मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको छ ।
विश्व बुबा आमा दिवसको अवसरमा शनिबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दिवा सेवा केन्द्रको उद्घाटन गरिन । हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको आयोजना भएको कार्यक्रममा एवम् जलेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको सहयोगमा सेवा केन्द्रको शुभारम्भ गरिएको हो ।
सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दिवा सेवा केन्द्रको उद्घाटन गर्दै ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र भेटघाट गर्ने र सुखदुःख साटासाट गर्ने थलो बन्नेमा विश्वास व्यक्त गरिन् । उनले बागमती प्रदेश सरकारले नीतिगत रूपमै ज्येष्ठ नागरिकका लागि सहयोग गर्न प्रतिवद्धरहेको बताउँदै दिवा सेवा केन्द्रका लागि स्वयम् सेवकको पनि व्यवस्था गरिरहेको जानकारी दिइन् ।
हेटौंडा उपमहानगरपालिका उप प्रमुख राजेश कुमार बनियाले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान, सीप युवा पुस्ताले ग्रहण गर्नुपर्ने बताए । ‘ जेष्ठ नागरिकमा अनुभव, ज्ञान सीप युवा पुस्ताले ग्रहण गर्नु पर्ने बताए । अनुभवकाे खानी भएका जेष्ठ नागरिकसाऊ बाेल्ने कुराकानी गर्ने तथा अनुभव ग्रहण गर्ने अहिलेकाे पुस्तामा रभाव रहेकाे छ’ उनले भने ‘सञ्चालनमा आएको दिवा सेवा केन्द्रले सबै ज्येष्ठ नागरिक भेटघाट गर्ने, भजन कीर्तन, नाचगान गर्ने थलो हुने विश्वास छ ।’
यसैगरी ज्येष्ठ नागरिक परिवारका संरक्षक र समाजका पथप्रदर्शक भएकाे हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक विष्णुकुमारी लामिछानेले बताइन् । ‘ज्येष्ठ नागरिक लामो जीवन भोगाइका अनुभवले खारिएले ज्ञान, सीपलाई सम्मान गर्न सक्नु पर्छ’ उनले भनिन् सूचना र प्रविधिको विकासले समाजमा परम्परागत ज्ञान, सीप, धारणा र कला ओझेलमा पर्दै गएको छ ।’ पारिवारिक वातावरणमा मात्र समय व्यतीत गर्न कठिनाइ भएकाले ज्येष्ठ नागरिकका लागि दिनभर भलाकुसारी तथा विविध कार्य गर्न ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको महत्व रहने उनले बताइन् । हेटौंडा उपमहानगरभित्र पहिलो पटक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको हो ।

दिवा सेवा केन्द्र उद्घाटनसंगै ज्येष्ठ नागरिक सम्मान तथा निमोनिया विरुद्धको खोप लगाइएको छ । दुईसय जना जेष्ठ नागरिकलाई थर्मस वितरण समेत गरिएको थियो । १०६ वर्षदेखि ८४ वर्ष उमेरका ५४ जना ज्येष्ठ नागरिकलाई पहिलो चरणमा निमोनिया विरुद्धको खोप लगाइएको हेटौंडा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जनले जानकारी दिए । ‘पहिलो चरणमा सबै ज्येष्ठ नागरिकलाई खोप लगाउन सम्भावना रहेन, आगामी वर्षबाट कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाइने छ’ वडा अध्यक्ष महर्जनले भने । ज्येष्ठ नागरिकको स्वास्थ परीक्षणसमेत गरिएको कार्यक्रममा सुगर, प्रेसर र अन्य स्वास्थ्य अवस्थाको जानकारी लिएर मात्रै खोप लगाइएको थियो ।
अहिले हेटौंडा उपमहानगरपालिका २ नम्बरमा ६ सय १३ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको वडा सचिव रामप्रसाद गुरागाईले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता २ नम्बर वडाबाट प्राप्त गरिरहेका तथा २ नम्बर वडामा स्थायी बसोबास गरिरहेकाे ज्येष्ठ नागरिकलाई खाेप लगाइएकाे उनले जानकारी दिए । जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले ६० वर्ष पूरा भएकालाई ज्येष्ठ नागरिकको परिभाषामा समेटेको छ । अन्य व्यबस्था बाहेक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न भने ६८ वर्ष पूरा भएको हुनु पर्ने ब्यबस्था सामाजिक सुरक्षा ऎनले गरेको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुर अध्यक्ष हरि प्रसाद सिग्देल, ज्येष्ठ नागरिक समाज मकवानपुर अध्यक्ष केदार न्यौपाने, जलेश्वर महादेव क्षेत्र विकास समिति अध्यक्ष मुरारी सुवेदी, वनस्खण्डी देवी सामुदायिक वन समिति अध्यक्ष भवसागर श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्यहरु इन्द्रप्रसाद रिजाल, मैयाँ परियार, सुरज बर्तौला टाेल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्य स्वयम्सेवीका लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले दलित समुदायका महिलाहरुलाई साबुन तथा सर्फ बनाउने तालिम सञ्चालन गरेको छ । दलित समुदायका महिलालाई आयआर्जनमा अभिप्रेरीत गर्ने गरी शुक्रबारबाट उक्त तालिम संंचालन गरिएकाे हाे ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले शुक्रबार तालिमको उद्घाटन गर्दै दलित महिलालाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताइन् । ‘समाजमा पिछडिएका दलित महिलाहरुलाई गाउँपालिकाले सिपमुलक तालिम दिएर सामाजीक र व्यवसायीक दुबै हिसाबले सफल बनाउने लक्ष्य लिएको छ‘ उनले भनिन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सहभागीलाई तालिम पश्चात व्यवसायीक रुपमा अघि बढ्न सफलताकाे शुभकामना दिएका थिए । तालिममा गाउँपालिकाका ९ वटा वडाबाट ४५ जना दलित महिलाहरुको सहभागीता रहेको छ ।
तालिम उद्घाटन कार्मक्रममा मनहरी वडा नम्बर ५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारी, वडा नम्बर ६ का वडासदस्य राममाया नगरकोटी लगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटाैडामा ३ दिने याेग विज्ञान शिविर हुने भएकाे छ । पतन्जली महिला याेग समिति मकवानपुरकाे आयाेजनामा जेठ २१, २२ र २३ गते शिविर हुने भएकाे हाे ।
हेटाैडा उपमहानगरपालिका ४ नं वडा कार्यालय र पतंजलि योग समिति मकवानपुरको सहयाेगमा राेयल पार्टि प्यालेसमा नि:शुल्क योग विज्ञान शिविरकाे तयारी सुरु गरिएकाे महिला पतंजलि याेग समिति मकवानपुर अध्यक्ष शशिकला थापाले बताइन् ।
शिविरबारे जानकारी दिन शुक्रबार पत्रकार भेट कार्यक्रम गरिएकाे थियाे । पतन्जलि याेग समिति मकवानपुर जिल्ला अध्यक्ष रामकृष्ण थापा, समितिका महामन्त्रि ऋषि कुमार ढकाल, पतन्जली संगठन मन्त्रि रघु आचार्य, पतन्जली प्रदेश सदस्य ध्रुवप्रसाद पाैडेल, संस्कृत व्याकरण आचार्य शिवप्रसाद रेग्मी , संस्कृत गुरुकुल व्यवस्थापन समितिकाे सदस्य सुर्य प्रसाद नेपाललगायतकाे उपस्थितिमा पत्रकार भेट गरिएकाे हाे ।
योग विज्ञान शिविर विहान ठीक ५ बजेदेखी ७ बजे सम्म दैनिक दुई घण्टाका हुने थापाले बताइन् । शिविरमा महिला पतंजलि याेग समिति केन्द्रीय अध्यक्ष पूज्य साद्वी देवादितिबाट योग प्रशिक्षण दिईने पतन्जलि याेग समिति मकवानपुर जिल्ला अध्यक्ष रामकृष्ण थापाले बताए ।
थप जानकारी भिडियाेमा:
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१९, बस्तिपुरमा भएकाे रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।
टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा बिहीबार भएको रक्तदानमा २ जना महिला र २२ जना पुरुषले रक्तदान गरेका हुन् । विश्व वातावरण दिवसको अवसरमा समन्वय समितिले सप्ताहव्यापी कार्यक्रम गरी मनाउदै छ । कार्यक्रमकाे पहिलाे दिन बिहीबार समितिले रक्तदान कार्यक्रम गरेकाे अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान भएको हो । टोल विकास संस्था नगर समन्वय समितिले बिहीबारदेखि जेठ २३ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ५२ औं विश्व वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाउँदै छ ।
रक्तदान कार्यक्रम नगर समन्वय समितिका अध्यक्ष अधिकारीको अध्यक्षता तथा हेटौंडा –१९ का वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यतामा भंएकाे थियो ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएकाे कार दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ ।
हेटौंडा-भैसे-भीमफेदी- काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा एक बालिका सहित २ जनाको मृत्यु भएको थियाे । उपचारकाे क्रममा थप एक पुरुषकाे समेत मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएको छ ।
काठमाडौबाट हेटौडातर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपरान्ह अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइतेकाेमा ३ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते मध्ये मृत्यु भएकामा ३/४ महिनाकी शिशु र २ जना पुरुष रहेकाे प्रहरीले जनाएकाे छ ।
घटनास्थलबाट इलाका प्रहरी कार्यालय भिमफेदीको टोलीले घाईतेको उद्धारगरी उपचारका लागि हेटौंडा ल्याइएकाे थियो । प्रहरीका अनुसार घाइते २ जना महिलाकाे हेटौडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। घाईते र मृतकको पहिचान भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ ।