मकवानपुर । बागमती प्रदेशसभाले सर्वदलीय बैठक आह्वान गरेकाे छ । प्रदेशसभा सभामुख भुवन कुमार पाठकले बैशाख २१ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बागमती प्रदेश सरकारले प्रदेश सभाकाे तेह्रौ (हिउँदे) अधिवेशन बैशाख १२ गतेबाट अन्त्य गरेकाे थियाे । वर्षे (बजेट) अधिवेशन सञ्चालनका लागि सर्वदलीय बैठक २१ गते शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएकाे छ ।
बैठकमा संसदीय समितिको सभापतिको निर्वाचन, बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने बताइएकाे छ । प्रदेशसभा गठन भएकाे डेढ वर्ष हुदाँसम्म संसदीय समितिकाे सभापति चयन हुन सकेकाे छैन । ५ वटा संसदीय समिति रहेकाे प्रदेशसभा समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक संचालन हुँदै आएकाे छ । सभापति विहिन संसदीय समितिले प्रभावकारी भूमिका निर्वाह गर्न सकेकाे छैन ।

