कला प्रतिष्ठानले ११ जना स्रष्ट्रालाई पुरस्कृत गर्ने
Tags: No Comments
मकवानपुर । भीम विराग सङगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले ११ जना स्रष्ट्रालाई पुरस्कृत गर्ने भएकाे छ । प्रतिष्ठानले बैशाख २२ गते शनिबार हेटौडामा सांगितिक तथा साहित्यिक कार्यक्रम गर्दै एउटै मन्चबाट ११ जनालाई पुरस्कृत गर्ने भएको हाे ।
मंगलबार प्रतिष्ठानले पत्रकार भेटघाट गर्दै पुरस्कारकाे जानकारी गराएकाे हाे । भीम विराग सक्रिय रहेका साहित्य, सङ्गीत, कला र पत्रकारिता चारवटा क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको सहयाेगमा ४ वटा पुरस्कारकाे स्थापना भएकाे प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाकाे आर्थिक सहयाेगमा स्थापना गरिएकाे भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८० कुन्ता शर्मा (सुनसरी) लाई, भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार, २०८० लाल श्रेष्ठ (मकवानपुर) लाई, भीम विराग राष्ट्रिय कला पुरस्कार, २०८० बी.एस. राना (मकवानपुर) र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८० जयदेव भट्टराई (ललितपुर) लाई प्रदान गरिने छ । उक्त ४ वटै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।
प्रतिष्ठानले विगत वर्षहरूदेखि नै भाषा, कला, सङ्गीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई निरन्तर समर्पण गर्दै आइरहेका अन्य पुरस्कार ७ पुरस्कार समेत शनिबार नै प्रदान गरिनेछ । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार, २०८० मञ्जु खराल, (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैया रहेकाे छ । यसैगरी भीम – मथुरा बाल प्रतिभा पुरस्कार, २०८० ईशान्तकुमार मिश्र (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । पुरस्कार संस्थापन विन्दुगोपाल गोर्खाली रहेकाे उक्त पुरस्कारकाे राशी ७ हजार ५ सय रहेकाे छ ।
यस्तै शिला नारी पुरस्कार, २०८० निरु मगर (मकवानपुर) लाई प्रदान गरिने छ । पुरस्कारकाे राशी १५ हजार रहेकाे उक्त पुरस्कारका संस्थापक आशीष श्रेष्ठ रहेकाे छन् । रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, २०८० (साविक विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार) पम्फा थापा मगर (मकवानपुर) लाई प्रदान गरिने जानकारी दिइएकाे छ । संस्थापक चुन बानियाँ रहेकाे उक्त पुरस्कार राशी २० हजार रहेकाे छ । यसैगरी चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८० आर.आर. चौलागाईं (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । पुरस्कार संस्थापक रामबहादुर पाख्रिन रहेका छन् । उक्त पुरस्कारकाे राशी १५ हजार रहेकाे छ ।
यसैगरी १० हजार राशी रहेकाे मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८० सिमा मिश्र (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । उक्त पुरस्कारकाे संस्थापक देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठ हुन् । यस्तै १० हजार राशी रहेकाे अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार, २०८० अन्जु धिताल (बारा) लाई प्रादन गरिने भएकाे छ । उक्त पुरस्कारका संस्थापक रोशन सेन गुप्ता रहेका छन् ।
वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा २०५९ साल भाद्र ७ गते स्थापना भएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल’ नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रमा क्रियाशील संस्था रहेकाे महासचिव छवि अनित्य बताए । देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै उनले बताए । संस्थाले मकवानपुरबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको उनले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा प्रथम नागस्वती स्थानीय कृषि उत्पादन तथा संस्कृति प्रर्वद्धन मेला हुने भएको छ । हेटौडा ७ काे नागस्वती युथ क्लबको आयोजनामा हुने मेला वैशाख १९ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
साेमबार हेटौडामा पत्रकार भेटघाट गर्दै सम्मेलनकाे जानकारी नागस्वती युथ क्लवका अध्यक्ष अमर गुरुङले दिए । स्थानीय संस्कृति प्रवर्द्धन तथा कृषि प्रदर्शनी गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । ‘मेलामा मकवानपुर जिल्लामा उत्पादन भएका विभिन्न कृषि प्रदर्शनीहरू राखिने छ गुरुङ्गले भने ‘स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्नका लागि विशेष कार्यक्रम समेत मेलामा समावेश गरिने छ ।’
यसैगरी, मेलामा स्थानीय संस्कृतिसँग सम्बन्धित विभिन्न कला, सङ्गीत तथा नाच प्रस्तुतिहरू हुने छन्। राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकार धुर्मुस सुन्तली, प्रताप दास, पृति आले, शान्ति श्री परियार, प्रमोद खरेल लगायतको प्रस्तुति रहने आयोजकले जनाएकाे छ । मेलामा बाल उद्यानसहित खाना तथा खाजाका स्टल रहने र मेला अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तति हुने अध्यक्ष गुरुङले बताए ।
मेलामा व्यापारीक स्टलहरु ५० वटा र अन्य स्टल १५ वटा रहने छन् । सुरुवातकाे २ दिन निशुल्क प्रवेशकाे व्यवस्था मिलाइएकाे मेलामा २१ गतेबाट टिकटकाे व्यवस्था गरिएकाे उनले जानकारी दिए । स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिई प्रदर्शनीमा राखिने मेला अवधीमा ५० लाख रुपैंया खर्च हुने तथा मेला अवधिभर १ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेकाे छ ।
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले २ जना स्रष्टालाई सम्मान गर्ने भएकाे छ । सिस्नुपानी नेपालकाे स्थापना दिवसको अवसरमा बैशाख १९ गते विविध कार्यक्रमसहित स्रष्टा सम्मान गर्ने भएको हाे ।
सिस्नुपानी नेपाल मकवानपुरले डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट दाङका उत्तमकृष्ण मजगैयाँलाई सम्मान गर्ने सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने जानकारी दिए । यसैगरी आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८० बाट मोरङका अनिल पौडेललाई सम्मान गरिने उनले जानकारी दिए ।
स्थापना दिवसकाेअवसरमा हास्यव्यङ्ग्य रचना वाचन कार्यक्रम समेत गरिने बताइएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले बागमती गाउँपालिकाबाट सालको चिरान काठ बरामद गरेको छ । प्रहरीले बागमती वडा नं.२ भुर्कुसबाट २१७.४२ क्यूफिट चिरान सालको काठ बरामद गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार मध्यराति भुर्कुस टोलबाट बा.५ ख ५४०० नम्बरको टिपरमा लोड गर्दै गरेको अवस्थामा १८७ पिस अर्थात २१७.४२ क्यूफिट चिरान सालको काठ बरामद गरिएकाे हो । उक्त परिमाणकाे काठसहित ट्रिपर र चालक मकवानपुरगढी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २५ को आईत सिङ मोक्तानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चालक माेक्तान तथा उक्त टिपरलाई काठसहित अनुसन्धान तथा कारवाहीको लागि आइतबार डिभिजन वन कार्यालय मकवानपुरलाई बुझाएको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नेवारी कला र भाषा संरक्षण र प्रबर्द्धनका लागि निरन्तर लागिरहेको बताएका छन् ।शनिवार नेवा गुंठी खल मकवानपुरको तेश्रो साधरण सभामा बाेल्दै उनले यस्तो बताएका हुन् ।
नेवारी समुदायले राजनीतिकदेखि राष्ट्र निर्माण गर्ने कार्यमा समेत उल्लेख योगदान दिएकाे मन्त्री श्रेष्ठले बताए । ‘हिजोको दिनमा उपत्यकामा मात्र नेवार समुदायको बाहुल्यता थियो र त्यहिबाट कलाको संरक्षण प्रबर्द्धन भईरहेको थियो’ उनले भने आज नेपालको धेरै भु-भाग र शहरहरुमा पनि विभिन्न माध्यमबाट फैलिएर आफ्नो संस्कृति, भाषा र कलाको जर्गेना गरि महत्वपूर्ण योगदान खेलेकोमा सम्पूर्ण नेवार समुदाय धन्यवादको पात्र रहेकोका छन् ।’
संस्कृति जोगाउन मात्र नभइ व्यापार व्यवसाय, उद्योगधन्दासमेत गरि रोजगारी सिर्जना गर्दै राष्ट्रको पुजी निर्माणमा नेवार समुदायको महत्त्वपूर्ण भूमिका रहेको उनकाे भनाई थियो । हरेक आन्दोलन र परिवर्तनमा समेत नेवारी समुदायको महत्वपूर्ण उपस्थित रहेको भन्दै उनले नेपालको परिवर्तनमा नेवार समुदायको थुप्रै अग्रज नेताहरुको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
नेवार समुदायको योगदानका कारण बागमती प्रदेशले नेवारी भाषा भाषालाई कामकाजको भाषाको रुपमा स्थापित गरेकाे उनले बताए । नेवार समुदायले संस्कृती जगेर्नाकाे नाममा भोज भतेर मात्र नगरी फरक ढंगबाट हेटौंडा बजारमा जन्मेदेखि मर्ने बेलासम्मको विधि र संस्कृतीलाई पुस्तान्तरण गर्न जरुरी रहेको उनकाे भनाइ थियो ।
नेवा गुठी खल मकवानपुरका अध्यक्ष अनिल कृष्ण खड्गेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाइ मन्त्री एकालाल श्रेष्ठ,बागमती प्रदेश सभा सदस्य लक्ष्मीदेवि श्रेष्ठ, नेवा देय दवु, बागमती प्रदेश अध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट संचालक पुरणबहादुर जोशी लगायतको उपस्थिति रहेको थियो।