मकवानपुर । भीम विराग सङगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले ११ जना स्रष्ट्रालाई पुरस्कृत गर्ने भएकाे छ । प्रतिष्ठानले बैशाख २२ गते शनिबार हेटौडामा सांगितिक तथा साहित्यिक कार्यक्रम गर्दै एउटै मन्चबाट ११ जनालाई पुरस्कृत गर्ने भएको हाे ।
मंगलबार प्रतिष्ठानले पत्रकार भेटघाट गर्दै पुरस्कारकाे जानकारी गराएकाे हाे । भीम विराग सक्रिय रहेका साहित्य, सङ्गीत, कला र पत्रकारिता चारवटा क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको सहयाेगमा ४ वटा पुरस्कारकाे स्थापना भएकाे प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाकाे आर्थिक सहयाेगमा स्थापना गरिएकाे भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८० कुन्ता शर्मा (सुनसरी) लाई, भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार, २०८० लाल श्रेष्ठ (मकवानपुर) लाई, भीम विराग राष्ट्रिय कला पुरस्कार, २०८० बी.एस. राना (मकवानपुर) र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८० जयदेव भट्टराई (ललितपुर) लाई प्रदान गरिने छ । उक्त ४ वटै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।
प्रतिष्ठानले विगत वर्षहरूदेखि नै भाषा, कला, सङ्गीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई निरन्तर समर्पण गर्दै आइरहेका अन्य पुरस्कार ७ पुरस्कार समेत शनिबार नै प्रदान गरिनेछ । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार, २०८० मञ्जु खराल, (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैया रहेकाे छ । यसैगरी भीम – मथुरा बाल प्रतिभा पुरस्कार, २०८० ईशान्तकुमार मिश्र (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । पुरस्कार संस्थापन विन्दुगोपाल गोर्खाली रहेकाे उक्त पुरस्कारकाे राशी ७ हजार ५ सय रहेकाे छ ।
यस्तै शिला नारी पुरस्कार, २०८० निरु मगर (मकवानपुर) लाई प्रदान गरिने छ । पुरस्कारकाे राशी १५ हजार रहेकाे उक्त पुरस्कारका संस्थापक आशीष श्रेष्ठ रहेकाे छन् । रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, २०८० (साविक विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार) पम्फा थापा मगर (मकवानपुर) लाई प्रदान गरिने जानकारी दिइएकाे छ । संस्थापक चुन बानियाँ रहेकाे उक्त पुरस्कार राशी २० हजार रहेकाे छ । यसैगरी चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८० आर.आर. चौलागाईं (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । पुरस्कार संस्थापक रामबहादुर पाख्रिन रहेका छन् । उक्त पुरस्कारकाे राशी १५ हजार रहेकाे छ ।
यसैगरी १० हजार राशी रहेकाे मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८० सिमा मिश्र (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । उक्त पुरस्कारकाे संस्थापक देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठ हुन् । यस्तै १० हजार राशी रहेकाे अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार, २०८० अन्जु धिताल (बारा) लाई प्रादन गरिने भएकाे छ । उक्त पुरस्कारका संस्थापक रोशन सेन गुप्ता रहेका छन् ।
वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा २०५९ साल भाद्र ७ गते स्थापना भएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल’ नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रमा क्रियाशील संस्था रहेकाे महासचिव छवि अनित्य बताए । देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै उनले बताए । संस्थाले मकवानपुरबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको उनले जानकारी दिए ।

