मकवानपुर । मकवानपुर प्रहरीले अमेरिकन डलर देखाएर नेपाली रुपैँया ठगी गर्ने १ जना र भारतमा काम लगाइने दिने भन्दै ठगी गरेकाे आरोपमा १ जना गरी २ जनालाई पक्राउ गरेको छ ।
अमेरिकन डलर देखाएर नेपाली रुपैँया ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ बस्ने ३५ वर्षीय डिल बहादुर भण्डारी र भारतमा काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा बझाङको छबिसपाथीभेरा गाउँपालिका-४ का सन्तोष थापालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार मंगलबार रौतहट गुजरा नगरपालिका–२ घर भई हाल भरतपुर महानगरपालिका–१० नारायणघाट बस्ने बर्ष ३८ को खेमराज पौडेललाई भण्डारीले आफूसित भएकाे ४१ हजार ५० रुपैयामा साट्नु पर्यो भन्दै हेटौंडा उपमहानगरपालिका–१२ आल्दमारस्थित भाईरल पुलमा बोलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले भण्डारीलाई रितपुर्वक खानतलासी गर्दा उनको साथबाट अमेरिकन डलर ५० को ९ थान, नेपाली २० को ५८० थान, मोबाईल ४ थान, बागमती प्रदेश ०२–०४९ प ३१२५ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त डलर, नेपाली रुपैया, मोटरसाइकल सहित भण्डारीलाई नियन्त्रणमा लिएर ठगि उद्योग कसुरमा मकवानपुर जिल्ला अदालतबाट ५दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी भारतमा काम लगाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सन्तोष थापालाई पक्राउ गरेकाे छ । थापालाई विभिन्न मितिमा भारतमा राम्रो आम्दानी हुने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
२५ वर्षीय थापा भारतमा राम्रो आम्दानी हुने काम लगाइदिन्छु भन्दै मकवानपुरको बकैया गाउँपालिका-५ का वर्ष २६ का सुरेश थिङसँग २ लाख ४ हजार २८९ र चितवनको राप्ती नगरपालिका-४ भण्डाराका वर्ष २९ का रोशन घिमिरेसँग ९२ हजार गरी ३ लाख ९६ हजार २८९ रुपियाँ लिई भारतको मुजफ्फरपुरमा लगेर भने बमोजिमको काममा नलगाई भागेका थिए।
सन्तोषलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । उनलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

