मकवानपुर । बागमती प्रदेशमा दलहरु बिच भागवण्डा मिलाउन संसदीय समिति थप गरिएकाे छ । सत्तापक्ष र प्रतिपक्ष बीच संसदीय समितिकाे सभापति चयनमा सकस रहेकाे बेला पाँच वटा समिति रहेकाे प्रदेश सभामा १ थप गरी छ वटा बनाइएकाे हाे ।
सत्तारुढ दललाई भागवण्डा मिलाउन मन्त्रालय थप गरिएकाे ४८ घण्टा नवित्दै प्रदेशसभामा प्रमुख प्रतिपक्षि तथा अन्य दलहरुलाई भागवण्डा मिलाउन संसदीय समितिसमेत थप गरिएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच वटा दललाई संसदीय समितिको सभापतिमा भागबण्डा नमिलेपछि शुक्रबार समिति थप्ने निर्णय भएको हो । बागमती प्रदेश सभामा पाँच दलीय बैठकले प्रदेशसभा नियमावली, २०७४ अनुसार विशेषाधिकार समिति थप गर्ने निर्णय गरेको हाे । विशेषाधिकार समितिमा १७ जना सदस्य रहने नियमावलीले व्यवस्था गरेको छ ।
प्रदेशसभा अन्तर्गतका पाँच वटा समितिको निर्वाचन शनिबारकाे लागि तय गर्दै बिहीबार मतदाताकाे नामावली समेत प्रकाशन गरेकाे थियाे । निर्वाचन तालिका प्रकाशन भएकाे १ दिन पछि संसदीय समितिकाे संख्या बढाउने सहमति भएकाे हाे ।संसदीय समिति थप भएसँगै नेपाली कांग्रेसले दुई वटा समितिको नेतृत्व पाउने भएको छ अन्य चार दलले एक/एक वटा समितिको नेतृत्व पाउने गरी सहमित भएको बताइएकाे छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी एक/एक वटा समितिको नेतृत्व दिने गरी सहमति भएको नेकपा माओवादी केन्द्रे बागमती प्रदेशका मुख्य सचेतक रत्न ढकालले जानकारी दिए ।
जसअनुसार प्रदेश मामिला र सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसले पाउने छ । यस्तै राप्रपाले अर्थ तथा विकास समिति, एमालेले उद्योग बन तथा वातावरण समिति, एकीकृत समाजवादीले प्रदेश विशेषाधिकार समिति र माओवादी केन्द्रले शिक्षा, स्वास्थ्य तथा कृषि समिति समितिको नेतृत्व पाउने छ ।
प्रदेशसभा अन्तर्गतका प्रदेश मामिला समिति, अर्थ विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएकाे थियाे ।
सभापति चयनका लागि प्रदेशसभाले सार्वजनिक मतदाता नामावली अनुसार प्रदेश समितिमा १९ जना, अर्थ तथा विकास समितिमा २० जना, सार्वजनिक लेखा समितिमा १८ जना, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ र उद्योग, पर्यटन समितिमा १९ जना मतदाता रहेका छन् ।
निर्वाचनका लागि शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयन फिर्ता लिने पाउने र ६ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका सार्वजनिक भएकाे थियाे । यस्तै, समिति सभापति चयनका लागि शनिबार दिउँसो ३ बजेर ३० मिनेटदेखि मतदान हुने र आइतबार बिहान १० बजे निर्वाचित हुनेहरुलाई सपथग्रहण गराउने कार्यतालिका सार्वजनिक गरिएकाे थियाे ।

