मकवानपुर । मकवानपुरका ४ हजार ४ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुरमा २५ माघबाट एचपीभी खोप अभियान सुरु हुने भएको हो । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त अभियानमा जिल्लाभरका किशोरीलाई लक्षित गरेर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए।
विद्यालयमा कक्षा ६ मा अध्ययनरत ४ हजार २३० जना, १० वर्ष उमेर समूहका तथा विद्यालय बाहिर रहेका १ सय १६ जना तथा अघिल्लो वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका ५७ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको घिमिरेले जानकारी दिए ।
पहिलो चरणमा २५ माघ देखि १ फागुनसम्म विद्यालय तहको कक्षा ६ मा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप अभियान विद्यालयमै सञ्चालन गरिनेछ। विद्यालय बाहिर रहेका तथा अभियानका क्रममा छुटेका किशोरीलाई २२ फागुनसम्म स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवाबाट खोप उपलब्ध गराइने जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन बासुदेव रिमालले जानकारी दिए।
हरेक वर्ष फागुन महिनामा लगाइने भनिएको यो खोप यस वर्ष भने प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण समय अगावै सञ्चालन गर्न लागिएको बताइएको छ । उक्त खोप नियमित रूपमा उपलब्ध हुने निमित्त प्रमुख घिमिरेले जानकारी दिए ।
चिकित्सकहरूका अनुसार ह्युमन प्यापिलोमा भाइरस महिलाको शरीरमा करिब २० वर्षसम्म रहन सक्ने र लामो समयपछि क्यान्सरको रूपमा देखा पर्न सक्छ। खोप लगाउँदा केहीलाई सुई दुख्ने, छाला रातो हुने, रिङ्गटा लाग्ने जस्ता सामान्य समस्या देखिन सक्ने भए पनि यसबाट कुनै दीर्घकालीन हानि नहुने स्वास्थ्यकर्मी बताउछन् ।
तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब २ हजार १ सय ६९ जनामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ । तीमध्ये करिब १ हजार ३१३ जनाको मृत्यु हुने अनुमान छ।
सरकारले पहिलो पटक आर्थिक वर्ष २०७६/०७७ मा एचपीभी खोप लगाउन सुरु गरेको थियो। त्यसपछि २०७९/०८० र २०८१/०८२ मा अभियानका रूपमा सञ्चालन गरिएको उक्त खोप कार्यक्रम यस वर्षदेखि नियमित रुपमा वार्षिक कार्यक्रम मै समाबेश गरि सञ्चालन गरिने भएको छ।
स्वास्थ्यकर्मीहरूले एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग गर्ने भएकाले लक्षित उमेर समूहका किशोरीलाई खोप कार्यक्रममा सहभागी भइ खोप लगाउन आग्रह गरेका छन्।

