मकवानपुर । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको रहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त वायुहरुकाे प्रभावले देशैभर चट्याङ्गसहित वर्षाकाे सम्भावना रहेकाे छ ।
अहिले गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएकाे छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार मङ्गलबार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
आज राति कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मकवानपुर । दिगो विकास लक्ष्य ६ मा सबैका लागि सुरक्षित र व्यवस्थित पानी तथा सरसफाइको पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको भएपनि मकवानपुरको हेटौंडामा यो अझै चुनौतिपूर्ण छ ।
खानेपानी तथा सरसफाइको क्षेत्रमा देखिएका समस्याको समाधान गर्न उपभोक्ता र उपभोक्ता समितिको सहकार्य स्थानीय सरकार र खानेपानी बोर्डसँग अनिवार्य भएको बताइएको छ । शुद्ध पानी उपभोग अधिकार सुनिश्चित गर्न सरोकारवालाको सहकार्य अनिवार्य भएको बताइएको हो ।
मकवानपुरको हेटौंडामा राडो नेपालले आयोजना गरेको खानेपानी तथा सरसफाइको सुधार, मार्ग र अवसरहरु विषयक अन्तक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
आफूहरुले उपभोग गर्दै आएको पानीको शुद्धताको लागि सरोकारवालाहरूले चासो राख्नु नै सुधारको प्रयास सुरु भएको राडो नेपालका अध्यक्ष कृष्ण धितालले बताए ।
उच्चस्तरीय प्रतिबद्धता अनुसार काम हुन नसकेपछि यसका चुनौति थपिदो रहेको हो । एकातिर स्थानीय सरकारको जिम्मेवारी र कार्यान्वयनबीचको तालमेल छैन, अर्कोतिर हाल पूर्वाधार विस्तार, पुराना भौतिक संरचनाहरुमा सुधार आवश्यक भएको उपभोक्ता समितिका प्रतिनिधिहरुले उल्लेख गरेका छन् ।
प्रविधिको युगसँगै अघि बढ्न पुराना संरचना बाधक छन् खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टले भने । “मर्मतसम्भार, प्राविधिक क्षमता, अनुगमन, पुराना संरचनाको अपग्रेटमा विशेष चुनौति छ” अध्यक्ष विष्टले भने ।
वडा तथा टोलहरुमा वितरण गरिएको पानीको उपभोक्ता समितिहरु पानीको शुद्धता जाँचसँगै उत्तरदायित्व बहान गर्दै खानेपानी सरसफाइ तथा स्वच्छता ऐन अनुसार पानी वितरणमा जिम्मेवार बन्नु पर्ने विष्टले बताए ।
कार्यक्रममा राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालले शासन र संस्थागत अवरोधहरूको कारण पनि स्वच्छ पानी वितरण तथा सरसफाइमा चुनौति रहेको बताए । नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता, राष्ट्रिय योजनासँग र स्थानीय यथार्थ सन्तुलित नभएको अध्यक्ष धितालले बताए ।
हेटौंडाको सन्दर्भमा नगरपालिका वास समन्वय समितिको निष्क्रियता सबैभन्दा बढी समस्याको रुपमा देखिएको छ । समितिको नियमित बैठक अभाव र कार्यकारी अधिकार समेत नहुँदा समितिहरू रणनीतिकमा केन्द्रीत नभएको पाइएको छ । समुदायद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगरपालिका वास शाखा बोर्डको भूमिकाबीच समेत उचित समन्वयन नहुदा प्रगतिउन्मुख कार्य भएको छैन । जसको कारण पानीको बिलिङ, राजस्व चुहावटमा समेत प्रयोगकर्तामा अविश्वास भएपछि उपभोक्ताहरुले प्रश्न गर्ने गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाभित्रै दिसाजन्य लेदो व्यवस्थापनमा समेत चुनौती हुने गरेकोले सरसफाइ र स्वच्छता संकट रहेको धितालले बताए । शौचालय निर्माणबाट माथि उठेर जग्गा सुरक्षित गरी प्रभावकारी प्रशोधन केन्द्रहरू निर्माण गर्नु पर्ने उनले बताए । हेटौंडामा चिकित्सा र औद्योगिक जोखिमयुक्त फोहोरका लागि औपचारिक विसर्जन तथा प्रशोधन प्रोटोकलको अभाव भएकोले विशिष्ट फोहोर व्यवस्थापनमै चुनौति रहेको धितालले बताए ।
सरसफाई कर्मचारीहरूको स्वास्थ्य जोखिम कम गर्न कानूनी मान्यता, तालिम र व्यक्तिगत सुरक्षा उपकरणको तत्काल आवश्यकता रहेको उनले बताए । “केही हदसम्म भौतिक संरचना बनेकोले आगामी दिनमा व्यवस्थापन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने देखिन्छ” धितालले भने “अब कति धारा जडान भए भन्नेमा होइन, कति भरपर्दो रूपमा सफा पानी वितरण भयो र कति फोहोरलाई सुरक्षित तवरले प्रशोधन गरियो भन्नेमा ध्यान दिनुपर्छ।”
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले सफा पानीको लागि स्थानीय सरकार सधैं तत्पर रहेको बताइन् । खानेपानी तथा सरसफाइ बारे सहभागीहरुले दिएको प्रतिक्रियालाई सरोकारवाला निकायमा सुधार तथा कार्यान्वयनको लागि सुझावको रुपमा प्रदान गरिने धितालले जानकारी दिए ।
कार्यक्रम हेटौंडा खानेपानी बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटा, गैसस महासंघ केन्द्रिय सचिव बुद्धशरण लामा, खानेपानी तथा सरसफाइ उपभोक्ता नगर महासंघका प्रतिनिधिहरु, हेटौंडाको विभिन्न वडामा रहेका खानेपानी उपभोक्ता समितिका पदाधिकारी तथा प्रतिनिधिहरु, टोल विकास संस्था नगर समन्वय समितिका प्रतिनिधिहरु समेतको उपस्थिती रहेको थियो ।
मकवानपुर । हिजो शुक्रबारबाट बदली भएकाे मौसम आज शनिबार समेत देशभर बदली रही अधिकांश स्थानमा आकाशमा बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हुरीबताससहित मध्यमसम्मको वर्षा भइरहेको छ।महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना/हुरीबताससहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति पनि कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ र बाँकी तराईमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा अनि हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यसैगरी आइतबार भने पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यसदिन पहाडी तथा हिमाली भूभागका थोरै स्थान र कोशी तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मकवानपुर । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ र सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ।
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
माडी, चितवन । चितवनको माडीमा नेपालमै पहिलो पटक सालक सम्मेलन गरिएको छ । सम्मेलनले सालक संरक्षणको लागि ७ बुंदे घोषणा पत्र जारी गरेको छ ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनकाे संयोजनमा भएको सालक सम्मेलनकाे वन मन्त्री भरत केसीले उद्घाटन गरे । उनले सालक संरक्षणलाई वन संरक्षणसंग जोड्नु पर्ने बताए । ‘सालक मानव र वन्यजन्तुबीचको सारथी रहेको छ’ उनले भने । सालकको आहारा (धमिरा) नष्ट हुँदै गएकोले सालक मैत्री वातावरण बनाउन कार्ययोजना बनाएर अघि बढ्ने बताए । पारिस्थिक प्रणाली सन्तुलित राख्न सबैको सहकार्य आवश्यक भएको मन्त्री केसीले बताए ।
कार्यक्रममा प्रदेशको निवर्तमान वनमन्त्री कृष्ण प्रसाद सिलवालले सालकको सत्रु डढेलो नियन्त्रण गर्नुपर्ने बताए । सालकको तस्करी रोक्न कानुनी कारबाहीलाई सफल कार्यान्वयन तथा प्रभावकारी बनाउनु पर्ने बताए । बागमती प्रदेशका डिभिजन वन कार्यालय प्रमुखहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, जिल्लाका सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीहरूको सहभागितामा सालक सम्मेलन गरिएको डिभिजन वन कार्यालय चितवन प्रमुख विष्णुप्रसाद आचार्यले जनाकारी दिए ।
सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा छलफल गरिएको थियो । सालक किसानको साथी भएकाले पनि यसको संरक्षण अपरिहार्य रहेको आचार्यले जानकारी दिए । राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुका रूपमा सालकलाई राखेको र सालक अहिले लोपोन्मुख अवस्थामा पुगेको पाइन्छ । यसको संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेको उनले बताए ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले प्रदेश सरकारले सालकको संरक्षणका लागि नीति तथा कार्यक्रम नै बनाएर काम अघि बढाएको बताए । आगामी वर्षदेखि नियमित रूपमा सालक संरक्षणका लागि काम गरिने उनले बताए । केही वर्षपछि सालक हेर्नका लागि बागमती प्रदेश जाउँ भन्ने बनाउनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए ।
सामुदायिक वन र सालक संरक्षणमा लागेका सबैलाई एकीकृत गर्न यो कार्यक्रम फलदायी हुने छ । स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समितिसँग सालकको बासस्थान, खाने कुरा संरक्षणलाई अभियानका रूपमा अघि बढाइने बताइएको छ ।
कार्यक्रममा प्रदेशको जिल्लावन, डिभिजन वन, भु तथा जलाधार, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
यस्तो छ घोषणा पत्रः
संसारभर सङ्कटापन्न स्तनधारी प्राणी सालक संरक्षणका लागी हामी बागमती प्रदेशमा क्रियाशील सरकारी निकाय, संरक्षण गाझेदार सङ्घ संस्था, संरक्षणकर्मी, विज्ञ, उपभोक्ता समूहलगायतका सरोकारहरूको गम्भीर चासो रहेको छ। तामे मालक र कालो सालक नामक दुई वटा प्रजातिहरू यस प्रदेशभर भेटिएका छन्। अवैध व्यापार र वासस्थान विनाश समेतका कारण सामक सङ्कटापन्न अवस्थामा रहेका छन्। यी जोखिमहरूलाई नियन्त्रण गर्दै सालक संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो। मङ्कटापन्न सालक प्रजातिहरूको संरक्षणका निम्ति बागमती प्रदेश वन तथा वातावरण मन्त्री माननीय भरत के सिको नेतृत्वमा आयोजना भएको सालक मम्मेलनमा सङ्घीय तथा प्रदेश वन तथा वातावरण मन्त्रालय मातहतका निकायहरू, संरक्षण साझेदार सङ्घ संस्थाहरू, संरक्षणकर्मी, विज, समुदायमा आधारित वन उपभोक्ता समूहहरू लगायत सरोकारवाला निकायहरू समेतको उपस्थितिमा बृहत् छलफल गर्दै किसानको साथी भन्ने मूल नाराक साथ सम्पन्न प्रथम वागमती सालक सम्मेलनमा निस्र प्रतिवदता महितको सालक संरक्षणका लागि माडी घोषणापत्र २०८२ जारी गदछौं।
१.सालक पाइने वन र संरक्षित क्षेत्रहरूमा संरक्षण तथा वासस्थान व्यवस्थापन, संरक्षण शिक्षा अभिवृद्धिलगायतका कार्यहरू सरोकारवाला निकायको पहलमा कार्यान्वयन गर्ने गराउने ।
२. चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि तिन तहका सरकार, संरक्षण साझेदार सङ्घ संस्थाहरू, स्थानीय समुदायहरूको सहयोगमा सामुहिक पहल गर्ने।
३.नेपाल सरकारले तर्जुमा गरेको सालक संरक्षण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न प्रदेशस्तरीय योजना बनाइ सोको लागी आवश्यक साधन स्रोत जुटाइ लागु गर्ने।
४.स्थानीय समुदायको सहभागितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थाहरू, विश्व विद्यालय, तिनै तहका सरकार समेतको सहकार्यमा सालक संरक्षणका लागि आवश्यक अध्ययन अनुसन्धान अगाडि बढाउने ।
५.सालक संरक्षणका लागि स्थानीयको सक्रिय सहभागिता ागिता र अपनत्व हुने गरी संरक्षण कार्ययोजना निमार्ण तथा प्रभावकारी कार्यान्वयन गर्ने।
६. अन्य सबै प्रदेश तथा राष्ट्रियस्तरमा सालक सम्मेलन गर्न वागमती प्रदेश सरकार मार्फत अनुरोध गर्ने।
७.यस सम्मेलनमा मुख्यमन्त्रीज्युको सन्देशमा सालकलाई प्रदेशको गौरवको प्राणी घोषणा गरी यसको संरक्षणमा नीति कार्यक्रम सहितको उचित बजेट व्यवस्थापनको प्रतिवद्धता जाहेर गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै सोको वैधानिकता प्रदान गर्न आवश्यक पहल गर्ने ।
सालक परिचयः
सालक एक लोपोन्मुख वन्यजन्तु हो। यो जनावर प्राय: नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू-भागमा पाइन्छ ।
यसको शरीरमा ठुलाठुला कत्लाले ढाकेको हुन्छ। यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन्। यि रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ। यसले पुच्छरको सहायताबात रुखको हाँगामा झुन्डिन सक्छ।
समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइका वनजङ्गलमा सालक पाइन्छ । अति लजालु, संवेदनशील एवं शान्त वातावरणमा बस्न रुचाउने सालकले मानिसलाई कुनै क्षति गर्दैन । एक बेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको जन्मदर अत्यन्तै कम हुन्छ । यो जनावरले आफुलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ। यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ।
विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञ बताउँछन्। २ हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन ।
तर, ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ। राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ। कतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।
बासस्थानः
सालक मध्य पहाडी क्षेर्त्रको ओसिलो भेकमा पाइन्छ। नेपालमा यिनीहरू चुरे पहाडको छेउँछाउँमा भेटिन्छन्। महाभारत पर्वत र यस श्रृङ्खलाका भित्री खोंचहरू मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोक,गोर्खा, रामेछाप, संखुवासभा र सिन्धुली आदि जिल्लाका पारिला भीरहरू, नदी किनार र बेसीहरूमा पनि पाइएका छन्। धादिङको केवलपुर थानसिङबीचको बेँसीमा, काभ्रेको बलथलीमा र सिन्धुलीको नाकाझोजीमा करीब दुई फिट लामा सालक पाइएकाे छ । त्यस्तै काठमाडौैंको नागार्जुन क्षेत्रमा पनि सेता सालक पाइएका छन् ।
आहाराः
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ। तर यसले कमीला लगायत साना कीराहरू पनि खान्छ । खास गरेर धमिरालाई नियन्त्रण गर्न सक्ने जीव हो सालक । सालक धमिराको शत्रु हो । यौटा सालकले वर्षमा ७ करोडभन्दा बढी धमिरा र कीरा कमिला खान्छ । सालकले किसानहरूको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ ।
हामीलाई नोक्सान गर्न सक्ने कीरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव हो । तर केही वर्षयता यो जीव संकटमा छ । आकारमा न्याउरी मुसोजस्तो देखिने सालकका शरीरभर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमैले देख्ने गरेका छन् । राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
सालक लोप हुने कारणः
साइटिसले यसको व्यापार व्यवसायलाई दण्डनीय बनाएको छ । तर केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्लो समय कत्लाका लागि विदेश चोरी निकासी हुने गरेको छ । तस्करी गर्नेहरूले सालकको पिछा गर्दै यसलाई मारेर छाला र कत्ला बेच्छन् । यसले गर्दा सालकको संख्या घट्दै गएको छ । आईयूसीएनले सालकलाई जोखिमपूर्ण र लोपोन्मुखजीवको सूचीमा राखेको छ । यसको संरक्षणमा चेतना जगाउन हरेक वर्ष सालक दिवस पनि मनाइन्छ ।
संरक्षित जनावर सालक प्रकृति र मान्छे दुबैको मित्र जनावर हो । यसले बाली नास्ने कमिला धमिरा खाने गर्दछ । सालकलाई हानी पुय्राउनु वा बेचबिखन गर्नु अपराध हो । १५ वर्ष जेल र १० लाख सम्म जरिवाना हुन सक्छ । लोप हुने अवस्थामा पुगेको सालक संरक्षणमा सबैले सकेको सहयोग गर्नुपर्ने सरोकारवाला बताउँछन् ।