मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको आधुनिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।
हेटौंडा ४ स्थित आधुनिक माविमा २ दशक अध्यापन गरेका सहायक प्रध्यानाध्यापक श्यामप्रसाद पराजुलीको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको हो । कोषको लागि परिवारका तर्फबाट छोरीहरु काठमाडौं निवासी कल्पना पराजुली र अमेरिका निवासी सम्झना पराजुलीले सोमबार १ लाख २६ हजार नगद विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
‘प्राप्त नगदले छात्रवृत्ति कोष प्रारम्भ गर्न महत्वपूर्ण सहयोग पुगेको छ’ प्रअ रामसागर गुरागाईंले भने ‘छात्रवृत्ति कोषमा सहयोग गर्न चाहने महानुभावहरुलाई हार्दिक आह्वान समेत गर्छौ ।’
४ नम्बर वडामा रहेका विद्यालय सुधारमा वडा अध्यक्ष नविन सिग्देलले पहल गर्दै आएका छन् । छात्रवृत्तिका लागि अब कार्यविधि बनाइने वडा अध्यक्ष सिग्देलले बताए । उनले कोषको लागि वडाको तर्फबाट सहयोग गरिने समेत जानकारी दिए ।
उक्त विद्यालय लगातार चौध पटक एसएलसी/एसईई परीक्षामा जिल्ला प्रथम भएको छ । विद्यालयमा हाल २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित जनप्रिय माध्यमिक (प्राविधिक शिक्षालय) ले ४९ औं स्थापना दिवस मनाएकाे छ । स्थापना दिवसको अवसरमा शनिबार विद्याललये रक्तदान कार्यक्रम गरेको छ ।
विद्यालयका शिक्षक, समितिका सदस्यहरू र स्थानीय व्यक्तिलगायत २४ जनाले रक्तदान गरेका अतिरिक्त तथा साँस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्माले बताए । विद्यालयका प्रअ भुपेन्द्र चौलागाईंले रक्तदान गर्दै विद्यालयको सामाजिक उत्तरदायित्व बहनका लागि समेत यस्ता कार्य गर्नुपर्ने बताए । कार्यक्रममा हेटौडा १८ हर्नामाडीका हर्क रम्तेलले आफूले बिसौं पटक रक्तदान गरेको बताए ।
यस्तै स्थापना दिवसकाे अवसरमा शुक्रबार १ सय मिटर दौड, ४ सय मिटर रिले, म्याराथन, लङ्ग जम्प, हाइ जम्पलगायतका खेलकूदका विविध प्रतिष्पर्धा भएका थिए । यसैगरी शुक्रबार नै कविता तथा समीक्षा लेखन प्रतियोगिता सम्पन्न गरेको विद्यालयले आइतबार हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने साहित्य तथा बौद्धिक विभाग संयोजक संप्रस पौडेलले जानकारी दिए ।
‘समय समयमा विद्यालयले साहित्य, कला तथा लेखन शील्प मात्रै नभइ कृषिमार्फत् उत्पादनमूलक कार्यक्रमहरूका लागि कार्यशालामा जोड गरिरहेका छौं प्रअ भुपेन्द्र चौलागाईंले भने ‘कार्यक्रमका लागि साँस्कृतिक, साहित्यिक, सामाजिक सङ्गसंस्था र व्यक्तिहरूसँग सहकार्य गरिरहेका छौं ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास संयोजक तथा १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्य भएकाे कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रमुख कृष्ण घिमिरेको विशिष्ट आतिथ्य थियो । यस्तै जिल्ला रेडक्रसका सदस्यद्वय पिताम्बर बास्तोला र कृष्णबहादुर सापकोटा, इकाइका पदाधिकारीहरू, सामाजिक, राजनीतिक, शैक्षिक व्यक्तित्व तथा शिक्षक, विद्यार्थीहरूको उपस्थिति रह्यो ।
मकवानपुर । मकवानपुरकाे हेटौडा र चितवनकाे नारायणगढमा पत्रकार तथा लेखक सुधीर शर्माका २ वटा कृतिमाथि विमर्श गरिएको छ । शर्माका भिक्षु,व्यापार र विद्रोह र हिमालपारिको हुरी कृतिमाथि शुक्रबार हेटौडामा र शनिबार नारायणगढमा विमर्श गरिएको हो ।
घिमिरेले हेटौडामा लेखक शर्मासँग अन्तरक्रिया समेत गरेका हुन् । विमर्शमा मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले शर्माका दुबै कृतिको समीक्षात्मक प्रस्तुति राखेका थिए । नारायणगढमा भएकाे संवाद र विमर्श कार्यक्रममा लेखक शर्मासँग पत्रकार सूर्यप्रकाश कँडेलले संवाद गरेका छन् ।
‘भिक्षु, व्यापार र विद्रोह’ मा शर्माले मल्लकाल, लिच्छवीकाल, नेवार समुदायले तिब्बतमा पुगेर गरेको व्यापारको इतिहास, नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध र भारत,चीनमा माओत्सेतुङले गरेको साँस्कृतिक क्रान्तिको विषयमा समावेश गरिएकाे उपप्राध्यापक घिमिरेले जानकारी गराए । यसैगरी ‘हिमालपारिको हुरी’ मा शर्माले सन् २००८ पछि चीनले विश्वसामु व्यावसायीक खुलापनकाे रुपमा आफूलाई प्रस्तुत गर्न सुरु गरेको उनले बताए ।
किताब पब्लिसर्स र सम्पूर्ण किताबले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा लेखक शर्मासँग पत्रकार कँडेलले पुस्तकको विषयवस्तु, रचना गर्भ र पुस्तकले समेटेका क्षेत्रबारे विस्तृत कुराकानी गरे । लेखक शर्माले सात वर्ष लगाएर दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ एवं ‘हिमालपारिको हुरी’ लेखिएको बताए ।
राजतन्त्र रहुन्जेल कुटनीतिक सम्बन्धमा मात्रै रही सकेकाे सहयाेग गर्दै आएकाे चीनले राजतन्त्रकाे समाप्ती पछि सरकारमा पुग्ने दलका नेतालाई आफ्नाे अनुकुलकाे मित्रता बढाउन खाेजेकाे हिमालपारीकाे हुरीमा रहेकाे छ । यता भिक्षु, व्यापार र विद्रोहमा लेखक शर्माले २ सय वर्ष पहिलेकाे इतिहासदेखि नेपाल र चीनबीचको व्यापार सम्बन्धको प्रसंग समावेश गरिएको छ । पत्रकारले सतहीरुपमा लेख्छन्, अध्ययन, अनुसन्धान गर्दैनन् भन्ने समाजको बुझाई रहेकाे भाष्यलाई पत्रकारिताकाे माध्यम हुँदै लेखक बनेका शर्मा मुलुकको इतिहासलाई दस्तावेजीकरण गर्ने काम पुस्तक मार्फत गरेका छन् । शर्माका दुई कृति महत्वपूर्ण सावित हुने हेटौडा र नारायणगढकाे विमर्शमा बताइएकाे छ ।
शर्माका उक्त कृति माथि हेटौडा विमर्शमा राजनीतिज्ञ, प्राध्यापक, साहित्यकार, विद्यार्थीलगायतले जिज्ञासा राखेका थिए । नारायण संवाद विमर्शमा शिक्षाविद् चोलेन्द्र पण्डित, प्रेम रिमाल, कवि विपिन पाठक, पत्रकार गोविन्द न्यौपानेलगायतले लेखकसँग जिज्ञासा राखेका थिए । पाठकका जिज्ञासामाथि बोल्दै लेखक शर्माले नेपाल र चीनबिचको आर्थिक, साँस्कृतिक र राजनीतिक सम्बन्धका आयाम र यसले पार्ने प्रभाव बताए । उनले आफ्ना दुवैकृति विद्यार्थीकालागि इतिहास बुझ्ने माध्यम हुने साथै अनुसन्धानमूलक कृतिको रुपमा रहेकाे बताए ।
शैलीगत रुपमा आख्यानकाे रुपमा साहित्यकारले लिन सक्ने पुस्तक अनुसन्धानकर्ताको रुपमा अध्ययन, अनुसन्धानमा आधारित र थप अध्ययन अनुसन्धानका लागि कतिपय सन्दर्भ समेत उजागर गरिएको उनले बताए । दुई छिमेकी भारत र चीनमध्ये चीनलाई बुझ्न भाषाका साथै सामाजिक सास्कृतिक र भौगोलिक अवस्था लगायतका विविध कारणले गाह्रो भएको शर्माले जानकारी दिए । दुई ठूला देशबीचको नेपालले चीनसम्बन्धमा बुझ्ने, विश्लेषण गर्ने र रणनीतिक हिसाबले काम गर्न विज्ञ व्यक्तिहरु आवश्यक रहेको बताए । चीन भारतसँग नभई अमेरिकासँगको प्रतिस्पर्धामा रहेको तथा विश्वकै पहिलो शक्ति राष्ट्र बन्ने लक्ष्यमा अगाडि बढिरहेको उनले जानकारी दिए ।
मकवानपुर । यो मकवानपुरको थाहा नगरपालिका ३ मा रहेको पालुङ क्याम्पसमा ढकमक्क फूलेको फूलबारी हो । यस क्याम्पसको करिब ३ रोपनी जग्गामा विभिन्न प्रजातिको फूलहरू लगाइएको छ ।
क्याम्पसका प्राध्यापक, उपप्राध्यापक तथा विद्यार्थीहरु मिलेर यी फूलहरू रोप्ने र गोडमेल गर्ने गरका छन् । विद्यार्थीहरु जमुना श्रेष्ठ, मनिषा विष्ट, रुपा विष्ट, सन्ध्या श्रेष्ठलगायतको नेतृत्वमा फूलको विरुवा खोजी गरेर रोपिएकोे क्याम्पसका उपप्राध्यापक तथा सूचना अधिकारी कुमार नेगीले बताए । स्थानीय पूजा एग्रोभेटको प्रो राघवेन्द्र भेट, टिस्टुङ वनस्पति उद्दानबाट बिरुवा सहयोग स्वरुप प्राप्त भएको सूचना अधिकारी नेगीले बताए ।
“मुल उद्देश्य क्याम्पसको शोभा, तर तिहारमा कसैले किन्न खोजेमा विक्री समेत गरीनेछ, तर वितगमा पनि खासै फूलको माग नहुने गरेको क्याक्पस प्रमुख राजन मिश्रले जानकारी दिए । पालुङ क्याम्पसमा स्नातक तहमा मानविकी र व्यवस्थापन बिषय पठनपाठन हुन्छ । यो उत्तरी मकवाावुरको एक मात्र स्नातक अध्यापन हुने क्याम्पस हो । जहाँ अहिले २०३ जना विद्यार्थी अध्ययनरत छन् ।
पर्यटकीय थाहा नगरको स्थानीयहरुले पनि बारीको कान्लाभरी नै तिहार लक्ष्यित फूल खेती गर्ने गरेका छन् । हरेक वर्ष तिहारमा यहाँ उत्पादीत फूलहरु काठमाडौं उपत्यकामा विक्री हुने गरेको छ ।
मकवानपुर । बालविकासको सवाल सबैभन्दा महत्त्वपूर्ण भएको हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले बताएकी छिन् । हेटौंडाको शैक्षिक गुणस्तर बढाउने क्रममा समन्वय सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरिन ।
नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा शनिबार हेटौंडामा आयोजित शैक्षिक अन्तरक्रिया तथा चाडपर्व विशेष शुभकामना कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नवीन सिग्देलले विकास भनेको बाटो मात्रै नभई शिक्षाको विकास मुख्य भएको बताए । सबैको समन्वय र सहकार्यबाट शिक्षामा सुधार संभव भएको अध्यक्ष सिग्देलले बताए। “शिक्षामा योगदान गर्नेहरू जिम्मेवार हुनुपर्छ साथमा अभिभावक विद्यार्थीको योगदान त चाहिन्छ नै” उनले भने ।
कार्यक्रममा राष्ट्रिय शिक्षक संगठन अध्यक्ष श्रीराम दाहालले शिक्षक तालिममा लगानी आवश्यक रहेको बताए । प्रविधिक सीप, शिक्षामा स्थानीय तहले लगानी गर्नुपर्ने दाहालले बताए । निजि विद्यालय र सामुदायिक विद्यालयमा स्रोत साधनको समानता नभएको कारण नतिजामा फरकपना भएको उनले बताए । सबैको सहयोग र समन्वयले नतिजा सुधार हुनसक्ने, सामुदायिक विद्यालयलाई उच्च गुणस्तरीय बनाउन सकिने उनको सुझाव थियो।
यसैगरी नेपाल शिक्षक महासंघ अध्यक्ष जिधराज ढकालले शैक्षिक क्षेत्रमा छुट्याइने बजेट नगन्ने हुने गरेको प्रती गुनासो गरे । केही वडाहरूले शिक्षाको लागि किन बजेट राख्ने भन्नमा समेत चासो कम हुने गरेको ढकालले बताए ।
यसैगरी शैक्षिक व्यक्तित्व ऋषिराम पोखरेलले शिक्षकले आफूलाई समेत सन्तुष्टि मिल्ने गरि पढाउन पर्ने, कक्षामा कष्टका साथ समय बिताउने भन्दा पनि विद्यार्थीसंग अन्तक्रिर्या गरेर, बुझाएर रमाइलो मानेर समय बिताउने परिपाटीले गुणस्तरमा सुधार आउने बताए । विद्यार्थीलाई सिकेर काम गर्ने बनाउन तर्फ ध्यानाकर्षण गराउंदै पोखरेलले भने “पढाउने कि सिकाउने/ कक्षा कार्य गराउने भन्ने मुख्य सवाल हो ।”
कक्षाकोठालाई सिकाई कोठा बनाउन पर्ने उनको सुझाव थियो ।
समन्वय समितिको अध्यक्ष भोगेन्द्र लुइँटेलको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । अध्यक्ष लुइँटेलले आगामी दिनमा समन्वय समितिले सबै निकायको सहकार्यमा शैक्षिक उन्नयनको लागि कार्य गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास महाशाखा हेटौडाका हरिशचन्द्र सापकोटा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको संगिता घलेलगायतको उपस्थिति रहेको समिति उपाध्यक्ष प्रतिमा गौतमले जानकारी दिइन ।