मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको छ ।
विश्व बुबा आमा दिवसको अवसरमा शनिबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दिवा सेवा केन्द्रको उद्घाटन गरिन । हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको आयोजना भएको कार्यक्रममा एवम् जलेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको सहयोगमा सेवा केन्द्रको शुभारम्भ गरिएको हो ।
सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दिवा सेवा केन्द्रको उद्घाटन गर्दै ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र भेटघाट गर्ने र सुखदुःख साटासाट गर्ने थलो बन्नेमा विश्वास व्यक्त गरिन् । उनले बागमती प्रदेश सरकारले नीतिगत रूपमै ज्येष्ठ नागरिकका लागि सहयोग गर्न प्रतिवद्धरहेको बताउँदै दिवा सेवा केन्द्रका लागि स्वयम् सेवकको पनि व्यवस्था गरिरहेको जानकारी दिइन् ।
हेटौंडा उपमहानगरपालिका उप प्रमुख राजेश कुमार बनियाले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान, सीप युवा पुस्ताले ग्रहण गर्नुपर्ने बताए । ‘ जेष्ठ नागरिकमा अनुभव, ज्ञान सीप युवा पुस्ताले ग्रहण गर्नु पर्ने बताए । अनुभवकाे खानी भएका जेष्ठ नागरिकसाऊ बाेल्ने कुराकानी गर्ने तथा अनुभव ग्रहण गर्ने अहिलेकाे पुस्तामा रभाव रहेकाे छ’ उनले भने ‘सञ्चालनमा आएको दिवा सेवा केन्द्रले सबै ज्येष्ठ नागरिक भेटघाट गर्ने, भजन कीर्तन, नाचगान गर्ने थलो हुने विश्वास छ ।’
यसैगरी ज्येष्ठ नागरिक परिवारका संरक्षक र समाजका पथप्रदर्शक भएकाे हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक विष्णुकुमारी लामिछानेले बताइन् । ‘ज्येष्ठ नागरिक लामो जीवन भोगाइका अनुभवले खारिएले ज्ञान, सीपलाई सम्मान गर्न सक्नु पर्छ’ उनले भनिन् सूचना र प्रविधिको विकासले समाजमा परम्परागत ज्ञान, सीप, धारणा र कला ओझेलमा पर्दै गएको छ ।’ पारिवारिक वातावरणमा मात्र समय व्यतीत गर्न कठिनाइ भएकाले ज्येष्ठ नागरिकका लागि दिनभर भलाकुसारी तथा विविध कार्य गर्न ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको महत्व रहने उनले बताइन् । हेटौंडा उपमहानगरभित्र पहिलो पटक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको हो ।

दिवा सेवा केन्द्र उद्घाटनसंगै ज्येष्ठ नागरिक सम्मान तथा निमोनिया विरुद्धको खोप लगाइएको छ । दुईसय जना जेष्ठ नागरिकलाई थर्मस वितरण समेत गरिएको थियो । १०६ वर्षदेखि ८४ वर्ष उमेरका ५४ जना ज्येष्ठ नागरिकलाई पहिलो चरणमा निमोनिया विरुद्धको खोप लगाइएको हेटौंडा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जनले जानकारी दिए । ‘पहिलो चरणमा सबै ज्येष्ठ नागरिकलाई खोप लगाउन सम्भावना रहेन, आगामी वर्षबाट कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाइने छ’ वडा अध्यक्ष महर्जनले भने । ज्येष्ठ नागरिकको स्वास्थ परीक्षणसमेत गरिएको कार्यक्रममा सुगर, प्रेसर र अन्य स्वास्थ्य अवस्थाको जानकारी लिएर मात्रै खोप लगाइएको थियो ।
अहिले हेटौंडा उपमहानगरपालिका २ नम्बरमा ६ सय १३ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको वडा सचिव रामप्रसाद गुरागाईले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता २ नम्बर वडाबाट प्राप्त गरिरहेका तथा २ नम्बर वडामा स्थायी बसोबास गरिरहेकाे ज्येष्ठ नागरिकलाई खाेप लगाइएकाे उनले जानकारी दिए । जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले ६० वर्ष पूरा भएकालाई ज्येष्ठ नागरिकको परिभाषामा समेटेको छ । अन्य व्यबस्था बाहेक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न भने ६८ वर्ष पूरा भएको हुनु पर्ने ब्यबस्था सामाजिक सुरक्षा ऎनले गरेको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुर अध्यक्ष हरि प्रसाद सिग्देल, ज्येष्ठ नागरिक समाज मकवानपुर अध्यक्ष केदार न्यौपाने, जलेश्वर महादेव क्षेत्र विकास समिति अध्यक्ष मुरारी सुवेदी, वनस्खण्डी देवी सामुदायिक वन समिति अध्यक्ष भवसागर श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्यहरु इन्द्रप्रसाद रिजाल, मैयाँ परियार, सुरज बर्तौला टाेल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्य स्वयम्सेवीका लगायतको सहभागिता रहेको थियो ।

