मकवानपुर । कर्मचारी संचयकाेषकाे वार्षिकोत्सवमा शाखा कार्यालय हेटौंडाले बिहीबार निःशुल्क स्वास्थ्य शिविर गरेकाे छ । काेषकाे ६३औँ वार्षिकोत्सवकाे उपलक्ष्यमा काेषका सञ्चयकर्ता लगायतकाे लागि स्वास्थ्य शिविर आयोजना गरिएकाे ।
कर्मचारी मिलन केन्द्र मकवानपुरकाे समन्वय र सीएमसी चुरेहिल हस्पिटलकाे प्राविधिक सहयाेगमा भएकाे शिविरकाे मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले उद्घाटन गरे । शिविरको उदघाटन गर्दै श्रेष्ठले निःशुल्क स्वास्थ्य शिविरले स्वास्थ्य अवस्थालाई परोक्ष रूपमा जाँच गरी स्वस्थ राख्न मद्दत पुर्याउने बताए । ‘कोषको यस प्रकारको पहलले कर्मचारीहरूको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको छ’ उनले भने ‘स्वास्थ्य जाँच कार्यक्रमले कर्मचारीहरूको शारीरिक र मानसिक स्वास्थ्यको महत्त्वलाई उजागर गरेको छ, जसले स्वस्थ्य कमर्चारीले, स्वस्थ्य बाताबरणमा सेवा प्रवाह गर्न सक्षम हुनेछन् ।’
संचय कोष हेटौंडा शाखा प्रमुख डा. दिलिपराज पौडेलले कर्मचारी सञ्चय कोषले विगत ६२ वर्षदेखि देशको समृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । संस्था आजसम्म आइपुग्दा लाखौँ कर्मचारीहरूको भविष्य सुरक्षित गर्न सफल भएको भन्दै सञ्चयकर्ताहरूलाई आर्थिक सुरक्षा र सामाजिक सुरक्षामा पनि काम गरेका जानकारी दिए । ‘एक स्वस्थ कर्मचारी नै सक्षम कर्मचारी हो, र सक्षम कर्मचारीले नै आफ्नो काममा उत्कृष्टता देखाउन सक्छ ’ उनले भने ‘निःशुल्क स्वास्थ्य शिविरले कोषको सञ्चयकर्ताहरूलाई अझ स्वस्थ र सक्षम बनाउने उद्देश्य पूरा गरेको छ ।’

शाखा कायर्लय हेटैडाकी उप प्रबन्धक निमा डोमा शेर्पाले स्वास्थ्य शिविरमा सञ्चयकर्ताहरूले आफ्नो स्वास्थ्य जाँच गराउँदै निःशुल्क परामर्श, र अन्य स्वास्थ्यसम्बन्धी सेवाहरू प्राप्त गरेकाकाे बताए । कर्मचारी मिलन केन्द्रकी कार्यबाहक आध्यक्ष शान्ति बिकले निःशुल्क स्वस्थ्य शिविरले कर्मचारीलाई आफ्नो स्वास्थ्यमा सम्बेदनशिल हुन् र आफ्नो स्वास्थ्य प्रति सदैब सचेत रहन प्रेरित गर्ने बताइन् ।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन सेवा, प्रेशर, सुगर, दम, रुघा, खाेकी, पेट, छाति, मुटु, उपचार तथा परामर्श सेवा निःशुल्क जाँच गरिएकाे कर्मचारी संचयकाेष हेटौडा शाखा प्रमुख डा. दिलिपराज पौडेलले जानकारी दिए । शाखा कार्यालय परिसरमा भएकाे स्वास्थ्य जाँच सीएमसी चुरे हस्पिटलका डाक्टर तथा नर्सलगायतकाे प्राविधिक टोलीले सेवा दिएका हुन् । शिविरमा सामान्य किसिमका रोगकाे औषधी दिइएकाे थियाे भने जटिल रोगकाे लागि हस्पिटल रिफर गरिएकाे छ । शिविरबाट रिफर भएका विरामीकाे लागि अस्पतालले छुट सहितकाे सेवा उपलब्ध गराउने बताइएकाे छ ।
चितवन मेडिकल कलेज (सीएमसी) सञ्चयकाेषकाे स्वास्थ्य उपचार योजना अन्तर्गत सुचिकृत अस्पताल समेत हाे । काेषकाे कार्यालयले ‘सुरक्षित भविश्यकाे लागि निवृत्तभरण तथा सञ्चय काेष’ भन्ने नाराका साथ ३१ भदौमा वार्षिकोत्सव मनाउँदै छ । हेटौंडा शाखाले उक्त दिन प्रभातफेरी कार्यक्रम गरी दिउँसो वार्षिकोत्सव मनाउने शाखा प्रमुख पौडेलले बताए । काेषकाे हेटौंडा कार्यालयले मधेस प्रदेशका धनुषा, महाेत्तरी, बारा र पर्सा तथा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुलीका सञ्चयकर्तालाई सेवा उपलब्ध गराउँदै आएकाे छ ।

