मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । यता इन्द्रसरोवर गाउँपालिकामा अर्का एक जना घाइते भएका छन् ।
मंगलबार राती बर्षासँगै परेको चट्याङ लागेर घाइते भएका मकवानपुरको राक्सिराङ– ८ गोङरेङमा ६५ बर्षीय जीतबहादुर गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका गोलेलाई उपचारका लागि मनहरी ल्याइएको थियो । उनको उपचारको क्रममा रातिनै मनहरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
गोलेलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो ।
त्यसैगरी मंगलबार साँझ परेको चट्याङले इन्द्रसरोवर गाउँपालिका–२ कि एक जना महिलाको घाइते भएकी छिन् । चट्याङ लागेर ६० बर्षीय ठुलीमाया रुम्बा घाइते भएकी हुन् । उनलाई उपचारको लागि ललितपुरमा रहेको पाटन अस्पतालमा लगिएको कार्कीले बताए ।
मकवानपुर । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित-चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मंगलबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रही रहेन छ । प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित-चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभरका गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको साथै हावा हुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ । तराई भू-भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएकाे छ ।
मकवानपुर । गएराति २ बजेदेखि परेकाे वर्षासँगै मकवापुरमा हिमपात भएकाे छ । मकवानपुरकाे उत्तरीस्थित थाहानगरपालिकाकाे सिमभन्ज्याङ दामन अघाेर भीमफेदी इन्द्रसराेवरकाे देउराली क्षेत्रमा बाक्लो हिउँ परेकाे छ ।
बाक्लाे हिउँ परेपछि त्रिभुवन राजपथ शुक्रबार विहानैदेखि अवरुद्ध भएकाे छ । सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ सवारीसाधनहरु सचालनमा कठिनाइ भएकाे छ । हिउँमा सवारी सचालन हुँदा दुर्घटना हुने जोखिम भएकोले यातायात संचालनमा रोक लगाइएको हो ।
सो क्षेत्र अन्तरगत पर्ने सडक खण्डमा जमेको हिउँ हटाउन नसकेपछि राजमार्ग आज सुचारु भएकाे हुन सकेकाे छैन । मकवानपुरकाे अन्यत्र लगायत उक्त क्षेत्रमा अहिले पनि निरन्तर बर्षासँगै हिमपातसँगै भइरहेको कारण भोलि शनिबार पनि राजमार्ग अवरुद्ध हुनसक्ने संभावना रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
थाहा नगरपालिकाले सडकमा डेढ फिट अग्लो हिउँ जमेको र २ वटा जेसीबी प्रयोग गरी राजमार्गको हिउँ हटाएर सडक सुचारु गर्ने प्रयास गरिएको भएपनि लगातार हिमपात भइरहेकोले हटाउन नसकिएकाे जनाएको छ । अब मौसम सुधार भएपछि मात्रै सडकमा जमेकाे हिउँ हटाएर राजमार्ग सुचारु हुने बताइएकाे छ ।

आहा प्रकृतिः गत राती देखिकाे अविरल बर्षा सँगै मकवानपुरमा हिमपात भएकाे छ । याे समेत गरी मकवानपुरमा तेस्राे पटक हिउँ परेकाे छ । पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ दामन, भीमफेदीको अघोर र ईन्द्रसरोबरको देउराली तथा मकवानपुरगढी गाउँपालिका ८ बुढीचौरमा पनि हिमपात भएको छ । हेटौंडाको बुद्धचोक लगाएत विभिन्न स्थानबाट उक्त क्षेत्रको डाँडाकाँडा सेताम्मे भएको देख्न सकिन्छ । हिउँ परेसँगै हिउँमा रमाउनेहरु विहानै देखि दामन सिमभन्ज्याङ क्षेत्रमा पुगेका छन् ।




मकवानपुर । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही तराइका केही भू-भागमा हुस्सु कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखा जनाएकाे छ ।
हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहने अनुमान छ ।
ती क्षेत्रका १/२ ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ । केही दिनदेखि प्रभावित रहेको मौसम बिस्तारै सुधार हुँदै जानेक्रममा रहेको मौसमविद्ले जानकारी दिए । तराईको हुस्सु र कुहिरो हट्न भने केही दिन लाग्नेछ । चिसो कायमै रहेकाले जोगिन पनि महाशाखाले अनुरोध छ ।
प्रदेश १ तथा बाग्मती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहनुका साथै सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु समेत महाशाखाले अनुरोध गरेकाे छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १४गते शुक्रबार
प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ तथा बाग्मती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।
माघ १५गते शनिबार
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
माघ १६गतेआइतबार
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।