नक्कली परीक्षार्थी पक्राउ
Tags: No Comments
मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका १ जना मकवानपुरमा पक्राउ परेका छन् ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा हेटौंडा-४ बस्दै आएका १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिक अर्काको नाममा जारी गरिएको प्रवेश पत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए । उनी सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको बताइएको छ ।
बिकले हेटौंडा -१२ पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी प्रवेश पत्र प्रयोग गरी नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिन आएको प्रहरीले उल्लेख गरेको छ ।
घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका – ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले अन्तराष्ट्रिय गुणस्तर कायम गर्ने भएकाे छ ।
भुटनदेवी मावि र ग्लाेवल क्वालिटी काउन्सिल, नेपालकाे प्रतिनिधिबीच आईतबार अन्तराष्ट्रिय गुणस्तर (आईएसओ) मा जाने सम्झाैतामा हस्ताक्षर भएकाे हाे । भाैतिक र शैक्षिक स्तर सुधारसहितको आईएसओमा हस्ताक्षर विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देल, प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले गरे ।
आगामी २०८३ चैत्र मसान्तभित्र अन्तराष्ट्रिय गुणस्तर प्रमाणिकरण गरिसक्ने लक्ष्य रहेकाे विव्यस अध्यक्ष सिग्देलले जानकारी दिए । उनले भाैतिक संरचनाकाे गुणस्तरीय व्यवस्थापन र शैक्षिक वातावरण अन्तराष्ट्रियस्तरकाे मापदण्ड कायम गरिने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयकाे प्रारम्भिक बस्तुस्थितिकाे परीक्षण र आगामी ३ वर्षे शैक्षिक गुणस्तर ढाँचा तयार गरिएकाे ग्लाेवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्माले जानकारी दिए। शर्माले सामुदायिक विद्यालयमा मकवानपुरकाे पहिलाे अन्तराष्ट्रिय गुणस्तर प्रमाणिकरण भएको विद्यालय भुटनदेवी मावि हुने समेत बताए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ, अनुगमन समितिका सदस्यहरूलाई अन्तराष्ट्रिय गुणस्तर मापदण्ड र सुचकबारे अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएकाे प्रअ सूर्यप्रसाद घिमिरेले जानकारी दिए ।
विभिन्न चरणमा भएकाे छलफल र अन्तरक्रियामा विव्यस अध्यक्ष सिग्देल, प्रअ घिमिरे, ग्लाेवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि शर्मासहितकाे टाेली तथा शिक्षक तथा अभिभावक संघ, नेपालका अध्यक्ष निकेशकृष्ण श्रेष्ठ, विद्यालय अनुगमन समितिका संयाेजक ईन्द्रप्रसाद नेपाल, टाेल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरी लगायत विभिन्न समितिका सदस्यहरूबीचकाे छलफलपछि अन्तराष्ट्रिय गुणस्तर प्रमाणीकरणमा जाने सम्झाैता गरिएकाे सहायक प्रअ तथा विद्यालय आईएसओ वेदराज काेईरालाले बताए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका २ स्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलको पाँच दिवसीय कार्यक्रम भएको छ । माघ २५ गते आइतबारबाट सुरु वृहत शैक्षिक प्रदर्शनी तथा अभिभावक दिवस कार्यक्रम बिहीबार सकिएकाे हाे ।
विभिन्न साँस्कृतिक एवम् शैक्षिक प्रदर्शनीकाे अन्तिम दिन बिहीबार विद्यालयले विभिन्न विषयको प्रदर्शनी तथा लोक संस्कृतिको जगेर्नाका लागि रैथाने खाना, साँस्कृतिक पोशाक लगाएर प्रदर्शनी गरेका थिए । प्रदर्शनका क्रममा विज्ञान विषय अन्तर्गत रहेर कारखानाको प्रदर्शनी गरेका थिए । साथै मौलिक संस्कृतिको रुपमा रहेको रहनसहन, खानाका परिकार प्रस्तुती अन्तर्गत लोकसंस्कृतिको जगेर्नाका लागि प्रस्तुत गरिएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए ।
बिहीबार सबै विषयको प्रयोगात्मक प्रर्दशनी गरिएको थियो । उक्त प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो ।
कक्षाकोठामा सिकेका ज्ञानलाई हौसला प्रदान गरी अगाडि बढाउन प्रदर्शनीको आयोजना गरिएको सुवेदीले बताए । अभिभावक दिवसको पहिलो दिन आइतबार पूर्वप्राथमिक तहका अभिभावक सहितकाे कार्यक्रम भएकाे थियो । सोमबार कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले अभिभावकसहित साँस्कृतिक कार्यक्रम गरेका थिए । मङ्गलबार ४ र ५ कक्षा र बुधबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूको प्रस्तुति रहेकाे थियाे ।
अभिभावक दिवसलाई विद्यालयले वार्षिक रुपमा बृहत साँस्कृतिक तथा शैक्षिक प्रदर्शनीको रूपमा मनाउँदै आएकाे छ । यस वर्षकाे शैक्षिक क्यालेण्डरमा दशैंअघि सञ्चालन हुने गरी ताेकिएकाे कार्यक्रम विविध कारणवश माघ महिनामा गरिएकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुरका ४ हजार ४ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुरमा २५ माघबाट एचपीभी खोप अभियान सुरु हुने भएको हो । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त अभियानमा जिल्लाभरका किशोरीलाई लक्षित गरेर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए।
विद्यालयमा कक्षा ६ मा अध्ययनरत ४ हजार २३० जना, १० वर्ष उमेर समूहका तथा विद्यालय बाहिर रहेका १ सय १६ जना तथा अघिल्लो वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका ५७ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको घिमिरेले जानकारी दिए ।
पहिलो चरणमा २५ माघ देखि १ फागुनसम्म विद्यालय तहको कक्षा ६ मा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप अभियान विद्यालयमै सञ्चालन गरिनेछ। विद्यालय बाहिर रहेका तथा अभियानका क्रममा छुटेका किशोरीलाई २२ फागुनसम्म स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवाबाट खोप उपलब्ध गराइने जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन बासुदेव रिमालले जानकारी दिए।
हरेक वर्ष फागुन महिनामा लगाइने भनिएको यो खोप यस वर्ष भने प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण समय अगावै सञ्चालन गर्न लागिएको बताइएको छ । उक्त खोप नियमित रूपमा उपलब्ध हुने निमित्त प्रमुख घिमिरेले जानकारी दिए ।
चिकित्सकहरूका अनुसार ह्युमन प्यापिलोमा भाइरस महिलाको शरीरमा करिब २० वर्षसम्म रहन सक्ने र लामो समयपछि क्यान्सरको रूपमा देखा पर्न सक्छ। खोप लगाउँदा केहीलाई सुई दुख्ने, छाला रातो हुने, रिङ्गटा लाग्ने जस्ता सामान्य समस्या देखिन सक्ने भए पनि यसबाट कुनै दीर्घकालीन हानि नहुने स्वास्थ्यकर्मी बताउछन् ।
तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब २ हजार १ सय ६९ जनामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ । तीमध्ये करिब १ हजार ३१३ जनाको मृत्यु हुने अनुमान छ।
सरकारले पहिलो पटक आर्थिक वर्ष २०७६/०७७ मा एचपीभी खोप लगाउन सुरु गरेको थियो। त्यसपछि २०७९/०८० र २०८१/०८२ मा अभियानका रूपमा सञ्चालन गरिएको उक्त खोप कार्यक्रम यस वर्षदेखि नियमित रुपमा वार्षिक कार्यक्रम मै समाबेश गरि सञ्चालन गरिने भएको छ।
स्वास्थ्यकर्मीहरूले एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग गर्ने भएकाले लक्षित उमेर समूहका किशोरीलाई खोप कार्यक्रममा सहभागी भइ खोप लगाउन आग्रह गरेका छन्।
काठमाडौ । नेपाल खुला विश्वविद्यालय (एनओयू) ले ५४५ जना विद्यार्थी दीक्षित गरेको छ । विश्वविद्यालयले आइतबार राजधानीको गरेको पहिलो दीक्षान्त समारोहबाट विश्वविद्यालय स्थापनादेखि २०८२ आषाढ मसान्तसम्म विभिन्न शैक्षिक कार्यक्रम पूरा गरेका ५४५ जना विद्यार्थीहरू दीक्षित गरेको हो ।
आइतबारको दीक्षान्त समारोहमा १८६ जना विद्यार्थीहरू प्रत्यक्ष सहभागी भई दीक्षित भएका हुन्। समारोहमा सङ्कायगत रूपमा सामाजिक शास्त्र तथा शिक्षा सङ्कायबाट २४०, व्यवस्थापन तथा कानुन सङ्कायबाट २७४ र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायबाट ३१ जना दीक्षित भएका छन्। तहगत रूपमा दर्शनाचार्यमा १५२, स्नातकोत्तरमा ६४, पिजिडीमा २ र स्नातक तहमा ३२७ जना विद्यार्थी रहेका छन्।
स्थापनाको छोटो समयमै दूरशिक्षा र नवीन प्रविधिमार्फत उच्च शिक्षामा पहुँच विस्तार गरेको विश्वविद्यालयको प्रथम दीक्षान्त उत्सव
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आयोजना गरिएको हो ।
शिक्षाविद् केदारभक्त माथेमाले खुला विश्वविद्यालयलाई निरन्तर सिकाइको प्रतीक र सीमाविहीन शिक्षाको विशिष्ट केन्द्रका रूपमा चित्रण गरे । खुला विश्वविद्यालयका विद्यार्थीहरू बढी परिपक्व र स्व-अध्ययनशील हुन्छन्। दूरशिक्षाले मानिसमा आत्म-अनुशासन र जीवनभर सिकिरहने चेतना विकास गर्ने उनले बताए ।
माथेमाले डिग्री प्राप्तिलाई शिक्षाको अन्त्य नभई नयाँ चरणको सुरुवात भएको बताउँदै साहित्य र बहुविषयक ज्ञानले मानवीय संवेदनशीलता र विचारको विकास गर्ने बताए ।
कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले देश-विदेशमा रहेका नेपाली विद्यार्थीहरूका लागि खुला तथा दूर सिकाइका माध्यमबाट गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्याउन विश्वविद्यालयले गरिरहेको प्रयासको सराहना गरिन् । ‘हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरू अझै गतिशील हुनुपर्छ खुला विश्वविद्यालयले समयको प्रवाहलाई आत्मसात गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई सँगै लैजान सक्नुपर्छ’ उनले भनिन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपकुलपति प्रा.डा. शीलु मानन्धर बज्राचार्यले यो दीक्षान्त समारोहलाई विश्वविद्यालयको शैक्षिक यात्राको महत्वपूर्ण कोशेढुङ्गा भएको बताइन् । सोही अवसरमा विश्वविद्यालयको पहिलो प्राज्ञिक जर्नल “नेपाल खुला विश्वविद्यालय जर्नल” को पहिलो अङ्कको समेत अनावरण गरिएको थियो।
समारोहमा विश्वविद्यालयका रजिष्ट्रार, डीन, सभासद, पूर्व पदाधिकारी, प्राध्यापक, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो।