मकवानपुर । दिगो विकास लक्ष्य ६ मा सबैका लागि सुरक्षित र व्यवस्थित पानी तथा सरसफाइको पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको भएपनि मकवानपुरको हेटौंडामा यो अझै चुनौतिपूर्ण छ ।
खानेपानी तथा सरसफाइको क्षेत्रमा देखिएका समस्याको समाधान गर्न उपभोक्ता र उपभोक्ता समितिको सहकार्य स्थानीय सरकार र खानेपानी बोर्डसँग अनिवार्य भएको बताइएको छ । शुद्ध पानी उपभोग अधिकार सुनिश्चित गर्न सरोकारवालाको सहकार्य अनिवार्य भएको बताइएको हो ।
मकवानपुरको हेटौंडामा राडो नेपालले आयोजना गरेको खानेपानी तथा सरसफाइको सुधार, मार्ग र अवसरहरु विषयक अन्तक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
आफूहरुले उपभोग गर्दै आएको पानीको शुद्धताको लागि सरोकारवालाहरूले चासो राख्नु नै सुधारको प्रयास सुरु भएको राडो नेपालका अध्यक्ष कृष्ण धितालले बताए ।
उच्चस्तरीय प्रतिबद्धता अनुसार काम हुन नसकेपछि यसका चुनौति थपिदो रहेको हो । एकातिर स्थानीय सरकारको जिम्मेवारी र कार्यान्वयनबीचको तालमेल छैन, अर्कोतिर हाल पूर्वाधार विस्तार, पुराना भौतिक संरचनाहरुमा सुधार आवश्यक भएको उपभोक्ता समितिका प्रतिनिधिहरुले उल्लेख गरेका छन् ।
प्रविधिको युगसँगै अघि बढ्न पुराना संरचना बाधक छन् खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टले भने । “मर्मतसम्भार, प्राविधिक क्षमता, अनुगमन, पुराना संरचनाको अपग्रेटमा विशेष चुनौति छ” अध्यक्ष विष्टले भने ।
वडा तथा टोलहरुमा वितरण गरिएको पानीको उपभोक्ता समितिहरु पानीको शुद्धता जाँचसँगै उत्तरदायित्व बहान गर्दै खानेपानी सरसफाइ तथा स्वच्छता ऐन अनुसार पानी वितरणमा जिम्मेवार बन्नु पर्ने विष्टले बताए ।
कार्यक्रममा राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालले शासन र संस्थागत अवरोधहरूको कारण पनि स्वच्छ पानी वितरण तथा सरसफाइमा चुनौति रहेको बताए । नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता, राष्ट्रिय योजनासँग र स्थानीय यथार्थ सन्तुलित नभएको अध्यक्ष धितालले बताए ।
हेटौंडाको सन्दर्भमा नगरपालिका वास समन्वय समितिको निष्क्रियता सबैभन्दा बढी समस्याको रुपमा देखिएको छ । समितिको नियमित बैठक अभाव र कार्यकारी अधिकार समेत नहुँदा समितिहरू रणनीतिकमा केन्द्रीत नभएको पाइएको छ । समुदायद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगरपालिका वास शाखा बोर्डको भूमिकाबीच समेत उचित समन्वयन नहुदा प्रगतिउन्मुख कार्य भएको छैन । जसको कारण पानीको बिलिङ, राजस्व चुहावटमा समेत प्रयोगकर्तामा अविश्वास भएपछि उपभोक्ताहरुले प्रश्न गर्ने गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाभित्रै दिसाजन्य लेदो व्यवस्थापनमा समेत चुनौती हुने गरेकोले सरसफाइ र स्वच्छता संकट रहेको धितालले बताए । शौचालय निर्माणबाट माथि उठेर जग्गा सुरक्षित गरी प्रभावकारी प्रशोधन केन्द्रहरू निर्माण गर्नु पर्ने उनले बताए । हेटौंडामा चिकित्सा र औद्योगिक जोखिमयुक्त फोहोरका लागि औपचारिक विसर्जन तथा प्रशोधन प्रोटोकलको अभाव भएकोले विशिष्ट फोहोर व्यवस्थापनमै चुनौति रहेको धितालले बताए ।
सरसफाई कर्मचारीहरूको स्वास्थ्य जोखिम कम गर्न कानूनी मान्यता, तालिम र व्यक्तिगत सुरक्षा उपकरणको तत्काल आवश्यकता रहेको उनले बताए । “केही हदसम्म भौतिक संरचना बनेकोले आगामी दिनमा व्यवस्थापन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने देखिन्छ” धितालले भने “अब कति धारा जडान भए भन्नेमा होइन, कति भरपर्दो रूपमा सफा पानी वितरण भयो र कति फोहोरलाई सुरक्षित तवरले प्रशोधन गरियो भन्नेमा ध्यान दिनुपर्छ।”
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले सफा पानीको लागि स्थानीय सरकार सधैं तत्पर रहेको बताइन् । खानेपानी तथा सरसफाइ बारे सहभागीहरुले दिएको प्रतिक्रियालाई सरोकारवाला निकायमा सुधार तथा कार्यान्वयनको लागि सुझावको रुपमा प्रदान गरिने धितालले जानकारी दिए ।
कार्यक्रम हेटौंडा खानेपानी बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटा, गैसस महासंघ केन्द्रिय सचिव बुद्धशरण लामा, खानेपानी तथा सरसफाइ उपभोक्ता नगर महासंघका प्रतिनिधिहरु, हेटौंडाको विभिन्न वडामा रहेका खानेपानी उपभोक्ता समितिका पदाधिकारी तथा प्रतिनिधिहरु, टोल विकास संस्था नगर समन्वय समितिका प्रतिनिधिहरु समेतको उपस्थिती रहेको थियो ।

