मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा प्रथम नागस्वती स्थानीय कृषि उत्पादन तथा संस्कृति प्रर्वद्धन मेला हुने भएको छ । हेटौडा ७ काे नागस्वती युथ क्लबको आयोजनामा हुने मेला वैशाख १९ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
साेमबार हेटौडामा पत्रकार भेटघाट गर्दै सम्मेलनकाे जानकारी नागस्वती युथ क्लवका अध्यक्ष अमर गुरुङले दिए । स्थानीय संस्कृति प्रवर्द्धन तथा कृषि प्रदर्शनी गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । ‘मेलामा मकवानपुर जिल्लामा उत्पादन भएका विभिन्न कृषि प्रदर्शनीहरू राखिने छ गुरुङ्गले भने ‘स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्नका लागि विशेष कार्यक्रम समेत मेलामा समावेश गरिने छ ।’
यसैगरी, मेलामा स्थानीय संस्कृतिसँग सम्बन्धित विभिन्न कला, सङ्गीत तथा नाच प्रस्तुतिहरू हुने छन्। राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकार धुर्मुस सुन्तली, प्रताप दास, पृति आले, शान्ति श्री परियार, प्रमोद खरेल लगायतको प्रस्तुति रहने आयोजकले जनाएकाे छ । मेलामा बाल उद्यानसहित खाना तथा खाजाका स्टल रहने र मेला अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तति हुने अध्यक्ष गुरुङले बताए ।
मेलामा व्यापारीक स्टलहरु ५० वटा र अन्य स्टल १५ वटा रहने छन् । सुरुवातकाे २ दिन निशुल्क प्रवेशकाे व्यवस्था मिलाइएकाे मेलामा २१ गतेबाट टिकटकाे व्यवस्था गरिएकाे उनले जानकारी दिए । स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिई प्रदर्शनीमा राखिने मेला अवधीमा ५० लाख रुपैंया खर्च हुने तथा मेला अवधिभर १ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेकाे छ ।

