मकवानपुर । हेटाैंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित वनदेवी आधारभूत विद्यालयमा निबन्ध प्रतियाेगिता भएकाे छ । आधारभूत तहकाे विद्यार्थीहरु बीच ‘कोरोनाले शिक्षामा पारेको प्रभाव’ विषयमा निबन्ध प्रतियाेगिता भएकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वनदेवी आधारभूत विद्यालयको आयोजनामा निवन्ध प्रतियाेगिता साेमबार भएकाे हाे । उपमहानगरपालिकाका ७, ८, १४ र १५ नम्बर वडाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थी बीच ‘कोरोनाले शिक्षामा पारेको प्रभाव’ विषयक स्थलगत निबन्ध प्रतियोगिता भएकाे विद्यालयका प्रधानाध्यापक जयप्रसाद पाेखरेलले बताए ।
४ वडाका १६ वटा विद्यालयका विद्यार्थी सहभागी भएका प्रतियाेगितामा तासिर इङ्लिस बोर्डिङ स्कुलकी सिमोन भट्टराई प्रथम, वनदेवी आभारभूत विद्यालयकी उर्जना घले द्वितीय, नवज्योति माध्यमिक विद्यालयकी प्रमिला थिङ तृतीय भएका थिए । यसैगरी माउन्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलकी नितिशा बराल र चन्द्रोदय माध्यमिक विद्यालयकी विशाका देउला सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियाेगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका सफल विद्यार्थीहरूले क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
निवृत्त शिक्षक ध्रुबकुमार भुजेल , शिक्षकहरू ज्योती न्यौपाने र अनु रोक्का निर्णायक रहेकाे प्रतियोगिता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमिरेको अध्यक्षता तथा हेटाैडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यतामा भएकाे हाे ।
प्रतियाेगितामा हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्तन, शिक्षक महासंघ मकवानपुरका जिल्ला अध्यक्ष जिधराज ढकाल, १५ नं. वडा प्रतिनिधि मेनु विश्वकर्माको उपस्थिति रहेको थियाे ।
मकवानपुर । राज्यको लगानी रहेको सामुदायिक विद्यालयहरुले अग्रेजी माध्यमको पढाइ गरेको नाममा शुल्क उठाएको प्रति विद्यार्थी संगठनले ध्यानाकर्षण गराएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राख्दै हेटौंडा उपमहानगरपालिका नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । नगरभित्रको शिक्ष क्षेत्रको बेथितीलाई स्थानीय सरकारकाले नियन्त्रण गर्नुपर्ने भन्दै संगठनले उपमेयर राजेश बानियाँलाई ज्ञापन पत्र बुझाएको हो ।
हेटौंडा उपमहानगरपालिका भित्र शिक्षा क्षेत्रमा देखिएका गम्भीर समस्याप्रति ध्यानाकर्षण जनाउँदै युनियनले ज्ञापन पत्र बुझाएको अध्यक्ष विशाल पौडेलले बताए ।
हेटौडा उपमहानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजा बापत १५ रुपियाँ मात्र उपलब्ध हुने भनिएकोमा मुल्य बृद्धिलाई ध्यानमा राखि कम्तिमा २५ रुपियाँ कायम गर्न माग गरिएको छ ।
उपमहानगर भित्रका निजी शैक्षिक संस्थाहरुले शैक्षिक वर्ष २०७९ को लागि गरिएको चर्को शुल्क वृद्धि प्रस्ताव अवैज्ञानिक र
समयसापेक्ष नरहेको भन्दै निजि विद्यालयहरु सेवाभन्दा नाफामुखि भएको प्रति शुल्क वृद्धि प्रस्ताव पुन नयाँ ढगंबाट गराउनका लागि संगठन माग गरेको छ ।
संगठनले उपमहानगर भित्रका निजी शैक्षिक संस्थाहरुको वर्गीकरण आवश्यक भएको ठम्याउँदै पटक पटकको आग्रहलाई बेवास्ता मनन गर्न खबरदारी समेत गरेको अध्यक्ष विशाल पौडेलले बताए ।
यसैगरी निशुल्क विधुत वितरण गर्न सक्ने उपमहनगरले सामुदायिक शिक्षा निशुल्क गर्न नसक्ने कुरा व्यवहारीक भएको ज्ञापन पत्रमा उल्लेख छ ।
सामुदायिक विद्यालयलाई कारबाहीको दायरामा ल्याई यथाशिघ्र शुल्क लिने परिपाटीको अन्त्य गर्न माग गरिएको छ । निजी शैक्षिक संस्थाहरुले कमिसनको चक्करमा वर्षे पिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने गरेको अध्यक्ष पौडेलले बताए ।
संगठनले पाठ्यपुस्तक अपडेटेड वा अपग्रेडेड भएमा मात्र परिवर्तन गर्न माग गरेको छ । निजी शैक्षिक संस्थाका विद्यार्थीहरुको कलिला काधमा गरुङ्गो भारी बोकाउने गरेको र यसको अन्त्यको लागि उपमहानगरले पहल गर्नुपर्ने माग समेत संगठनले गरेको छ ।

मकवानपुर । हेटाैडा उपमहनागरपालिका वडा नम्बर १६ मा रहेकाे जनप्रिय माविमा हाजिरी जवाफ प्रतियाेगिता भएकाे छ । मकवानपुर जिल्ला कै पहिलाे नमूना विद्यालय जनप्रियमा उपमहानगरपालिकाका पूर्वी क्षेत्रका विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता साेमबार भएकाे हाे ।
उपमहानगरपालिकाका ५ विद्यालयहरुमा केन्द्र निर्धारण गरी एकैदिन सम्पन्न भएको कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालयका तर्फबाट शिक्षक रविन श्रेष्ठले संयोजकत्व गरेका थिए । हाजिरी जवाफ प्रतियाेगितामा जनप्रिय मावि केन्द्र रही पूर्वी क्षेत्रबाट सहभागी भएका १२ वटा विद्यालयमध्ये लक्ष्मी आधारभूत विद्यालय, बंशगोपाल मावि र बालबोध मावि क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
आयोजक विद्यालयका तर्फबाट शिक्षकहरु भुपेन्द्र चौलागाई, संप्रस पौडेल र अभिषेक बास्तोला लगायतको कार्यक्रम व्यवस्थापनमा सहयोग गरेका थिए । शिक्षा विकास महाशाखा हेटौंडाका शिक्षा अधिकृत रामचन्द्र खड्काको प्रमुख आतिथ्यता तथा जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
मकवानपुर । सिद्धार्थ माद्यामिक बिद्यालय हेटौंडाले आफ्नो क्षेत्र भित्र निर्वाचित भएर आएका जनप्रतिनिधिहरूलाई सम्मान कार्यक्रम गरेको छ ।
बिद्यालय व्यवस्थापन समिति, पीटीए, शिक्षकहरूको उपस्थितिमा आज बधाई तथा शुभकामना कार्यक्रम गरिएको हो । कार्यक्रममा जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा बिद्यालयको भौतिक तथा शैक्षिक स्तरोन्नतिको लागि आफूहरू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेश सरकारद्वारा बृहत बिद्यालय परियोजनामा समेटिएको सिद्धार्थ माबिलाई प्रदेशभरकै उत्कृष्ट बिद्यालय बनाउन आफ्नो तर्फबाट हुने कुनै पनि कदम बाँकी नराख्ने हेटौंडा १ का वडा अध्यक्ष तथा हेउमनपाका प्रवक्ता सबिन न्यौपानेले बताए ।
हेटौंडा १ चौकिटोलको ज्योति र हेटौंडा २ को बनस्खण्डी स्थित श्रीदेवी बिद्यालयलाई सिद्धार्थमा मर्ज गरेपछि हाल यो बिद्यालयमा २ हजार ३ सय भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । शिक्षा, वन बिज्ञान, कानुनलगायत संकाय पढाई हुंदै आएको छ ।
अंग्रेजी र नेपाली माध्यमको पढाई हुनथालेदेखि विद्यार्थीको चाप बढेको तर कक्षाकोठाको अभावले भर्ना लिन नसकिएको प्राध्यापक मोहन शर्माले बताए ।
बिद्यालयको भौतिक अभावलाई बजेट मार्फत सम्बोधन गर्न आफूहरूले पहल गर्ने,तर पढाईको गुणस्तरमा कुनै सम्झौता नगर्न वडा २ का अध्यक्ष विष्णुगोपाल महर्जनले आग्रह गरे ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम घिमिरेले बिद्यालय वरपर हुने कुलतजन्य गतिविधि नियन्त्रणमा समेत स्थानीय सरकारसंग सहयोगको अपेक्षा राखेको बताए । कार्यक्रम वडा १ र २ बाट बिजय भएका वडा अध्यक्षहरू सहित वडा सदस्यलाई सम्मान गरिएको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा निर्वाचन अभ्यास गरिएको छ । बिद्यालयको सदन क्याप्टेन तथा उपक्याप्टेनको निर्वाचन अभ्यास शुक्रबार गरिएको हो । मतगणनाको प्रत्यक्ष अपडेट दिइँदै गरिएको निर्वाचनमा देशको आम निर्वाचनको झल्को दिइएको थियो ।
बिद्यालयको निर्वाचनमा चारवटा सदनका छुट्टाछुट्टै निर्वाचन बुथ कायम गरिएको थियो । निर्वाचनबाट चारवटा सदनका ४ हाउस क्याप्टेन तथा ८ जना उपक्याप्टेन चुनिएका छन् ।
जसमध्ये सर्वाधिक १ सय ८ मत प्राप्त गर्ने कक्षा १० की सुरक्षा घिमिरे रातो सदनकी क्याप्टेन चुनिएकी छिन् । यस्तै १ सय ५ मत प्राप्त गरी कक्षा १० का अनुसन्धान चापागाईँ सोही सदनका उपक्याप्टेन चुनिए भने प्राविधिकतर्फबाट आमोस राई निलो सदनको क्याप्टेन तथा मधुकुमारी ठाकुर सोही सदनकी उपक्याप्टेन चुनिएकी हुन् ।
यसैगरी हरियो सदनतर्फ नेपाली माध्यमबाट अरुण मिश्र क्याप्टेन तथा निरज बलामी उपक्याप्टेन चुनिँदा मिश्रले ६६ र बलामीले १ सय ३ मत प्राप्त गरेका थिए ।
विद्यालय तहबाटै नेतृत्व विकास तथा सामाजिक विषयमा अध्ययन गर्नुपर्ने निर्वाचन तथा संघीय व्यवस्था सम्बन्धी व्यवहारिक ज्ञान हासिल गराउनका लागि निर्वाचनको अभ्यास गरिएको अंग्रेजी माध्यम संयोजक तथा निर्वाचन संयोजक रविन श्रेष्ठले बताए ।
विद्यालयमा नेपाली माध्यम, अंग्रेजी माध्यम र प्राविधिक तहका विद्यार्थीहरूले उत्साहजनक रुपमा प्रत्यक्ष चुनावमा सहभागिता जनाएका थिए । निर्वाचन आयोगबाट गरिने निर्वाचनको झल्को दिनेगरी भएको सदनको निर्वाचनमा विद्यार्थीहरू सकृय रुपमा सहभागी भएका शिक्षक सम्प्रस पौडेलले जानकारी दिए ।
विद्यार्थीहरूले निर्वाचन कानूनमा ब्यबस्था भएका नमूना मतपत्र, चुनाव चिन्ह, प्रचारप्रसार तथा मौन अवधि सबै निर्देशनहरूको पूर्णरुपमा पालना गरेका थिए । साथै उनीहरूले कक्षा कक्षामा गई आफ्नो एजेण्डासहित आफ्नो चिन्हमा मतदानका लागि आह्वान गरेका थिए ।
शिक्षक अभिभावक सघं समिति सदस्य बुद्धप्रसाद दाहाल तथा गोविन्द दुलालले रिबन काटेर उद्घाटन गरेको निर्वाचन कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई शिक्षकहरूले चुनावका लागि सहजिकरण गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गगाधर रिमालले सामुदायिक विद्यालयमा यस्ता निर्वाचन लगायतका क्रियाकलापले विद्यार्थीहरूमा नेतृत्व विकासमा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने र त्यसले अपनत्व बोध गराउने भन्दै निर्वाचित सबैलाई बधाई दिए ।
निर्वाचित विद्यार्थीहरूलाई टिका तथा खादासहित बधाई दिइएको थियो ।
निर्वाचित सदनका पदाधिकारीलाई आइतबार प्रार्थनाक्रममा सपथ खुवाइने कार्यक्रम रहेको छ । कार्यक्रमको आन्तरिक व्यवस्थापन तथा निर्वाचन सम्वन्धी सबै डकुमेन्टको व्यवस्थापकीय पक्ष शिक्षक पौडेलले गरेका थिए।
निर्वाचन कार्यक्रममा सहायक प्रअ रामआशिष मण्डल, कक्षा ११ र१२ संयोजक कल्याणकृष्ण प्याकुरेल, मावि तह संयोजक नीर बहादुर खड्का, रविन श्रेष्ठ, प्राथमिक तह संयोजक केपी अधिकारी, व्यवस्थापन समिति शिक्षक प्रतिनिधि बिष्णुहरी गौतम लगायतको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षता निर्वाचन कार्यक्रम भएको हो ।