सदाचार शब्द, सद् (सही/राम्रो) र आचार (आचारण/व्यवहार ) मिलेर बनेका छ । सदव्यवहार नै सदाचार हो, अर्थात सजिलो गरी बुझ्दा सदाचार भन्नु नै अनुशासन हो । असल समाज निर्माणको लागि सदाचार एउटा अपरिहार्य खम्बा हो । हामी अहिले संघीय राज्यको अभ्यासमा छौ ।
यो लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि सुशासन अनिवार्य शर्त हो । लोकतन्त्र र सुशासन एक अर्काका परिपूरक नै हुन् भन्दा पनि फरक नपार्ला । लोकतन्त्रबिनाको सुशासन र सुशासनबिनाको लोकतन्त्रले देशको सर्वोपरी विकास संभव छैन । लोकतान्त्रिकरणको अभियानलाई मजबुत बनाउन सदाचारको भूमिका पनि महत्वपूर्ण हुन्छ ।
सदाचार समाजको महत्वपूर्ण गहना हो । यसले व्यक्तिको चरित्र र समाजको सामूहिक दायित्वबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्छ । राष्ट्रिय मूल्य र संस्कृतिसँग आबद्ध गराउँछ, चिनारी कायम गर्छ । सार्वजनिक निकायले विश्वास आर्जन गरी तिनिहरुको विश्वसनीयता अभिवृद्धि गराइराख्न यसको आवश्यकता हुन्छ । संस्थाका पात्र र पदाधिकारीहरू नैतिकवान् र सदाचारी भएमा मात्रै सही व्यवहार गर्न र सही गलत छुट्याउन सक्छन् । नेपालमा सदाचार र नैतिक आचरणका विषयमा बहसपैरवी भइरहेको देखिए पनि जिम्मेवार व्यक्तिलाई सदाचारमा अड्याउन सकिएको छैन । समाजमा असल आचरण स्थापित गरी संस्कार र व्यवहार व्यवस्थित गर्न भूमिका निर्वाह गर्नुपर्ने सामाजिक, राजनीतिक, प्रशासनिक, शैक्षिक, सांस्कृतिक क्षेत्र तथा मिडियामा समेत नैतिकता अवस्था कमजोर बन्दै छन् ।
सदाचारको अवधारणा राज्य सञ्चालनका विविध पक्षमा हुनुपर्ने परिवर्तनसँग सम्बन्धित छ । आवधिक निर्वाचन, कानूनको शासन, अधिकारको निक्षेपण, आर्थिक पारदर्शिता, उत्तरदायित्व, स्वच्छता, सदाचारिता, सद्भाव, जवाफदेहिता, नैतिकताजस्ता आधारभूत लोकतान्त्रिक मूल्य, मान्यताको अवलम्बनद्धारा नै सदाचार अर्थात सुशासनयुक्त समाज र राष्ट्र निर्माण हुनसक्छ ।
सदाचार यसले वा उसले भन्ने हैन सबैले आ आफ्नो स्थानबाट पुरा गर्नुपर्ने अनुशासन हो । सरकारको काममा सहयोग पु¥याउन निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज तथा सामुदायिक संघसंस्थाहरूले आ– आफ्नो ठाउँबाट काम गरिरहेका हुन्छन, त्यही काममा अलि बढी अनुशासनको पालना गर्दा, सदाचारीताको ख्याल गरिदिंदा समाज अनुशासित बन्न सक्छ ।
वर्तामान अवस्थाको कुरा गर्दा राजनीतिक दलहरुमा सदाचारिता प्रकट भएन भन्न गुनासो व्यापक आउने गरेको छ । सत्ताको पछिमात्रै लाग्ने, जनतालाई आश्वासनमात्रै देखाउने तर जनताको पीर मर्का र आवश्यकतालाई नजरअन्दाज गरेको गुनासाहरु दिनदिनै बढिरहेका छन् । संघीयताको कार्यान्वन भइरहेको भनिरहँदा राजनीतिक दलमा केन्द्रीय समिकरण भत्किनासाथ प्रदेशदेखि स्थानीय स्तरसम्म यसको प्रभाव पर्ने गरेको छ । नेतृत्वमा चोचोमोचो मिल्दासम्म स्थानीय स्तरमा पानीबाराबारको अवस्था हामीले नै देखेका छौ । भलै राजनीतिका स्थायी सत्रु हुदैन भनिन्छ तर, दलभित्रको तित्तताको कारण स्थानीय विकास निर्माण र सामाजिक सद्भावमा समेत असर पर्ने गरेको स्पष्ट देखिन्छ ।
राजनीतिक दल जति बढी लोकतान्त्रिक मूल्य, मान्यताप्रति सजग, प्रतिवद्ध, जनमुखी, जनउत्तरदायी र कानूनको शासनप्रति चनाखो हुन्छन् त्यति नै लोकतान्त्रिक संस्कारको विकास एवम् सुशासन मजबुत हुन्छ । तसर्थ राजनीतिकर्मी र उनीहरूका अनुयायीहरूको व्यवहारले समग्र समाजलाई कुन नैतिक धरातलमा राखे भन्ने विषयको समेत निर्धारण गर्ने हुँदा वास्तविकतामा सदाचारिताको नैतिक बन्धन यो क्षेत्रसँग बढी जोडिएको छ । यि सवालहरुका मिडियामार्फत पनि यथेष्ट चर्चा हुने गरेको पाइदैन् ।
सदाचार हासिल गर्न सार्वजनिक क्षेत्रका सबै पदाधिकारी तथा कर्मचारीले देशको संविधान, कानून र सम्बन्धित संस्थाको कार्यप्रकृति अनुरूपको आचरणको पूर्ण पालना गर्नुपर्छ । संघीय संरचनामा सबै तहका व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका यिनिहरुका तह र राज्य सञ्चालनमा संलग्न सबै किसिमका संस्थाका पदाधिकारी तथा कर्मचारीका लागि छुट्टै सदाचारका नियमहरू पूर्ण पालना हुनुपर्छ । नेपालमा सदाचार पद्दतिको विकासका लागि केही प्रयासहरू भएका पनि पाइन्छन् ।
राजनीतिक दलहरुसँगै भ्रष्टाचारको सवाल पनि अर्को सवाल हो । भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवद्र्धनका लागि अनेकौं प्रयासहरू नेपाल भएका छन् । संविधान र कानूनहरूमा भ्रष्टाचार नियन्त्रण सम्बन्धी प्रावधानको व्यवस्था छ । विभिन्न नीति तथा रणनीतिहरू बनेका छन् । कतिपय संस्थाका पदाधिकारी तथा कर्मचारीहरूका लागि आचार संहिताहरू बनेका छन् । संवैधानिक निकायको रूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोक सेवा आयोग, निर्वाचन आयोग जस्ता संस्थाको व्यवस्था भएको छ । यसैगरी सरकारी संयन्त्र अन्तर्गत राष्ट्रिय सतर्कता केन्द्रलगायत विभिन्न निकायहरूको व्यवस्था गरिएको छ । यसको एकै लक्ष्य हो सदाचारको पालना गराउने, अनुशासन बढाउने।
नेपालमा कानूनको रूपमा जारी भएको सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले सुशासन कायम गर्ने विषयमा निकै राम्रा प्रावधानहरूको व्यवस्था गरेको छ । निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ सदाचार पद्दतिको स्थापनाका दृष्टिले निकै राम्रो कानूनी व्यवस्था छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, सार्वजनिक खरिद ऐन, २०६३, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लगायत कार्यान्वयनमा छन् । कानूनी व्यवस्थाले निजामती कर्मचारीलाई सदाचारी बन्न प्रेरित गरेको पाइन्छ । स्थायी सरकारको रुपमा रहेको नेपालको कर्मचारी प्रशासनमा सदाचारको पालना नभएको आलोचना अधिक छ । यस्ता आलोचना कम गर्दै सदाचार, अनुशासन अभिवृद्धि गराउन पनि मिडियाले प्रेरित गर्नुपर्ने तर्फ ध्यान दिनुपर्छ ।
सदाचार प्रवर्द्धनमा चुनौती पनि छन्
हरेक क्षेत्रमा संभावनासँगै चुनौती पनि हुन्छन् । वास्तममा चुनौतीभित्रबाट संभावनाहरुको खोजि गर्नु र व्यवहारमा लागु गर्न सक्नु नै सफलता हो । सदाचार प्रवद्र्धनको पाटो कामजोर भएको मुल्याङ्कन गर्नु नै चुनौतीभित्रको संभावनाको खोजि सुरु गर्नु हो । भ्रष्टाचार नियन्त्रण तथा सदाचार पद्दतिको विकास गर्ने विषय आफैमा निकै चुनौतीपूर्ण छ । सरकार एक्लैको प्रयासबाट यो संभव पनि छैन । शासकीय व्यवस्थाका हरेक क्षेत्रमा कानूनको सही र सम्मानजनक परिपालनामा विनाकुनै कमजोरी कार्यन्वयन हुनु पर्छ । यसको लागिः
व्यवसायिक निष्ठा र इमान्दारिताको संस्कृति आफैबाट व्यवहारमा ल्याउनुपर्छ,
निजी र संस्थागत क्षेत्रको महत्वपूर्ण जिम्मेवारी र भूमिका रहन्छ, सबैका लागि साझा नैतिक दायित्व र व्यवसायिक निष्ठाका आचरणहरु कार्यान्वयनमा ल्याउनुपर्छ,
देशको विकास निर्माण, सेवा प्रवाह र शासकीय व्यवस्थाका सबै तहका विविध प्रवृत्ति र रूपका अनियमितता एवम् भ्रष्टाचारजन्य क्रियाकलापको नियन्त्रण गरी सदाचारयुक्त, नैतिकवान, सुसंस्कृत र समृद्ध समाजको निर्माणमा व्यक्ति व्यक्ति नै स्वप्रेरित हुनुपर्छ ।
सार्वजनिक निकाय, निजी क्षेत्र, गैरसरकारी एवम् सहकारी क्षेत्र र नागरिक समाजका संस्था तथा पदाधिकारीसम्म पुगेको भ्रष्टाचारजन्य प्रवृत्ति, घटना र कार्य एवम् अनियमितता, ढिलासुस्ती, लापरवाही, गलत निर्णय वा अनिर्णय तथा यस्तै अन्य विविध विकृति विसंगतिलाई निराकरण गर्दै यो अभियानमा सबै एकजुट हुनुपर्छ,
सार्वजनिक कार्यमा संलग्न प्रत्येक व्यक्तिमा आत्मअनुशासनको भाव विकास गर्नुपर्छ,
राष्ट्रिय सदाचार पद्दतिका मूलभूत मूल्य मान्यता र नियमहरू निर्धारण गनुपर्छ,
सार्वजनिक कामको जिम्मेवारी पाएका विभिन्न पदगत तथा संस्थागत सदाचार नियमहरू परिपालना गर्नुपर्छ,
सदाचार सम्बन्धी अध्ययन अनुसन्धान र नियमन गर्ने संस्थागत व्यवस्था गर्नुपर्छ,
सदाचारका नियमहरूको कार्यान्वयनको अनुगमन तथा नियमनको पद्दति निर्धारण गर्नुपर्छ ।
सदाचार पद्दतिका मूलभूत मूल्य मान्यताहरुमाथि मध्यनजर गर्दै यस्ता सवालको कार्यन्वयनमा विशेष ध्यान दिनु जरुरी छ । जस्तै प्रचलित कानून बमोजिम संस्थाको स्थापना, पदाधिकारीहरूको नियुक्ति र कार्यसञ्चालन,सबै किसिमका संस्थाको मूलमन्त्र जनता वा सेवाग्राहीको सेवा गर्ने, कसै उपर पनि अवान्छित रूपमा पक्षपातपूर्ण व्यवहार नगर्ने, निर्णय, कार्य, सेवा प्रवाह र व्यवहारमा निष्पक्ष हुने, आफू, आफ्नो परिवारको सदस्य वा आफन्त र अन्य किसिमको सम्बन्धको स्वार्थमा दुरूपयोग नगर्ने जस्ता सवालमा सबै जिम्मेवार हुनुपर्छ ।
अरुलाई औल्याउने प्रवृत्ति
सदाचारको सवालमा चर्चा गर्न जति सजिलो छ कार्यान्वयन गर्ने उत्तिकै कठिन देखिन्छ । अंग्रेजीमा एउटा भनाइ छ ‘इजि टु से, हार्ड टु डु’ ( भन्न सजिलो गर्न गाह्रो) सदाचारको आवश्यकता बारे भन्न, बोल्न सजिलो भए जस्तो कार्यान्वयनमा सबैले सहज मानेको देखिदैन । यो सवालमा बेलाबखत चर्चा हुने गरेको भए पनि कार्यान्वयनकै पाटो कमजोर छ । सदाचार नीति, संरचना लागू गर्न दशक अघिबाटै सदाचार नीति ल्याउने तयारी थालियो तर यसको कार्यान्वयनपाटो कमजोर नै रह्यो । दुखकै कुरा हो किःसदाचार र नैतिक आचरणका विषयमा अध्ययन, पैरवी र शिक्षा दिनेहरूमा नै सदाचारको आदतमा देखिदैन । उनीहरु नै सदआचरणमा बाँधिन चाहिरहेका देखिदैनन् । यसो त सार्वजनिक संस्था बाँच्ने र विश्वास आर्जन गर्ने आधार नै इमानदारिता र सदाचार हुन्, स्वअनुशासन हुन् ।
सार्वजनिक व्यत्तित्व, तथा सार्वजनिक संस्था सदाचारबीना अस्तित्वमै रहँदैन । संस्थाका पात्रहरू जति सदाचारी भए, त्यसैको सापेक्षमा संस्थाहरू बलिया हुने हुन् । लोकतन्त्र र शासनको अधिकतम इच्छा पनि यही आधार हो । व्यक्ति÷संस्थाको चरित्र, आदर्श हुनुपर्छ, बृहत् मानवीय मूल्यबाट निर्देशित हुनुपर्छ । अहिले सार्वजनिक पदाधिकारीहरू कानुनले तोकिदिएको काम र आचरण पूरा गर्दैनन् तिनीहरुबाट नैतिक आदर्श र सामाजिक अपेक्षा गर्नु बेकार जस्तै भएको छ ।
भ्रष्टाचार नियन्त्रण र सदाचार कायम गर्ने सपना सरकार बाँडिरहन्छ, तर सरकारमै भएकाहरुबाट यावद भ्रष्टचार भइरहन्छ । आज हरेक क्षेत्रमा व्यावसायिक निष्ठाको खडेरी परेको छ । भन्नलाई आफू अनुकुल व्याख्या गर्न थालिएको छ । जो आफू प्रतिकुल छ उसैलाई सदाचारको पालना नगरेको आलोचना गरिन्छ, तर उ आफैं सदाचारको पालना गरिरहेको हुँदैन ।
हाम्रो समाजको अहिलेको टड्कारो आवश्यकता भनेको सदाचार हो, सुशासन हो । नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो । नीतिप्रतिको निष्ठा नेतृत्व निर्माणको आधार हो, यसरी नेतृत्व निर्माण भएपछि उसले नीतिनिष्ठालाई बलियो बनाउँछ । नेतृत्वको उदाहरणीयताले संस्थाहरू बलिया हुन्छन् । सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिकता, सदाचार र व्यावसयिकताका मूल्य आचरणमा चाहिन्छ ।
सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो । यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक व्यक्ति प्रत्येकप्रति जवाफदेही हुन सक्छन् । अरुलाई मात्र दोषि र आफू सही देख्ने प्रवृत्तिले पनि सदाचार फैलाउन सकिदैन ।
आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पुर्याउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी ग्रहण गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् । तर, सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत,सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित हुन दिनु हुदैन । यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ । व्यक्ति आचारच्यूत किन हुन्छ भन्ने विषयमा समेत उत्तर पाइन्न ।
तर, घटनाक्रम र प्रवृत्तिको विश्लेषणले केही हदमा उत्तर खोज्न भने सकिन्छ । जन्मले मानिस असल हुन्छ, कोही पनि खराब हुँदैन, कर्मले मात्र मानिस खराब वा असल देखिन्छ बन्छ । पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य, संस्कृतिजस्ता पक्षहरूले व्यक्तिलाई खराब वा असल बनाउँछ । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सत्कर्मी बन्छ, नैतिक बन्छ । मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान सन्छ । यसैले अरुलाई औल्याउनभन्दा आफू सहीकर्ममा सदाचारमा रहनु मुख्य सवाल हो ।
असल कुराको माग त समाजमा भइरहेकै हुन्छ, तर खराबको छिटो विस्तार हुन्छ । एकपटक खराब चित्तवृत्ति भएको व्यक्ति फेरिफेरि खराबतिरै लाग्ने गरेको समाजमा देखिन्छ । खराब परिवेश र संगतले अरूलाई पनि सद्आचरणमा रहन दिंदैन । खराब व्यक्तिका नेतृत्वमा संस्थागत रुपमा समेत कमजोर बन्दै जान्छन् । नीति निष्ठामा कमजोरी देखिदै जान्छ । सदाचारका आधारशिलाहरू मक्किँदै, कमजोर हुँदै जान्छन्, गैरसदाचारले प्राथमिकता पाउन थालेपछि सदाचारमा रहनेहरु बोल्न छाड्दै जान्छन् । सदाचारलाई उपेक्षा गरेको आफूहरु उपेक्षित भएको आभाष गर्न थाल्छन् वास्तममा नै सदआचारण व्यवस्था उपेक्षित हुदै जानछ । समाजमा देखिएको हालको अवस्था यस्तै हो ।
मिडियाले कसरी प्रवर्द्धन गर्ने सदाचार ?
मुलता मिडियाको काम खबरदारी हो । यो संगै सकारात्मक मोटिभेशन गर्ने, शुसूचित गराउने, घटनाक्रम प्रति अपडेट गराउने, जानकारी गराउने जस्ता जिम्मेवारी पनि मिडियाको हो । सदाचार व्यक्ति, समाज, राज्यको लागि अनिवार्य खम्ब हो भन्ने बारेमा धारणामा स्पष्टता ल्याउने, सही जानकारी प्रचारप्रसार गर्ने जिम्मेवारीमा मिडियाले सहयोग र समन्वय गर्न सक्दछ । सदाचार के हो, किन आवश्यक छ जस्ता जानकारी मिडियामार्फत नै स्पष्ट पार्नु प्रचारप्रसार गर्न मिडिया आवश्यक हुन्छ ।
प्रचलिन ऐन कानून, नीति नियमको पालना भए, नभएको अध्ययन गरेर त्यसबारे खबरदारी गर्ने काममा मिडियाले भूमिका निर्वाह गर्न सक्छ । समाजमा रहेका जेष्ठ नागरिक, अपाङता भएका व्यक्ति, गर्भावती, शारिरीक अवस्थाले समस्या भएका व्यक्ति बालवालिकालगायतलाई राज्यबाट प्रवाहित हुने सेवा प्रवाहमा विशेष प्राथमिकता भएको छ कि छैन यसको अध्ययन गरेर सूचना प्रवाह गर्दा पनि कार्यान्वयनको पाटोमा मद्दत पुग्न सक्छ ।
नागरिकहरुले आफ्नो कर्तव्य पालनको क्रममा, सेवा प्रदायकहरुले सेवा प्रवाहको क्रममा भएका सकारात्मक र नकारात्मक सवालको बारेमा मिडियाले झकझक्याउन सक्छ । संस्था वा कामको नेतृत्व गर्नेले उदाहरणीय कार्य गरेको अवस्थामा उनको लगनशीलतालाई प्रेरक प्रशंगको रुपमा मिडियाले प्रस्तुत गर्दा उसलाई अझै सकारात्मक मोटिभेशन हुन्छ भने अरुलाई पनि प्रेरणा मिल्ने हुन्छ । यसले मानव अधिकार प्रत्याभुतमा बल पुग्दछ, अनुशासन तथा सदाचार प्रवद्र्धनमा बल पुग्छ । यस्तो प्रेरणा कार्यालयहरुको सवालमा मात्रै हैन, सामान्य परिवार र अभिभावकत्व गरेका असल व्यक्तिको पनि गर्न सकिन्छ । परिवार सदाचारको मुख्य केन्द्र हो ।
अन्यायमा परेकाहरुलाई न्यायको अनुभूति गराउन पनि मिडियाले महत्वपूर्ण सहजिकरण गर्न सक्छ । यस्ता कदम मिडियाले चाल्दै गर्दा सेवा प्रदायक र सेवाग्राहीलाई समेत सदाचार पालनाको लागि मिडियाले प्रेरित गर्नुपर्छ । यस्तो गर्दा पनि सदाचार प्रवद्र्धनमा प्रत्यक्ष अप्रत्यक्ष बल पुग्छ । सार्वजनिक काम गर्ने जिम्मेवारी पाएका पदाधिकारी तथा कर्मचारीहरूको व्यावसायिक निष्ठा र व्यवहारमा सदाचारीता झल्किनु पर्छ यस्तो नभएको पाएमा मिडियाले खबरदारी गर्नुपर्छ । उनीहरुले देशको संविधान, कानून र पेशागत मूल्य मान्यताको पालना, पेशामा प्रवेश गर्दा लिएको सपथको पालना, सेवा नै धर्म हो भन्ने मूल मन्त्रको अवलम्बन, समयमा निर्णय र कार्यान्वयन, आफूले गरेका निर्णय र कार्य पद्दतिमा पारदर्शिता, निर्णय र कार्यहरूको जबाफदेहितामा ध्यान दिने बानीको विकास हुन्छ । यो नै सद्भाव र सदाचारको कडी हो ।
यसैगरी साधन स्रोतहरूको सही र इमान्दारीपूर्वक अधिकतम उपयोग गर्ने, पदीय र व्यक्तिगत रूपमा सदाचारयुक्त व्यवहार गर्ने, इमान्दारी, तटस्थता, असल चालचलन, उच्च नैतिकता जस्ता व्यवहार प्रदर्शन गर्नेतर्फ ध्यान दिइएको छ कि छैन भन्नेतर्फ पनि मिडियाले ख्याल गर्नुपर्छ र सोही अनुसारको प्रचार गर्न सक्छ । यस्तो वातावरणको विकासमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा मिडियाले खबरदारी गरिरहनु पर्छ ।
त्यसैले सदाचार पालना केवल यो वा त्यो निकायले हैन राज्यको सबै तह तप्काका व्यक्ति र निकायले हर पाइलामा पालना गर्नुपर्छ । सेवा दिदां होस वा लिदा, उपहार दिंदा होस वा लिदा, कानुन निर्माण गर्दा होस् वा लागु गर्दा । सरकारी गैरसरकारी राजनीति गैरराजनीतिक, कानुन कुटनीति, शिक्षण–प्राध्यापन, सहकारी सबैमा सदाचारको पालना आवश्यक छ, यसमा निरन्तर खबरदारीको रुपमा मिडिया सधैं उभिनु जरुरी छ । सदाचार प्रवद्र्धनमा सबैको जिम्मेवारी र भूमिका उल्लेख्य छ भन्दाभन्दै यसको पर्याप्त प्रचारप्रसारकै अभाव छ । जनतामा सदाचार पद्धतिको बारेमा जनचेतना नै छैन । राजनैतिक र नैतिक शिक्षाको कमीले सदाचारिताको सवाल कमजोर छ । शासकीय व्यवस्थाका पात्रको मनोवृति र व्यवहारमा सुधार गर्नै सकिएको छैन । मिडिया तथा नागरिक खबरदारी र दबाबको निरन्तरतामा कमि भएको छ । मिडियाले नियमित रुपमा समाचार, अन्तर्वार्ता, विशेष कार्यक्रमहरु गर्दा विज्ञापन तथा सन्देश प्रचार गर्दा पनि सदाचारको पाटोमा संवेदनशील हुनु जरुरी छ ।
निष्कर्ष
लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति नेपालको संविधानले प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धिको संस्थापक राष्ट्रको नाताले यसप्रति हस्ताक्षर गरिसकेको छ भने यस्ता विभिन्न अन्तर्राष्ट्रिय कानुनको अनुमोदनसमेत गरिसकेको छ । सदाचारका मूल्य र मान्यतामा सामाजिक दायित्व हुने सबै सार्वजनिक क्षेत्र र निकायको संलग्नता सुनिश्चित हुने गरी राष्ट्रिय आवश्यकता अनुरूपमा राष्ट्रिय सदाचार नीतिको अपरिहार्यता देखिन्छ ।
जबसम्म सदाचारमैत्री शासन प्रणालीको व्यवहारिक कार्यान्वयन देखिदैन अर्थात हुँदैन सुशासनको प्रत्याभूत कसरी संभव छ र ? कानुनी शासन र सदाचारमुखी क्रियाकलापको संवर्धन गर्न राज्यका निकाय र व्यक्तिलाई अग्रसर गराउन यस्तो नीतिको कार्यान्वयन हुनु पर्छ, जसले तीनै तहमा हुने सार्वजनिक गतिविधिको सुधारमा प्रशस्त योगदान पु¥याउन सकोस् । आजको समाजको लागि स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी, सहभागिमूलक सदाचारयुक्त कानुनको समान प्रयोगको सुनिश्चितता आवश्यक हुन्छ । लोकतन्त्रमा सार्वजनिक प्रशासनलाई सार्वजनिक जीवनको सबै तहमा सुशासनको प्रत्याभूति गराउन यस्ता मान्यतालाई व्यवहारमा आत्मसात् गर्नुपर्छ ।
त्यसैले सारमा मिडियाकै आँखाले हेरेर भन्नुपर्दाः अझै पनि सूचना लिन र जनतासामू पु¥याउनै सकस छ । पत्रकारलाई राज्यको चौथो अंक हो, यो संग शक्ति छ भनिन्छ तर, सूचना लिदा नै भोग्नु पर्ने सकस र हण्डरको पीडानुभूति स्वयम पत्रकारलाई नै छ । सूचना नपाएको झोंकमा जथाभावि लेख्न पनि भएन, सूचना दिएन भनेर नलेख्न पनि भएन । सदाचारको पालना फेरी पत्रकारले पनि त गर्न प¥यो । फेरी पनि मिडियाले सदाचार प्रवद्धनमा आफ्नो जिम्मेवारी वहनमा कहिकतै चुक्नु हुदैन, एकै ध्यय, गन्तव्य यत्ति हुनुपर्छ कि सबैले आ आफ्नो स्थानबाट पेशागत, राजनीतिक, आर्थिक, सामाजिक आचरणको पालन गर्नुपर्छ ।
सन्दर्भ समाग्रीहरुः
१, राष्ट्रिय सदाचार नीति २०७४ (प्रस्तावित), २, सागर पण्डितः कहाँ हरायो सदाचार नीति (अन्नपूर्ण पोष्ट)
