मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१८ मा घरमा चोरी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१८ बस्ने नविन खतिवडा रहेकाे प्रहरीले जनाएकाे छ ।
आइतबार दिउँसो हेटौडा १८ रामधुनीमा गोपि थापाको घरको झ्याल फुटाएर कोठाभित्र रहेको दराजबाट नगद ३ लाख, सुन १ तोला,मोबाईल १ थान, हाते घडी थान २ चोरी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाकारी दिएकाे छ । प्रहरी चौकी ठुलोदमारमा घरमा चाेरी भएकाे भन्दै लिखित निबेदन दिएपछि प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्दा हेटौंडा–१७ हटिया चोकबाट खतिवडालाई पक्राउ गरिएकाे हाे ।
प्रहरीका अनुसार खतिवडाकाे साथबाट नगद १६ हजार ८०० रुपैया, घडि १ थान, मोबाईल २ थान र लागुऔषध ४५ ट्याब्लेट बरामद गरिएकाे थियो । यसैगरी खतिवडाको घर खानतलासी गर्दा थप ६४ हजार ८६४ रुपैया, धातुको औठी १ थान, धातुको टिका १ थान, धातुको औठी १ थान र विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा आबश्यक कार्बाही जिल्ला प्रहरी कार्यालय मकवापनुरबाट भइरहेको प्रदेश प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मनहरी गाउँपालिका वडा नं ८ का चन्द्र बहादुर बोटे एक साताकाे उपचारपछि घर फर्केका छन् । गत विहिबार सडकमा पैदल यात्रा गरिरहेका बोटेलाई मोटरसाइकलले ठक्कर दिएकाे थियाे । ठक्कर दिएकाे माेटरसाइकल फरार भयाे ।
उनलाई तत्काल एम्बुलेन्समा राखेर गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिले अस्पताल पठाए । उनको निधार र ढाडमा गम्भीर चोट लागेका कारण आकस्मिक सेवाका लागि भरतपुरको एभरेस्ट अस्पताल पुर्याइयाे ।
टाउकोको शल्यक्रिया र अन्य उपचार गर्दा करीब १ लाख ३३ हजारको रसिद अस्पतालले थमायाे । बोटे आर्थिक रुपले विपन्न छन् । राज्यले दिने सामाजिक सुरक्षा भक्ताबाट गुजारा टार्दै आएका उनीहरुको थप आर्थिक जाेहाे राप्ती खोलामा माछा मार्दै विक्री गर्छन् । घरको मुख्य जिम्मेवार व्यक्ति नै घाइते भएर अस्पतालमा लडिरहँदा घरमा छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको त्यो रसिदले बाेटे परिवारलाई समस्यामा पार्याे । आम्दानी स्राेत नै नभएपछी कसले ऋण पत्याउने ?
अस्पतालले बिन भुक्तानी नगरी डिस्चार्ज गर्न नमानेपछी मनहरी गाउँपालिका अध्यक्ष कालाखेतिले उनको उपचारमा लागेको खर्च व्यहोरेर उनलाई घरसम्म पुर्याइदिए । अध्यक्ष कालाखेतिले निर्वाचित भएदेखि नै आफुले पाउने सेवा सुविधा बापतको रकम कोष बनाएर बचत गर्दै आएका छन् । उनले मासिक रुपमा प्राप्त गर्ने रकम र अन्य स-साना बैठकबाट प्राप्त हुने भत्तालाई सोही कोषमा जम्मा गरि आवश्यक अनुसार विपन्न नागरिकको सेवा गर्दै आएकाे उनले बताए ।
उनले सोही कोषबाट ७० हजार र गाउँपालिकाबाट ५० हजार थप गरेर अस्पतालको रकम चुक्ता गरीदिएकाे बताए । उनले अस्पताल प्रशासनलाई पनि बाेटे समुदायकाे अवस्थाबारे जानकारी गराएपछि १० प्रतिशत छुट प्राप्त भएकाे थियाे ।
‘जनप्रतिनिधि भएकाे हिसाबले म उहाँहरुकाे अभिभावक हुँ याे मेराे जिम्मेवारी मैले पुरा गरे’ कालाखेतीले भने ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा कार भीरबाट खसेर दुर्घटना हुँदा घाइते भएका २ जनाकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार घटनामा घाइते भएका रौतहट मौलापुर नगरपालिका ६ बस्ने १७ वर्षीय विबेक शाह, मकवानपुर भिमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेम बहादुर ब्लोनकाे मृत्यु भएकाे हाे । उनीहरुकाे हेटाैंडा स्थित सहकारी अस्पतालमा ज्यान गएकाे हाे ।
उक्त दुर्घटनामा ३ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका कार चालक बारा निजगढ नगरपालिका ६ बस्ने ३० वर्षीय सन्दिप शाहकाे हेटाैंडाकाे सहकारी अस्पतालमा उपचार भइरहेकाे र अवस्था गम्भिर रहेकाे बताइएकाे छ ।
ललितपुरबाट हेटौंडा आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार शनिबार बिहान सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियाे ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा कार भीरबाट खसेर दुर्घटना भएको छ । उक्त दुर्घटनामा ३ जना घाइते भएका छन् ।
ललितपुरबाट हेटौंडा आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार शनिबार बिहान सडकबाट अन्दाजी ५०० मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए । दुर्घटनामा बारा निजगढ नगरपालिका ६ बस्ने ३० वर्षीय सन्दिप शाह, रौतहट मौलापुर नगरपालिका ६ बस्ने १७ वर्षीय विबेक शाह, मकवानपुर भिमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेम बहादुर ब्लोन रहेको उनले जानकारी दिए ।
घाइते तीनै जनालाई प्रहरी चौकी ठिंगनको टोलीसमेतले अचेत अबस्थामा उद्धार गरी हेटौंडा ल्याउदै गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका १ मा रहेकाे अमर माध्यामिक विद्यालयले क्याप्टेन, भाइस क्याप्टेन तथा कक्षा मनिटरहरुको निर्वाचन गराएर चुनावी प्रकृयाबारे विद्यार्थीलाई प्रयाेगात्मक रुपमा बुझाएकाे छ ।
शुक्रबार विद्यालयमा भएकाे निर्वाचनबाट ४९ मत प्राप्त गरी कक्षा ९ मा अध्ययनरत छात्रा विमला दाहाल विद्यालय क्याप्टेनमा चुनिएकी छिन् । यसैगरी विद्यालयको भाइस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत छात्रा नम्रता पराजुली निर्वाचित भएकी छिन् ।
मतदानमा दाहाल ४९ मत प्राप्त गरी क्याप्टेनमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सक्षम गिरीले ४७ मत प्राप्त प्राप्त गरेको बिद्यालय प्रध्यनाध्यापक मालती उप्रेतीले बताइन् । यस्तै भाइस क्याप्टेनमा पराजुली ८३ मत प्राप्त गरी विजयी हुँदा उनकाे निकटतम् प्रतिस्पर्धी युरोज थिङले ८२ मत प्राप्त गरे ।
बिद्यालय सहायक प्रअ तथा अतिरिक्त क्रियाकलाप संयोजक डीबी बर्तौलाका अनुसार क्याप्टेनकाे प्रतिस्पर्धामा ६ जना र भाइस क्याप्टेनकाे प्रतिस्पर्धामा ४ जना रहेका थिए । यसैगरी विद्यालयकाे कक्षा ४ देखि कक्षा १० सम्म एक छात्रा र एक छात्र गरी दुई जना मनिटरका लागि समेत निर्वाचन गरिएकाे थियाे । कक्षागत मनिटरहरुमा कक्षा ४ मा सुनिदा बानियाँ, २६ मत र अर्पण थिङ मत प्राप्त गरी विजयी भएका छन् भने कक्षा ५ मा खुसी आले १४ मत र राज गाेले १५ मत प्राप्त गरी कक्षागत मनिटरमा विजयी भएका छन् । यस्तै कक्षा ६ काे मनिटरमा रिचा आले २४ मत र शनि वाइबा २१ मत प्राप्त गरी चयन भएकाे उनले बताए ।
कक्षा ७ मा जितु शाह २० मत र स्वस्तिका गोले १८ मत प्राप्त गरी कक्षा मनिटरमा विजयी हुँदा विपिसा बिक २४ मत र रञ्जिता गजुरेल २६ मतका साथ कक्षा ८ काे मनिटरमा चुनिएका छन् । यस्तै कक्षा ९ काे मनिटरमा निशा लामा १५ मत र विनायक अर्याल २९ मतका साथ मनिटर चुनिदा कक्षा १० ‘ए’ काे मनिटरमा स्नेहा शाह ४ मत र ईशा जिम्मा १३ मत (गोलाप्रथाबाट विजयी) का साथ चुनिए । विद्यालयकाे कक्षा १०’बी’ काे मनिटरमा सबिना थिङ २१ मत र नारायण अधिकरी १३ मत प्राप्त गरी विजयी भएकाे बर्तौलाले जानकारी दिए ।
क्याप्टेन भाइस क्याप्टेन र मनिटरकाे लागि जेठ १ गते ११ बजे उम्मेदवारी दर्ता र २ बजे उम्मेदवारी फिर्ताकाे कार्यक्रम भएकाे थियाे भने जेठ २ गते चुनाव चिह्न प्रदान गर्दै मतदान शिक्षासमेत दिइएकाे उनले बताए । त्यस्तै जेठ २ र ३ गते उम्मेदवारले प्रचारप्रसार गरेका थिए ।जेठ ३ गते २ बजेदेखि जेठ ४ गते ११ बजेसम्म मौन अवधिसमेत ताेकिएकाे उनले जानकारी दिए । सवै पदमा गरी ४६ जनाको उम्मेदवारी कायम भएकाे थियाे । मतगणना जेठ ४ गते भएकाे हाे ।