मकवानपुर । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ र सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ।
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

