मकवानपुर । हेटौंडा–७ स्थित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको व्यवस्थापनमा आफूले सहयाेग गर्ने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले बताएका छन् ।
शारीरिक अशक्त बालबालिकाहरुको लागि सरकारले गर्नुपर्ने दायित्व आशा विशेष पाठशालाले निर्वाह गरेको बताउँदै मन्त्री काफ्लेले आगामी दिनमा आफूले नीतिगत रुपमै सहयाेग गर्ने बताए । विहीबार भवन समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले अशक्त बालबालिकाहरुको क्षेत्रमा आशा विशेष पाठशालाले गरेको कामको प्रसंशा गरे ।
आउँदो दिनहरुमा प्रदेश सरकारले नीतिमा आधारित बजेट छुट्टयाउने प्रतिबद्घता समेत उनले प्रकट गरे । ‘कस्तो विडम्बना छ, एकातिर नेपाली युवाहरुको विदेशिने लहर छ । अर्कोतिर विदेशी चेलीले हाम्रो देशमा आएर समाज सुधार अभियान चलाईरहेकी छन्’, मन्त्री काफ्लेले भने, ‘अब हाम्रो देश बनाउनेतर्फ सरकारसँगै युवाहरुले पनि हातेमालो गर्न जरुरी छ ।’
हाल आशा फाउण्डेशनले हेटौंडासँगै ललितपुरको सानेपामा आशा विशेष पूर्व व्यवसायिक शिक्षा तथा सिपमुलक तालिम केन्द्र सञ्चालन गरी १८ वर्ष माथिका शारीरिक तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ ।
जन्मजात बौद्धिक अपाङ्ग भएका बालबालिकाको संरक्षण, हेरचाह, शिक्षालगायतको काम गदै आएको आशा विद्यालयलाई बागमती प्रदेश सरकार र आर्थिक मामिला मन्त्री काफ्लेको प्रतिबद्घता अनुसार आवश्यक सहयोग प्राप्त हुने कुरामा आफूहरु विश्वस्त रहेको आशा विशेष पाठशालाका अध्यक्ष बालकृष्ण चौलागाईंले बताए ।
कसरी स्थापना भयाे पाठशाला ?
आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको सञ्चालक संस्था सि आशा फाउन्डेशनकी संरक्षक आइना बार्का पढाइको सिलसिलामा पहिलो पटक सन् २०१२ मा नेपाल आएकी थिइन् । युनिभर्सिटी अफ बार्सिलोनामा ‘सोसल वर्क’ पढिरहेकी आइना त्यतिबेला २१ रहेकी उनी बताउँछिन् ।
आफ्नो देशमा पनि बौद्धिक अपाङ्गता भएकाहरूसँग काम गरिरहेकी आइना यस्तै व्यक्तिबारे थप जानकारी लिने उद्देश्यले नेपाल आएकी बताइन् । तर, पहिलोपटक नेपाल भ्रमण गरेपछि उनको जीवन नै परिवर्तन भएको आइनाको भनाइ छ । उनी भन्छिन, ‘पहिलो पटक म हेटौँडा आउँदा अशक्त बालबालिकाको लागि पढ्ने विद्यालय नै थिएन । हेटौंडामा भन्दा पनि, पूरै मकवानपुर जिल्लामै विद्यालय नभएको कारणले बालबालिकाहरू सधैँ घरमा बस्थे । उनीहरूको काम सुत्ने र खाने मात्रै थियो ।’
त्यस लगतै उनी स्पेन फर्किन । स्पेन फर्केको १५ दिनपछि नै नेपाल फर्कन्छु भनेर उनले सोच बनाइन् । तर, आइनालाई नेपाल फिर्ता हुन आठ महिना लाग्यो । त्यस अवधिभर उनले स्पेनमा दर्ता गरेको संस्थामार्फत् पैसा सङ्कलन गर्न थालिन् । उनले रकम संकलनको क्रममा स्पेनका अधिकांशलाई नेपाल कहाँ हो भन्ने पनि थाहा नभएकोले पैसा जुटाउन निकै असहज भएको आफ्नो त्यो अनुभव सुनाइन् ।
यसरी सङ्कलन भएको पैसा बोकेर उनी नेपाल फर्किइन् । एउटा सुन्दर संसार बनाउनका लागि अशक्त बालबालिकाहरुको क्षेत्रमा आफ्नो पनि केही योगदान होस् भन्ने चाहना बोकेर आइना सुरुमै हेटौँडा आइन् ।
सन् २०१३ को डिसेम्बरमा आइनाले हेटौँडामा आशा विशेष पाठशाला खोलिन् । यो स्थापना गर्दाको सुरुवाती समय स्मरण गर्दै उनले त्यसबेला आफू विदेशी र एक्ली महिला भएकै कारण भेदभाव सहनुपरेको बताइन् । तर, करिब २ दुई महिनाको निरन्तर संघर्ष पश्चात् अन्ततः उनी सफल भइन् ।

