मकवानपुर । बागमती प्रदेश विपत व्यवस्थापन समितिले विपतका घटना बढेकाले राहत र उद्धारमा जुट्न सम्बन्धित समिति तथा मन्त्रालयलाई निर्देशन दिएकाे छ । विपत व्यवस्थापन समिति अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले उद्धारमा जुट्न विपत व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरुलाई निर्देशन दिएको हाे ।
बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय समेत गरेको छ । मनसुन सुरू भइ सक्रिय रहेकाेले बर्षाकाे कारण हुन सक्ने प्राकृतिक विपतीका घटनाबाट हुने क्षती न्युनीकरण गर्न तयारी, तत्काल उद्दार र राहत प्रभावकारी बनाउन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको विपत व्यवस्थापन कार्यकारी समिति र प्रदेशका सबै मन्त्रालयहरुलाई निर्देशन दिने निर्णय व्यवस्थापन समितिले गरेको छ ।
मनसुनी प्रभाव शुरु भइसकेको र बढी वर्षा हुने सम्बन्धित निकायहरुबाट क्षतीकाे पूर्वानुमानसमेत भएकोले अविरल बर्षाकाे कारण हुने बाढी, पहिरो, डुबान, भूक्षय जस्ता घटनाहरुबाट हुनसक्ने धनजनको क्षति न्युनीकरण गर्न आवश्यक तयारी, उद्धार तथा राहतका कार्यहरु प्रभावकारी बनाउन प्विपत व्यवस्थापन समितिकाे बैठक बसेकाे हाे ।
समितिले मनसुनबाट हुने क्षति रोकथाम तथा उद्धारका लागि प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र अन्तर्गत गोदामघरमा भएका उद्धार सामाग्रीको मौज्दातबाट बागमती प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुलाई न्युनतम उद्धार सामाग्री तत्काल पठाउने समेत निर्णय भएकाे छ ।
असार १ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा गएको भिषण बाढीबाट पीडितहरुका लागि तत्काल खाद्यान्न व्यवस्थापन गर्नका लागि आवश्यक खाद्यसामाग्री जिल्ला विपत व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई उपलब्ध गराउने, मनसुनी वर्षाका कारण हुनसक्ने सम्भावित विपतका घटनाहरुलाई मध्यनजरगरी प्रदेश अन्तर्गतका सबै सुरक्षा निकायहरु उच्च सतर्कतामा रही खोज, उद्धार एवम् राहत वितरण कार्यमा तदारुकताकासाथ खट्न साथै सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्ने, प्रदेश विपत व्यवस्थापन कोषमा रु १० करोड रकम थपगर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई लेखी पठाउनेलगायत निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिए ।
विश्वव्यापीरुपमा फैलिरहेको नयाँ ‘भेरियन्ट’ सहितको कोभिड १९ सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारकार्य गर्न कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताबाट सिङ्गटी अस्पताल, दोलखालाई २० लाख, नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई (धुलिखेल अस्पतालमार्फत) २० लाख, नुवाकोट सिटी कम्युनिटी अस्पताललाई ३० लाख, नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुरलाई ३५ लाख, मनमोहन मेमोरियल सामुदायिक अस्पताल, काठमाडाैलाई ५० लाख र ख्वप अस्पताल, भक्तपुरलाई १ करोड रकम सामाजिक विकास मन्त्रालयमार्फत उपलब्ध गराउने बैठकले निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिए ।
मुख्यमन्त्री पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

मुख्यमन्त्री डोरमणी पोडेलले चितवनको बाढी प्रभावित क्षेत्रको विहीबार अवलोकन गरेका छन । उनले नारायणी नदीले कटान गरेको चितवनका विभिन्न क्षेत्रको अवलोकन गरेका हुन । मुख्यमन्त्री पौडेलले नारायणी नदीले कटान गरेको गोलाघाट, न्युरे चोक, सिस्वार, गाँजीपुरलगायतका नदी तटीय क्षेत्रको अवलोकन गरेका छन् ।
भरतपुर महानगरपालिकाको वडा नं। २६ र २७ का विभिन्न स्थानमा नारायणी नदीले कटान गरेको छ भने चैते धान लगायतका अन्नबालीमा क्षति पु¥याएको छ । स्थानीयले वर्षेनी नारायणी नदीले दुःख दिएको भन्दै दीर्घकालिन समाधानका लागि मुख्यमन्त्री पाैडेल समक्ष आग्रह गरेका थिए । पौडेलले तत्कालिन र दीर्घकालिन रुपमा नदी नियन्त्रणको काम हुने विश्वास स्थानीयलाई दिलाएका छन् । ‘वर्षा शुरु भईसकेकाले तत्कालका लागि यसलाई नियन्त्रण गर्ने कामका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्छ ।’ पाैडेलले निरीक्षण पश्चात स्थानीय सँग भने ‘दीर्घकालिन रुपमा नारायणी नदीलाई व्यवस्थित गरी सदाका लागि यो समस्या अन्त्य गर्न प्रदेश सरकार लागिपर्ने छ ।’ स्थानीयले नदी किनारबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन् हुँदा वर्षेनी नदी मानव वस्तीतर्फ आईरहेको तर्फ ध्यानाकर्षण गराएका थिए ।

अवलोकनमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावल, बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपिया, प्रदेश सांसद विजय सुवेदी र कृष्ण भूर्तेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल लगायतकाकाे उपस्थिति रहेको थियो ।

