काठमाडौ । नेपाल खुला विश्वविद्यालय (एनओयू) ले ५४५ जना विद्यार्थी दीक्षित गरेको छ । विश्वविद्यालयले आइतबार राजधानीको गरेको पहिलो दीक्षान्त समारोहबाट विश्वविद्यालय स्थापनादेखि २०८२ आषाढ मसान्तसम्म विभिन्न शैक्षिक कार्यक्रम पूरा गरेका ५४५ जना विद्यार्थीहरू दीक्षित गरेको हो ।
आइतबारको दीक्षान्त समारोहमा १८६ जना विद्यार्थीहरू प्रत्यक्ष सहभागी भई दीक्षित भएका हुन्। समारोहमा सङ्कायगत रूपमा सामाजिक शास्त्र तथा शिक्षा सङ्कायबाट २४०, व्यवस्थापन तथा कानुन सङ्कायबाट २७४ र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायबाट ३१ जना दीक्षित भएका छन्। तहगत रूपमा दर्शनाचार्यमा १५२, स्नातकोत्तरमा ६४, पिजिडीमा २ र स्नातक तहमा ३२७ जना विद्यार्थी रहेका छन्।
स्थापनाको छोटो समयमै दूरशिक्षा र नवीन प्रविधिमार्फत उच्च शिक्षामा पहुँच विस्तार गरेको विश्वविद्यालयको प्रथम दीक्षान्त उत्सव
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आयोजना गरिएको हो ।
शिक्षाविद् केदारभक्त माथेमाले खुला विश्वविद्यालयलाई निरन्तर सिकाइको प्रतीक र सीमाविहीन शिक्षाको विशिष्ट केन्द्रका रूपमा चित्रण गरे । खुला विश्वविद्यालयका विद्यार्थीहरू बढी परिपक्व र स्व-अध्ययनशील हुन्छन्। दूरशिक्षाले मानिसमा आत्म-अनुशासन र जीवनभर सिकिरहने चेतना विकास गर्ने उनले बताए ।
माथेमाले डिग्री प्राप्तिलाई शिक्षाको अन्त्य नभई नयाँ चरणको सुरुवात भएको बताउँदै साहित्य र बहुविषयक ज्ञानले मानवीय संवेदनशीलता र विचारको विकास गर्ने बताए ।
कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले देश-विदेशमा रहेका नेपाली विद्यार्थीहरूका लागि खुला तथा दूर सिकाइका माध्यमबाट गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्याउन विश्वविद्यालयले गरिरहेको प्रयासको सराहना गरिन् । ‘हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरू अझै गतिशील हुनुपर्छ खुला विश्वविद्यालयले समयको प्रवाहलाई आत्मसात गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई सँगै लैजान सक्नुपर्छ’ उनले भनिन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपकुलपति प्रा.डा. शीलु मानन्धर बज्राचार्यले यो दीक्षान्त समारोहलाई विश्वविद्यालयको शैक्षिक यात्राको महत्वपूर्ण कोशेढुङ्गा भएको बताइन् । सोही अवसरमा विश्वविद्यालयको पहिलो प्राज्ञिक जर्नल “नेपाल खुला विश्वविद्यालय जर्नल” को पहिलो अङ्कको समेत अनावरण गरिएको थियो।
समारोहमा विश्वविद्यालयका रजिष्ट्रार, डीन, सभासद, पूर्व पदाधिकारी, प्राध्यापक, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो।

