मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१८ मा घरमा चोरी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१८ बस्ने नविन खतिवडा रहेकाे प्रहरीले जनाएकाे छ ।
आइतबार दिउँसो हेटौडा १८ रामधुनीमा गोपि थापाको घरको झ्याल फुटाएर कोठाभित्र रहेको दराजबाट नगद ३ लाख, सुन १ तोला,मोबाईल १ थान, हाते घडी थान २ चोरी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाकारी दिएकाे छ । प्रहरी चौकी ठुलोदमारमा घरमा चाेरी भएकाे भन्दै लिखित निबेदन दिएपछि प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्दा हेटौंडा–१७ हटिया चोकबाट खतिवडालाई पक्राउ गरिएकाे हाे ।
प्रहरीका अनुसार खतिवडाकाे साथबाट नगद १६ हजार ८०० रुपैया, घडि १ थान, मोबाईल २ थान र लागुऔषध ४५ ट्याब्लेट बरामद गरिएकाे थियो । यसैगरी खतिवडाको घर खानतलासी गर्दा थप ६४ हजार ८६४ रुपैया, धातुको औठी १ थान, धातुको टिका १ थान, धातुको औठी १ थान र विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा आबश्यक कार्बाही जिल्ला प्रहरी कार्यालय मकवापनुरबाट भइरहेको प्रदेश प्रहरीले जनाएकाे छ ।

