मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ मकवानपुरको १० औ जिल्ला अधिवेशन भोलि २८ भदौबाट सुरु हुदैछ । दुई दिनसम्म चल्ने अधिवेशन राष्ट्रिय युवा संघ केन्द्रिय अध्यक्ष क्षितिज थेबेले उद्घाटन गर्नेछन् ।
हेटौडा १३ पदमपोखरीमा हुने अधिवेशनको सम्पूर्ण तयारी सकिएको बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको थियो । अधिवेशनमा जिल्ला भरबाट २५० प्रतिनिधिले भाग लिने आयोजक कमिटी संयोजक राजेश नगरकोटीले बताए । अधिवेशनले आगामी २ बर्षको लागि ६ पदाधिकारी सहित ७५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।
अबको संगठनको नेतृत्व गर्नको लागि आफू तयार रहेको अध्यक्षका आकांक्षी समेत रहेका आयोजक कमिटी संयोजक नगरकोटीले बताए । आफूलाई संगठनको जिम्मेवारी प्राप्त भएको अवस्थामा हरघरमा युवा संघको सदस्य बन्ने वातावरण बनाउने उनले बताए । जिल्लाको विभिन्न स्थानीय तहबाट प्रतिनिधिको रुपमा आएकाहरूलाई सहजताको लागि आयोजकले पदमपोखरीदेखि हेटौंडासम्म निशुल्क बस सेवा उपलब्ध गराएको नगरकोटीले बताए ।
केन्द्रिय अध्यक्ष थेबेलाई युवा संघले पदमपोखरी गुम्बाचोकमा पहिलो स्वागत गर्नेछ । त्यसपछि झाँकीसहितको मोटरसाइकल र्यालीले बजार प्रवेश गराउदै कार्यक्रम स्थल लगिने तयारी भएको छ । “यसको लागि हेटौंडा १२, १३,१४ का संगठन तथा पार्टी नेतृत्वले व्यवस्थापन गर्नेछ” नगरकोटीले भने । उद्घाटन कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने बताइएकोछ ।
पत्रकार भेटमा पार्टी प्रचार बिभाग प्रमुख उज्वल चौलागाईं, पार्टी उपसचिव आरति पाठक, प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
हेटौंडा ४ वालमैत्री वडा घोषणा हुने
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै बालमैत्री वडा घोषणाको तयारी पूरा भएको जानकारी दिएको छ । वडा सदस्य गिता त्रिपाठीले वडालाई २८ भाद्रमा वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने जानकारी दिईन ।
उक्त कार्यक्रममा तेस्रो बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम समेत गरिने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको लागि तोकिएका ५१ वटा सूचकहरु मध्ये वडाले ४९ वटा सूचकमा १०० प्रतिशत, २ वटा सूचक ९५ प्रतिशत, नतिजा हासिल गरिएको वडाले जनाएको छ ।
पत्रकार सम्मेलनमा ४ नम्बर वडामा समुदायस्तरमा ११, विद्यालयस्तरमा ८ र वडामा १ गरी २० बाल समूह सञ्जाल रहेकोमा जसमा ४ सय ७५ जना बालवालिकाहरु आवद्ध रहेको जानकारी दिइएको छ। वडामा बालबालिकाको संख्या ४ हजार २ सय ७० रहेको छ । जसमा २ हजार २ सय ५१ बालक र २ हजार १९ बालिका रहेका छन् । वडामा सामुदायिक र संस्थागत गरी जम्मा ८ वटा विद्यालयहरु सञ्चालनमा छन् भने अटीज्म भएका बालबालिकाको सिकाईका लागि सेन्टर फरअटिजम संस्था समेत रहेको सिग्देलले जानकारी दिए ।
बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ हुन लागेको घोषणा कार्यक्रमको दिन हुप्रचौरमा जम्मा भई करीब ७ हजार जनाको संख्यामा झाँकी र बाजागाजा सहितको र्याली निकाली वडा परिक्रमा गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
कार्यक्रममा उत्कृष्ट र्याली प्रदर्शन गर्ने ३ वटा टोलीलाई पुरस्कार प्रदान गरिने, वडाभित्रका प्रत्येक विद्यालयबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसँग सम्बन्धित सामाग्रीको स्टल राखिने आयोजकले जनाएको छ ।
यस्तै प्रत्येक विधामा उत्कृष्ट प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीको समूह र उक्त विधासँग सम्बन्धित विषय शिक्षकलाई पुरस्कृत गर्ने बताइएको छ । करिब १५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रममा करिब आठ लाख खर्च हुने आयोजकको अनुमान छ ।
यस अघि हेटौंडाको ८, २, ७,१७ र १० नम्बर वडा बालमैत्री वडा घोषणा भइसकेका छन् ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा अवैध तवरले नदीजन्य पदार्थ (ढुंगा) ओसारपसार रोक्न राष्ट्रिय युवा संघ नेपाल मकवानपुर गढी कमिटीले ध्यानाकर्षण गराएको छ ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र प्रमुख प्रशासकीय अधिकृत नवीन गङतान लामालाई युवा संघले ढुंगाको अवैध निकासी रोक्न ध्यानाकर्षण गराएको हो । मकवानपुरगढी गाउँपालिकाको ७ नम्बर वडास्थित सुकौराबाट कर छलेर ढुंगा बाहिर निकासी भइरहेकोको विषयमा गाउँपालिकादेखि प्रशासनसम्मको मौनता देखिनु र दोषिलाई कारबाहीको दायरामा ल्याउन नसक्नुले कानुनी राज्यको उपहास भएको युवा संघ गढी अध्यक्ष विष्णु सिलवालले बताए ।
युवा संघले प्राकृतिक स्रोतको स्टक प्रमाणित नगरी गैरकानुनी तवरले चोरी निकासी भएकोप्रति व्यवास्था गरिनुले राजश्व अपचलन भएको आशंका गरेको छ । २०८१ श्रावण यता मात्र कान्तिलोकपथ सडक निर्माणका लागि भन्दै टिपरमा एक हजार टिप भन्दा बढी निकासी भएको युवा संघको आरोप छ । उक्त घटनाको सत्यतथ्य छानबिन गरी राजश्व जम्मा हुनुपर्ने माग राखिएको अध्यक्ष सिलवालले बताए ।
यसअघि गतवर्ष २०८०/८१ को अन्तिममा सामरी खोलाअन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ कालिवन, गढी–४ घट्टेदमार, गढी–६ ठुलोबेसी र गढी–२ कुर्लेदमार लगायतका क्षेत्रमा माछापालनको नाममा उत्खन्न् गरिएको कच्चा पदार्थको हिसावकिताब सार्वजनिक नभएकोप्रति पनि युवा संघले गाउँपालिका कार्यालयको ध्यानाकर्षण गराएको छ । उक्त कच्चा पदार्थको राजश्व (आम्दानी) तत्काल सार्वजनिक गरिनुपर्ने सिलवालले बताए ।
प्राकृतिक स्रोत तथा अन्य क्षेत्रको राजश्व संकलन बोलपत्रको माध्यमबाट संकलनको माग राख्दै संघले अमानतबाट नदीजन्य पदार्थ संकलन गर्दा हुने आर्थिक अपचलनलाई पूर्ण रुपमा निरुत्साहित गरिनुपर्ने माग राखेको छ । प्राकृतिक स्रोतसाधनको बिक्रीका नाममा जग्गाको मुल्यांकन तथा सबै खाले क्षेत्रमा भएको राजश्व बृद्धिले जनतामा ठुलो आर्थिक भार थपिएको संघको धारणा छ । करको दरलाई घटाएर जनतालाई सर्वसुलभ सेवा प्रवाह गरिनुपर्ने माग राखिएको उनले जानकारी दिए ।
संघले हालसम्म आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक नगरेकोले तुरुन्त सार्वजनिक गर्न गाउँपालिकासँग माग गरेको छ । युवा संघले उठाएको माग सम्बोधनका लागि ७ दिनको अल्टिमेटम दिएको सिलवालले बताए । माग सम्बोधन नभए गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नुपर्ने बाध्यता सिर्जना नगर्न ध्यानाकर्षण गराइएको उनले बताए ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष स्याङ्तानले युवा संघले उठाएका विषय र आफ्नो चिन्ता र चासो साझा रहेको प्रतिक्रिया दिए । उनले नदीजन्य पदार्थको अवैध ओसारपसार र चोरी निकासी नियन्त्रण गरेरै छाड्ने बताउँदै यसअघि प्रयास गर्दा धम्कीको सामना गर्नुपरेको बताए । नदीजन्य पदार्थको अवैध ओसारपसारमा एउटा ठूलै माफिया सक्रिय रहेको उनले बताए । ‘तपाईहरुको चिन्ता र चासोलाई सम्बोधन हुने गरी म काम गर्छु । जस्तोसुकै परिस्थति आएता पनि यसको नियन्त्रण गरेरै छाड्छु’ उनले भने ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलबार भएको खेलमा हरिवन भेट्रान्स सर्लाही र निजगढ भेट्रान्सले विजयी सुरुवात गरेका छन् ।
रोटरी क्लव अफ मकवानपुरको आयोजनामा भएकाे प्रतियोगिताकाे मङ्गलबार भएको पहिलो खेलमा घरेलु टिम हेटौंडा भेट्रान्सलाई ४–० को गोल अन्तरले पराजित गर्दै हरिवन भेट्रान्सले विजयी भएकाे छ । यसैगरी मंगबारकै दोस्रो खेलमा आयोजक रोटरी पिप्ले भेट्रान्सलाई ट्राइबेकरमा ३–१ को गोल अन्तरले पराजित गर्दै निजगढ भेट्रान्सले विजयी शुरुवात गरेको छ । निर्धारित समय गोलरहित भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो ।
प्रतियोगिता अन्तर्गत बुधबार युनिटी भेट्रान्स विरगंज र फ्रिडम फाईटर भेट्रान्स काठमाडौंबीच खेल हुने आयोजकले जनाएकाे छ । यसैगरी बुधबार नै अभिषेक चर्च भेट्रान्स नवलपुर र सिमरा भेट्रान्स बाराबीच प्रतिष्पर्धा हुनेछ । यस अघि साेमबारकाे उद्घाटन खेलमा चितवन भेट्रान्सले विजय सुरुवात गरेकाे छ । प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडाको नागस्वती भेट्रान्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउादै साविक विजेता चितवन विजयी भएको हो ।
भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको १५ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी सर्वोत्कृष्ट प्रशिक्षकले १० हजार, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, सर्वोत्कृष्ट डिफेन्स सर्वोत्कृष्ट मिडफिल्डर तथा सर्वोत्कृष्ट फरवार्डले जनही ५/५ हजार रुपैंया प्राप्त गर्ने छन् ।
आयोजकका अनुसार सामाजिक एवम् मानवीय सहयोगको साथसाथै खेलकुदमा पनि रोटरी भन्ने नारालाई आत्मसाथ गर्दै रोटरी क्लव अफ मकवानपुरले आठ वर्षपछि जलन प्राथमिक उपचार केन्द्र निर्माणलाई सहयोगकाे लागि प्रतियोगीता आयोजना गरेकाे हाे ।
प्रतियोगीताका लागि करिब १६ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजककाे छ । रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएकाे थियाे । हेटौडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकास्थित बकैया खोलाले बगाएर बेपत्ता भएका एक जना मंगलबार मृत अवस्थामा फेला परेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा मंगलबार खोलाकाे किनारमा शव फेला परेको हाे। बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आएका रौतहट चन्द्रपुर–२ जुडिबेलाका माझी २१ भदौमा बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले माझीकाे शव प्रादेशिक अस्पताल कलैया बारा पठाइएकोमा पोष्टमार्टम पछि आफन्तकाे जिम्मा लगाइएकाे मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।