मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका १ जना मकवानपुरमा पक्राउ परेका छन् ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा हेटौंडा-४ बस्दै आएका १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिक अर्काको नाममा जारी गरिएको प्रवेश पत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए । उनी सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको बताइएको छ ।
बिकले हेटौंडा -१२ पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी प्रवेश पत्र प्रयोग गरी नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिन आएको प्रहरीले उल्लेख गरेको छ ।
घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ।

