मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ मकवानपुरको १० औ जिल्ला अधिवेशन भोलि २८ भदौबाट सुरु हुदैछ । दुई दिनसम्म चल्ने अधिवेशन राष्ट्रिय युवा संघ केन्द्रिय अध्यक्ष क्षितिज थेबेले उद्घाटन गर्नेछन् ।
हेटौडा १३ पदमपोखरीमा हुने अधिवेशनको सम्पूर्ण तयारी सकिएको बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको थियो । अधिवेशनमा जिल्ला भरबाट २५० प्रतिनिधिले भाग लिने आयोजक कमिटी संयोजक राजेश नगरकोटीले बताए । अधिवेशनले आगामी २ बर्षको लागि ६ पदाधिकारी सहित ७५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।
अबको संगठनको नेतृत्व गर्नको लागि आफू तयार रहेको अध्यक्षका आकांक्षी समेत रहेका आयोजक कमिटी संयोजक नगरकोटीले बताए । आफूलाई संगठनको जिम्मेवारी प्राप्त भएको अवस्थामा हरघरमा युवा संघको सदस्य बन्ने वातावरण बनाउने उनले बताए । जिल्लाको विभिन्न स्थानीय तहबाट प्रतिनिधिको रुपमा आएकाहरूलाई सहजताको लागि आयोजकले पदमपोखरीदेखि हेटौंडासम्म निशुल्क बस सेवा उपलब्ध गराएको नगरकोटीले बताए ।
केन्द्रिय अध्यक्ष थेबेलाई युवा संघले पदमपोखरी गुम्बाचोकमा पहिलो स्वागत गर्नेछ । त्यसपछि झाँकीसहितको मोटरसाइकल र्यालीले बजार प्रवेश गराउदै कार्यक्रम स्थल लगिने तयारी भएको छ । “यसको लागि हेटौंडा १२, १३,१४ का संगठन तथा पार्टी नेतृत्वले व्यवस्थापन गर्नेछ” नगरकोटीले भने । उद्घाटन कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने बताइएकोछ ।
पत्रकार भेटमा पार्टी प्रचार बिभाग प्रमुख उज्वल चौलागाईं, पार्टी उपसचिव आरति पाठक, प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

