मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका १ मा रहेकाे अमर माध्यामिक विद्यालयले क्याप्टेन, भाइस क्याप्टेन तथा कक्षा मनिटरहरुको निर्वाचन गराएर चुनावी प्रकृयाबारे विद्यार्थीलाई प्रयाेगात्मक रुपमा बुझाएकाे छ ।
शुक्रबार विद्यालयमा भएकाे निर्वाचनबाट ४९ मत प्राप्त गरी कक्षा ९ मा अध्ययनरत छात्रा विमला दाहाल विद्यालय क्याप्टेनमा चुनिएकी छिन् । यसैगरी विद्यालयको भाइस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत छात्रा नम्रता पराजुली निर्वाचित भएकी छिन् ।
मतदानमा दाहाल ४९ मत प्राप्त गरी क्याप्टेनमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सक्षम गिरीले ४७ मत प्राप्त प्राप्त गरेको बिद्यालय प्रध्यनाध्यापक मालती उप्रेतीले बताइन् । यस्तै भाइस क्याप्टेनमा पराजुली ८३ मत प्राप्त गरी विजयी हुँदा उनकाे निकटतम् प्रतिस्पर्धी युरोज थिङले ८२ मत प्राप्त गरे ।
बिद्यालय सहायक प्रअ तथा अतिरिक्त क्रियाकलाप संयोजक डीबी बर्तौलाका अनुसार क्याप्टेनकाे प्रतिस्पर्धामा ६ जना र भाइस क्याप्टेनकाे प्रतिस्पर्धामा ४ जना रहेका थिए । यसैगरी विद्यालयकाे कक्षा ४ देखि कक्षा १० सम्म एक छात्रा र एक छात्र गरी दुई जना मनिटरका लागि समेत निर्वाचन गरिएकाे थियाे । कक्षागत मनिटरहरुमा कक्षा ४ मा सुनिदा बानियाँ, २६ मत र अर्पण थिङ मत प्राप्त गरी विजयी भएका छन् भने कक्षा ५ मा खुसी आले १४ मत र राज गाेले १५ मत प्राप्त गरी कक्षागत मनिटरमा विजयी भएका छन् । यस्तै कक्षा ६ काे मनिटरमा रिचा आले २४ मत र शनि वाइबा २१ मत प्राप्त गरी चयन भएकाे उनले बताए ।
कक्षा ७ मा जितु शाह २० मत र स्वस्तिका गोले १८ मत प्राप्त गरी कक्षा मनिटरमा विजयी हुँदा विपिसा बिक २४ मत र रञ्जिता गजुरेल २६ मतका साथ कक्षा ८ काे मनिटरमा चुनिएका छन् । यस्तै कक्षा ९ काे मनिटरमा निशा लामा १५ मत र विनायक अर्याल २९ मतका साथ मनिटर चुनिदा कक्षा १० ‘ए’ काे मनिटरमा स्नेहा शाह ४ मत र ईशा जिम्मा १३ मत (गोलाप्रथाबाट विजयी) का साथ चुनिए । विद्यालयकाे कक्षा १०’बी’ काे मनिटरमा सबिना थिङ २१ मत र नारायण अधिकरी १३ मत प्राप्त गरी विजयी भएकाे बर्तौलाले जानकारी दिए ।
क्याप्टेन भाइस क्याप्टेन र मनिटरकाे लागि जेठ १ गते ११ बजे उम्मेदवारी दर्ता र २ बजे उम्मेदवारी फिर्ताकाे कार्यक्रम भएकाे थियाे भने जेठ २ गते चुनाव चिह्न प्रदान गर्दै मतदान शिक्षासमेत दिइएकाे उनले बताए । त्यस्तै जेठ २ र ३ गते उम्मेदवारले प्रचारप्रसार गरेका थिए ।जेठ ३ गते २ बजेदेखि जेठ ४ गते ११ बजेसम्म मौन अवधिसमेत ताेकिएकाे उनले जानकारी दिए । सवै पदमा गरी ४६ जनाको उम्मेदवारी कायम भएकाे थियाे । मतगणना जेठ ४ गते भएकाे हाे ।
