मकवानपुर । गएराति २ बजेदेखि परेकाे वर्षासँगै मकवापुरमा हिमपात भएकाे छ । मकवानपुरकाे उत्तरीस्थित थाहानगरपालिकाकाे सिमभन्ज्याङ दामन अघाेर भीमफेदी इन्द्रसराेवरकाे देउराली क्षेत्रमा बाक्लो हिउँ परेकाे छ ।
बाक्लाे हिउँ परेपछि त्रिभुवन राजपथ शुक्रबार विहानैदेखि अवरुद्ध भएकाे छ । सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ सवारीसाधनहरु सचालनमा कठिनाइ भएकाे छ । हिउँमा सवारी सचालन हुँदा दुर्घटना हुने जोखिम भएकोले यातायात संचालनमा रोक लगाइएको हो ।
सो क्षेत्र अन्तरगत पर्ने सडक खण्डमा जमेको हिउँ हटाउन नसकेपछि राजमार्ग आज सुचारु भएकाे हुन सकेकाे छैन । मकवानपुरकाे अन्यत्र लगायत उक्त क्षेत्रमा अहिले पनि निरन्तर बर्षासँगै हिमपातसँगै भइरहेको कारण भोलि शनिबार पनि राजमार्ग अवरुद्ध हुनसक्ने संभावना रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
थाहा नगरपालिकाले सडकमा डेढ फिट अग्लो हिउँ जमेको र २ वटा जेसीबी प्रयोग गरी राजमार्गको हिउँ हटाएर सडक सुचारु गर्ने प्रयास गरिएको भएपनि लगातार हिमपात भइरहेकोले हटाउन नसकिएकाे जनाएको छ । अब मौसम सुधार भएपछि मात्रै सडकमा जमेकाे हिउँ हटाएर राजमार्ग सुचारु हुने बताइएकाे छ ।


