मकवानपुर । हाल देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेकोले देशैभर मनसुनी वायु सक्रिय प्रभावकाे कारण बर्षा भइरहेकाे छ ।
देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भु-भागका केही स्थानहरुमा वर्षा भईरहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको १/२ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले महाशाखाले जनाएकाे छ । उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम समेत रहेको छ ।
भारी वर्षाकाे सम्भावनाकाे कारण नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु समेत महाशाखाले सवैलाई अनुरोध गरेकाे छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार ५ गते शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
असार ६ गते आईतबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ ।
असार ७ गते सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
मेलम्ची, सिन्धुपाल्चोक — वर्षा अझै रोकिएको छैन । कालो लेदोले भरिएको डरलाग्दो बाढीले बजारलाई क्रमशः कटान गर्दै छ । तटीय क्षेत्रका अधिकांश दुईतले घर बाढीमै हराइसके, केहीको अवशेष देखिएको छ । बजारका चार, पाँचतले चिटिक्क देखिने घरलाई लेदोले ढाकेको छ । जिल्लाको समृद्ध नगरमा गनिने मेलम्ची बजारलाई बाढीले मंगलबार एकै रातमा बगर बनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची–१२ स्थित इन्द्रेश्वरी मावितर्फ जाँदै स्थानीय । उक्त विद्यालयमा विस्थापित ८० परिवारलाई राखिएको छ । तस्बिर : अनिश तिवारी/कान्तिपुर
त्यही बगरबीच नदीछेउमा चुर्लुम्म डुबेको आफ्नो घर हेर्दै बसिरहेका मेलम्ची नगरपालिका–११ का ४६ वर्षीय हीराकाजी श्रेष्ठ बेलाबेला मुख छोपेर रोइरहेका छन् । मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयको एउटा कोठामा आश्रय लिइरहेका उनको चार जनाको परिवार निदाएको छैन । ‘ज्यानबाहेक केही जोगिएन, यही एकसरो कपडा ज्यानमा छ त्यत्ति हो, ऋण गरेर बनाएको घरजग्गा सबै बाढीले निल्यो, कहाँ जानु, के गर्नु ?’ बिहीबार दिउँसो मेलम्ची बजार देखाउँदै उनले भने । श्रेष्ठले ७० लाख रुपैयाँ लगानी गरेर चारतले घर बनाएका थिए । उनले घर बनाउँदा लागेको १० लाख ऋण तिर्न अझै बाँकी छ । अब उनी कहाँ गएर बस्ने अन्योलमा छन् ।
मेलम्ची बजारको माथिल्लो भेग टारबाट घर हेर्दै गरेकी मेलम्ची नगर टारकी ३४ वर्षीया मनिता थापाका आँखा अझै ओभाएका छैनन् । ‘घर त डुब्यो, यो स्कुले कोठामा कतिन्जेल बसिरहनुपर्ने हो थाहा छैन, राहतको भरमा पेट भरिएको छ, जग्गा, सम्पत्ति सबै एकै रातमा बगर बनाइदियो,’ उनले भनिन् । सवारी चालक श्रीमान्को काम खोसियो, दुईसरो लत्ताकपडा र साथमा भएको नगदबाहेक घरबाट केही निकाल्न नपाएपछि उनको तीन जनाको परिवारलाई यहाँ बस्न मन लागेको छैन । ‘हामीजस्तै सबै एकअर्कालाई हेरेर चित्त बुझाउनुपरेको छ । कतै जान पनि कोरोनाको डर छ, कहाँ जानु र ?’ उनले भनिन् ।
बाढीको विध्वंस बिहीबारबाट केही सामान्य भएको छ । मेलम्ची र इन्द्रावतीमा पानीको सतह घट्दो छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ह्योल्मोभूमि, हेलम्बु हुँदै मेलम्ची खोलामा आएको बाढीमा परेर मेलम्चीका ६ सय र हेलम्बुका ३ सय जना प्रभावित भएका छन् ।
बाढीले बुधबार डुबानमा परेको सिन्धुपाल्चोकको मेलम्ची बजार र उद्धारमा खटिएको नेपाली सेनाको हेलिकप्टर । तस्बिर : अंगद ढकाल/कान्तिपुर
मेलम्ची बजारमा झन्डै डेढ सय घर पूरै डुबेका छन् । आधा दर्जन घरका केही भाग देखिएको छ । बिहीबार साँझसम्म तीन जनाको शव भेटिएको छ । बुधबार एक र बिहीबार दुई शव फेला परेका हुन् । सिन्धुपाल्चोकमा एक र सिन्धुलीको सुनकोसी नदी किनारमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार मृत्यु हुनेमा चिनियाँ नागरिक ४८ वर्षका यु सिछु, २३ वर्षीय गोडटी आनच्छ्यो र भारतीय नागरिक ३२ वर्षीय कमललोचन महतो छन् । यीबाहेक १३ जना अझै बेपत्ता रहेको डीएसपी सापकोटाले बताए । बेपत्ता भनिएका २० जनामध्ये चार जना सकुशल सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले बताए ।
बाढीका कारण फसेका ७४ जनाको बुधबार र बिहीबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ । बाढीले घरजग्गा सबै बगाइसकेपछि पनि बेलाबेला नदीको लेदोले ढाकेको घर हेरिरहेका मेलम्ची नगर पीपलटारका ४५ वर्षीय मानबहादुर तामाङलाई आफ्नोभन्दा बढी गाउँमा जग्गा नभएका परिवारलाई कष्ट हुने मान्छन् । ‘गाउँमा जग्गा हुने गाउँ जालान् तर यहाँबाहेक अन्यत्र एक पाइला जग्गा नहुने मेरोजस्तै परिवार कहाँ गएर बस्ने भन्ने अन्योल थपिएको छ,’ उनले भने ।
***
सशस्त्र र नेपाली प्रहरीले बिहीबार अबेर साँझसम्म पनि मेलम्ची बजारछेउको बीचमा जोगिएका घरबाट आवश्यक सामग्री ओसार्न स्थानीयलाई सघाइरहेका छन् । बाढीबाट विस्थापित ८० परिवारलाई इन्द्रेश्वरी मावि भवनमा गाँसबासको व्यवस्थापन गरेर आश्रय दिइएको छ । नदी किनारका बचेका घरमा अझै जोखिम भएकाले सुरक्षाकर्मीलाई खटाएर सामान्य आउजाउ पनि बन्द गरिएको मेलम्ची नगरकी उपमेयर भगवती नेपालले बताइन् ।
मेलम्चीबाट हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका जोड्ने मोटरेबल पुल बाढीले बगाएपछि सम्पर्क जोड्ने विकल्प खोज्न थालिएको उनले बताइन् । ‘तीनवटा गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ, हेलम्बुसँग सडक जोड्न तत्काल एक्स्काभेटर र इन्द्रावती, पाँचपोखरी थाङपाल गाउँपालिकासम्म पुलको विकल्पबारे सोच्दै छौं,’ उनले भनिन् । मेलम्ची र हेलम्बुमा बिजुली आपूर्ति र मोबाइल नेटवर्क नहुँदा उद्धार राहत पुर्याउन झनै कठिनाइ देखिएको उनको भनाइ छ ।
अविरल वर्षात्का कारण मंगलबार उर्लिएको मेलम्चीमा बाढी कसरी आयो भन्नेबारे यकिन तथ्य अहिलेसम्म खुल्न सकेको छैन । हेलम्बु–१ का अध्यक्ष मिङमार ह्योल्मोले भने मेलम्चीघ्याङभन्दा माथिल्लो पहाडी भाग नामासाङसाङ भास्सिएर मेलम्ची खोलाको मुहानक्षेत्र थुनिएर बाढी आएको हुन सक्ने बताएका थिए ।
मेलम्ची नगरका मेयर डम्बर अर्यालले हेलिकप्टर लिएर हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका क्षेत्र अनुगमनमा पुगेकाले कहीं ठूलो पहिरो खसेको नपाइएको बताएको उल्लेख गरे । हेलम्बुको शिरभेग र पाँचपोखरी थाङपाल गाउँपालिकाको गाङछपो हिमालमा असारमै हिउँ परेको प्रस्ट देखिने र त्यही हिउँ भास्सिएर आएको हुन सक्ने उनले अनुमान गरे । मंगलबार साँझतिर पाँचपोखरी थाङपाल गाउँपालिकाको याङ्ग्री लार्के क्षेत्र र हेलम्बु गाउँपालिकाबाट मेलम्चीमा पानीको सतह बढेको जानकारी जिल्ला प्रशासनमा आएलगत्तै मेलम्ची तटीय क्षेत्रका जनप्रतिनिधिलाई खबर गरेका थिए । गाउँमा सूचना पुग्दानपुग्दै बाढी आउन थाले पनि स्थानीय सुरक्षित स्थानतिर लागेकाले मानवीय क्षति हुन पाएन ।
नगरप्रमुख अर्यालले बाढीले मेलम्चीलाई १० वर्षपछि धकेलेको बताएका छन् । ‘खोला बजारको बीचसम्म आएर बगर तुल्यायो, झन्डै १० हजार रोपनी जमिन बगर बनेको अनुमान छ,’ उनले भने, ‘डेढ सय घर डुबे, अर्बौंको क्षति भएको छ । अहिले उद्धार र राहत व्यवस्थापनको प्रथम चरणमा छौं ।’ अनिश तिवारीकाे समाचार इकान्तिपुरबाट साभार
मकवानपुर । बागमती प्रदेश विपत व्यवस्थापन समितिले विपतका घटना बढेकाले राहत र उद्धारमा जुट्न सम्बन्धित समिति तथा मन्त्रालयलाई निर्देशन दिएकाे छ । विपत व्यवस्थापन समिति अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले उद्धारमा जुट्न विपत व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरुलाई निर्देशन दिएको हाे ।
बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय समेत गरेको छ । मनसुन सुरू भइ सक्रिय रहेकाेले बर्षाकाे कारण हुन सक्ने प्राकृतिक विपतीका घटनाबाट हुने क्षती न्युनीकरण गर्न तयारी, तत्काल उद्दार र राहत प्रभावकारी बनाउन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको विपत व्यवस्थापन कार्यकारी समिति र प्रदेशका सबै मन्त्रालयहरुलाई निर्देशन दिने निर्णय व्यवस्थापन समितिले गरेको छ ।
मनसुनी प्रभाव शुरु भइसकेको र बढी वर्षा हुने सम्बन्धित निकायहरुबाट क्षतीकाे पूर्वानुमानसमेत भएकोले अविरल बर्षाकाे कारण हुने बाढी, पहिरो, डुबान, भूक्षय जस्ता घटनाहरुबाट हुनसक्ने धनजनको क्षति न्युनीकरण गर्न आवश्यक तयारी, उद्धार तथा राहतका कार्यहरु प्रभावकारी बनाउन प्विपत व्यवस्थापन समितिकाे बैठक बसेकाे हाे ।
समितिले मनसुनबाट हुने क्षति रोकथाम तथा उद्धारका लागि प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र अन्तर्गत गोदामघरमा भएका उद्धार सामाग्रीको मौज्दातबाट बागमती प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुलाई न्युनतम उद्धार सामाग्री तत्काल पठाउने समेत निर्णय भएकाे छ ।
असार १ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा गएको भिषण बाढीबाट पीडितहरुका लागि तत्काल खाद्यान्न व्यवस्थापन गर्नका लागि आवश्यक खाद्यसामाग्री जिल्ला विपत व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई उपलब्ध गराउने, मनसुनी वर्षाका कारण हुनसक्ने सम्भावित विपतका घटनाहरुलाई मध्यनजरगरी प्रदेश अन्तर्गतका सबै सुरक्षा निकायहरु उच्च सतर्कतामा रही खोज, उद्धार एवम् राहत वितरण कार्यमा तदारुकताकासाथ खट्न साथै सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्ने, प्रदेश विपत व्यवस्थापन कोषमा रु १० करोड रकम थपगर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई लेखी पठाउनेलगायत निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिए ।
विश्वव्यापीरुपमा फैलिरहेको नयाँ ‘भेरियन्ट’ सहितको कोभिड १९ सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारकार्य गर्न कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताबाट सिङ्गटी अस्पताल, दोलखालाई २० लाख, नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई (धुलिखेल अस्पतालमार्फत) २० लाख, नुवाकोट सिटी कम्युनिटी अस्पताललाई ३० लाख, नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुरलाई ३५ लाख, मनमोहन मेमोरियल सामुदायिक अस्पताल, काठमाडाैलाई ५० लाख र ख्वप अस्पताल, भक्तपुरलाई १ करोड रकम सामाजिक विकास मन्त्रालयमार्फत उपलब्ध गराउने बैठकले निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिए ।
मुख्यमन्त्री पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

मुख्यमन्त्री डोरमणी पोडेलले चितवनको बाढी प्रभावित क्षेत्रको विहीबार अवलोकन गरेका छन । उनले नारायणी नदीले कटान गरेको चितवनका विभिन्न क्षेत्रको अवलोकन गरेका हुन । मुख्यमन्त्री पौडेलले नारायणी नदीले कटान गरेको गोलाघाट, न्युरे चोक, सिस्वार, गाँजीपुरलगायतका नदी तटीय क्षेत्रको अवलोकन गरेका छन् ।
भरतपुर महानगरपालिकाको वडा नं। २६ र २७ का विभिन्न स्थानमा नारायणी नदीले कटान गरेको छ भने चैते धान लगायतका अन्नबालीमा क्षति पु¥याएको छ । स्थानीयले वर्षेनी नारायणी नदीले दुःख दिएको भन्दै दीर्घकालिन समाधानका लागि मुख्यमन्त्री पाैडेल समक्ष आग्रह गरेका थिए । पौडेलले तत्कालिन र दीर्घकालिन रुपमा नदी नियन्त्रणको काम हुने विश्वास स्थानीयलाई दिलाएका छन् । ‘वर्षा शुरु भईसकेकाले तत्कालका लागि यसलाई नियन्त्रण गर्ने कामका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्छ ।’ पाैडेलले निरीक्षण पश्चात स्थानीय सँग भने ‘दीर्घकालिन रुपमा नारायणी नदीलाई व्यवस्थित गरी सदाका लागि यो समस्या अन्त्य गर्न प्रदेश सरकार लागिपर्ने छ ।’ स्थानीयले नदी किनारबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन् हुँदा वर्षेनी नदी मानव वस्तीतर्फ आईरहेको तर्फ ध्यानाकर्षण गराएका थिए ।

अवलोकनमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावल, बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपिया, प्रदेश सांसद विजय सुवेदी र कृष्ण भूर्तेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल लगायतकाकाे उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोक । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तिको सामना गर्दै आएको सिन्धुपाल्चोकले यो वर्षको १ असारमा नै ठूलो विपत्तिको सामना गर्नुपरेको छ ।
मंगलबार बेलुकी हेलम्बु गाउँपालिकाको ‘बखान’ भन्ने स्थानमा ठूलो पहिरो गएपछि मेलम्ची नदी थुनिएको थियो । थुनिएको नदी खुलेपछि नदीले विनाश रूप धारण गर्दै क्षति बनाएको थियो । ‘मेलम्ची खानेपानी आयोजनाको अम्बाथानमा रहेको ड्यामभन्दा माथिबाट आएको पहिरोले मेलम्ची नदी थुनेको देखियो,’ हेलिकोप्टरबाट पहिरो स्थलमा पुगेका नेपाली सेना गोरख बक्स गणका प्रमुख निर्मलकुमार श्रेष्ठले भने, ‘त्यही पहिरोले नै तल्लो तटीय क्षेत्रमा क्षति भएको देखियो ।’
पहिरोपछि आएको बाढीले मानवीय क्षतिको यकिन विवरण प्राप्त नभए पनि केही बेपत्ता छन् । सात जनाको शव भेटिएको छ । हेलम्बु २ का माधव भण्डारी, गणेश ज्योति, हेलम्बु ३ की टिकामाया खड्का, हेलम्बु ६ का च्यामा तामाङ, उनकी पत्नी, ७ का ज्ञानेन्द्र कक्षपति र सुरेन्द्र नेपालको मेलम्ची बाढ मा परेर निधन भएको छ ।
उनी रु सबै ट्राउट माछा फार्ममा काम गर्नेहरु रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । ‘बखान क्षेत्रमा गएको पहिरो हेर्दा अन्य पहिरोभन्दा फरक देखिएको छ । लाभा जस्तै बगिहेको छ, ठूलो ज्वालामुखी विस्फोटनपछि निस्कने लाभाजस्तै लेदो बगिरहेको छ,’ सेनानी श्रेष्ठले भने, ‘यस्तो प्रकृतिको पहिरो यसअघि देखिएको नै थिएन ।’
अहिले पनि पहिरो झर्न नरोकिएको र लेदो पनि बगिरहेको उनले जानकारी दिए । ‘माथि हिमाल नै फुटेर आएको जस्तो अवस्था छ, लेदोले नदीको सतह २ मिटर भन्दा अग्लो भएको छ,’ प्रमुख सेनानी श्रेष्ठले भने । पानीसँगै बाक्लो घोल आएर नदी छेउछाउका घरमा पसेर क्षति बनाएको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिए ।
सडक सम्बन्ध टुट्यो
पहिरो र त्यसपछि आएको बाढीले इन्द्रावती र मेलम्ची नदीमाथि रहेका चारवटा पक्की पुल बगाएको छ । पुल मात्रै होइन नदीले मेलम्ची हेलम्बु सडकखण्ड पनि पुरै कटान गरेको छ । मेलम्चीलाई सदरमुकाम चौतारसँग जोड्ने पक्की पुल बाढीले बगाएको छ भने मेलम्ची र दुवाचौर जोड्ने अर्काे पुल पनि बगाएको छ । ‘मेलम्चीमाथि हेलम्बुसम्म जति पनि पक्की र झोलुङे पुल छ, त्यो सबै नै बगाएको छ,’ नेपाली सेना गोरख बक्स गणका प्रमुख निर्मलकुमार श्रेष्ठले भने ।
नदी किनारका घर टहरा र माछा व्यावसाय सबै बगायो
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बुको अम्बाथनदेखि मेलम्ची बजारसम्म बाढीले ३ सय बढी घरमा क्षति पु¥याएको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची नगरपालिकाभित्रका १ सय ३३ र हेलम्बु गाउँपालिकाभित्र १ सय ५० घर प्रारम्भिक रूपमा क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए ।
बाढीबाट विस्थापितलाई मेलम्चीस्थित इन्द्रेश्वरी माविमा र हेलम्बु क्षेत्रका स्थानीयलाई पनि डाँडाका सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए । मेलम्ची नदी किनारमा ट्राउट माछापालन गर्ने व्यावसायीलाई बाढीले नराम्रोसँग झट्का दिएको छ । नदीछेउमा रहेको एउटा पनि ट्राउट माछा फर्म नराखी बाढीले बगाएको छ । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारको उद्धार गरिएको छ ।
बाढीमा फसेकाको उद्धार
मेलम्ची खानेपानी आयोजनाको आम्बाथान मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीलाई नेपाली सेनाले उद्धार गरेको छ । बाढीमा फेसका ४७ जना कामदारलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकोप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
मंगलबार राति आएको बाढीले कामदार बसेको क्याम्प बगाएको थियो । केही कामदार भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन् । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माण कार्य भइरहेकाले नेपाली, चिनियाँ र भारतीय तथा आयोजनाका कर्मचारीसहित ७० जना त्यहाँ कार्यरत थिए ।
बाढीमा फसेकाको खोजी तथा उद्धार कार्य भइरहेको छ । आयोजनाको कर्मचारी मजदुरको उद्धारमा मेलम्ची खानेपानी आयोजना, निर्माण व्यवसायी, परामर्शदाता खटिरहेको र बेपत्ताको खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाका २३ कर्मचारी र मजदुर अझै सम्र्पकविहीन रहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याममा क्षति बनाए पनि सुरुङको गेट बन्द गरिएकाले सुरुङमा भने क्षति नभएको खानेपानी आयोजनाले जानकारी दिएको छ । राजधानी दैनिककाे लागि दिनेश थापाले लेख्नु भएकाे समाचार साभार
