मकवानपुर । चितवनमा नेपालमै पहिलोपटक सालक सम्मेलन हुने भएकाे छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनकाे संयोजनमा २६ माघमा चितवनकाे माडीमा सालक सम्मेलन हुने भएकाे हाे ।
बागमती प्रदेशका डिभिजन वन कार्यालय प्रमुखहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, जिल्लाका सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीहरूको सक्रियतामा सालक सम्मेलन गर्न लागिएको डिभिजन वन कार्यालय चितवन प्रमुख विष्णुप्रसाद आचार्यले जनाकारी दिए ।
सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा छलफल गरिने छ । ‘संरक्षणमा हातेमालो गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विज्ञसहित २०० भन्दा बढीको सहभागितामा सालक सम्मेलन गर्न लागेका छाैं’ उनले भने ।सम्मेलनमा सालकको अहिलेको अवस्था, संरक्षणमा देखिएका चुनौती र भावि कार्यदिशाका विषयमा छलफल गरिने छ ।
छलफलसँगै सालक संरक्षणका लागि माडी घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने उनले बताए । सालक किसानको साथी भएकाले पनि यसको संरक्षण अपरिहार्य रहेको उनले जानकारी दिए । राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुका रूपमा सालकलाई राखेको र सालक अहिले लोपोन्मुख अवस्थामा पुगेको पाइन्छ । यसको संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेको उनले बताए ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले वन्यजन्तु संरक्षण भन्ने बित्तिकै ठूला वन्यजन्तुहरूलाई प्राथमिकता दिइने गरिएको भए पनि साना वन्यजन्तु पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । ‘ठूला वन्यजन्तुकाे संरक्षणमा धेरैको ध्यान जाने गरेकाे छ’ उनले भने ‘प्रदेश सरकारले सालकको संरक्षणका लागि नीति तथा कार्यक्रम नै बनाएर काम अघि बढाएको छ ।’
आगामी वर्षदेखि नियमित रूपमा सालक संरक्षणका लागि काम गरिने उनले बताए । केही वर्षपछि सालक हेर्नका लागि बागमती प्रदेश जाउँ भन्ने बनाउनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताए । सामुदायिक वन र सालक संरक्षणमा लागेका सबैलाई एकीकृत गर्न यो कार्यक्रम फलदायी हुने छ । स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समितिसँग सालकको बासस्थान, खाने कुरा संरक्षणलाई अभियानका रूपमा अघि बढाइने उनले जानकारी दिए ।
सालक परिचयः
सालक एक लोपोन्मुख वन्यजन्तु हो। यो जनावर प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू-भागमा पाइन्छ। यसको शरीरमा ठुलाठुला कत्लाले ढाकको हुन्छ। यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन्। यि रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ। यसले पुच्छरको सहायताबात रुखको हाँगामा झुन्डिन सक्छ।
समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइका वनजङ्गलमा सालक पाइन्छ । अति लजालु, संवेदनशील एवं शान्त वातावरणमा बस्न रुचाउने सालकले मानिसलाई कुनै क्षति गर्दैन । एक बेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको जन्मदर अत्यन्तै कम हुन्छ । यो जनावरले आफुलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ। यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ।
विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञ बताउँछन्। २ हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन । तर, ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ। राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ। कतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।
बासस्थानः
सालक मध्य पहाडी क्षेर्त्रको ओसिलो भेकमा पाइन्छ। नेपालमा यिनीहरू चुरे पहाडको छेउँछाउँमा भेटिन्छन्। महाभारत पर्वत र यस श्रृङ्खलाका भित्री खोंचहरू मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोक,गोर्खा, रामेछाप, संखुवासभा र सिन्धुली आदि जिल्लाका पारिला भीरहरू, नदी किनार र बेसीहरूमा पनि पाइएका छन्। धादिङको केवलपुर थानसिङबीचको बेँसीमा, काभ्रेको बलथलीमा र सिन्धुलीको नाकाझोजीमा करीब दुई फिट लामा सालक पाइएकाे छ । त्यस्तै काठमाडौैंको नागार्जुन क्षेत्रमा पनि सेता सालक पाइएका छन् ।
आहाराः
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ। तर यसले कमीला लगायत साना कीराहरू पनि खान्छ । खास गरेर धमिरालाई नियन्त्रण गर्न सक्ने जीव हो सालक । सालक धमिराको शत्रु हो । यौटा सालकले वर्षमा ७ करोडभन्दा बढी धमिरा र कीरा कमिला खान्छ । सालकले किसानहरूको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ ।
हामीलाई नोक्सान गर्न सक्ने कीरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव हो । तर केही वर्षयता यो जीव संकटमा छ । आकारमा न्याउरी मुसोजस्तो देखिने सालकका शरीरभर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमैले देख्ने गरेका छन् । राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
सालक लोप हुने कारणः
साइटिसले यसको व्यापार व्यवसायलाई दण्डनीय बनाएको छ । तर केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्लो समय कत्लाका लागि विदेश चोरी निकासी हुने गरेको छ । तस्करी गर्नेहरूले सालकको पिछा गर्दै यसलाई मारेर छाला र कत्ला बेच्छन् । यसले गर्दा सालकको संख्या घट्दै गएको छ । आईयूसीएनले सालकलाई जोखिमपूर्ण र लोपोन्मुखजीवको सूचीमा राखेको छ । यसको संरक्षणमा चेतना जगाउन हरेक वर्ष सालक दिवस पनि मनाइन्छ ।
संरक्षित जनावर सालक प्रकृति र मान्छे दुबैको मित्र जनावर हो । यसले बाली नास्ने कमिला धमिरा खाने गर्दछ । सालकलाई हानी पुय्राउनु वा बेचबिखन गर्नु अपराध हो । १५ वर्ष जेल र १० लाख सम्म जरिवाना हुन सक्छ । लोप हुने अवस्थामा पुगेको सालक संरक्षणमा सबैले सकेको सहयोग गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

