सुनसरी । सुनसरी जिल्लाकाे दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीबाट पीडित परिवारलाई राहत वितरण गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगलागीबाट पीडित परिवारको घरमै पुगेर राहत हस्तान्तरण गरेकी हुन् । त्यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागी पिडित इन्द्रकुमार खड्काको घरमै पुगेर मन्त्री चौधरीले राहत सामग्री वितरण गरेकी छिन् ।
छाताबेलीका ११ घरपरिवार आगलागीबाट पीडितलाई प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, ३ किलो नुन, २ सेट ब्ल्याङ्केट, १ सेट स्ट्याण्ड फ्यान, स्टेशनरी र पेश १ सेट, १ बण्डल जस्ता पाता, १ सेट डिग्निटी किट, १ सेट झुल, किचनका सामग्री र सडना सेट वितरण गरिएको थियाे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरिएको हो ।
यसैगरी आगलागी पिडित खड्काको परिवारलाई सहयोग स्वरूप १२ वटा सिमेन्टको पिलर, १० बोरा सिमेन्ट, ३ ट्याक्टर बालुवा/गिट्टी लगायतका सामग्री सहयोग गरिएको हो । इटहरी ७ का वडा सदस्य दिपक घिमिरेले सहयोग ब्यावस्थापन गरेका हुन् । मन्त्री चौधरीका साथै मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको सहभागितामा सहयाेग हस्तान्तरण गरिएकाे हाे ।
गत वैशाख २१ गते दिउँसो घरमा कोही नभएकाै समयमा विद्युत सर्ट भएर खड्काको घरमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षती भएको थियो ।

