माकवानपुर । बागमती प्रदेश सरकारले सय दिनकाे उपलब्धी सार्वजनिक गरेकाे छ । राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भएपछिका १ सय दिनमा गरेका कामको उपलब्धी शुक्रबार सार्वजनिक गरिएको हाे ।
पाण्डे २०७८ कार्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पद बहाली गरे पश्चात् बागमती प्रदेश सरकारका उपलब्धीहरु प्रदेश मन्त्रीहरु, सचिबहरु, पत्रकारहरुको रोहबरमा सार्वजनिक गरेका हुन् । माओवादी केन्द्र, नेपाली कांग्रेस र एकिकृत समाजवादी दल मिलेर बनेकाे गठबन्धन सरकारमा मूख्यमन्त्री पाण्डेले १ सय दिनमा गरेका प्रमुख उपलव्धी ६७ बुँदामा सार्वजनिक गरेका छन् ।
प्रदेशबासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सबलीकरण, न्यायपूर्ण, विभेद रहित, समतामूलक समाज निर्माण र सबल एवं समृद्ध प्रदेश निर्माणको सङ्कल्पका साथ गठन भएकाे सरकारले कार्यभार सम्हालेको सय दिन पुगेको उपलक्षमा गरेका कामहरु सार्वजनिक गरिएको हो ।
प्रदेश सरकारले गठवन्धनमा सहभागी दलहरूको सहभागितामा प्रभावकारी सेवा प्रवाह, दीगो विकास निर्माण, सन्तुलित आर्थिक विकास, उत्पादन तथा रोजगारी प्रवर्द्धन, गरिवी निवारण, शासकीय सुधार, भष्ट्राचार निवारण, सुशासन प्रवर्द्धन लगायतका उद्देश्य पुरा गर्न प्रदेशको स्रोत, साधन, सामर्थ्य र संयन्त्रलाई प्रभावकारी ढंगले र अभियानकै रुपमा परिचालन गर्ने नीति सहितको बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम, २०७८” तर्जुमा गरी कार्यान्वयनमा ल्याएको उनले बताए ।
प्रदेश सरकारको सचिवालय तथा प्रशासनिक भवनहरु निर्माण गर्न “प्रशासकीय भवनका लागि जग्गा पहिचान समिति” गठन गरी आवश्यक कार्य अघि बढाइएको बताउनुभयो । चालु आर्थिक वर्ष भित्रै जग्गा पहिचान गरी आफ्नो नाममा ल्याई प्रशासकीय भवन निर्माणको प्रक्रिया अघि बढाइने योजना सुनाउनुभयो । । कोभिड १९ को रोकथाम, उपचार र नियन्त्रण सम्बन्धी व्यवस्था गर्न “कोभिड १९ व्यवस्थापन प्रदेश निर्देशक समिति” गठन गरी आवश्यक कार्य अघि बढाइएको सार्वजनिक गरिएकाे उपलब्धीमा उल्लेख गरिएकाे छ ।
मुख्यमन्त्रीको अध्यक्षता र नेपाल सरकारका मुख्य सचिवको समुपस्थितिमा सात वटै प्रदेशका प्रमुख सचिवको सहभागितामा “अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भई प्रदेशका समस्या तथा समाधानका सम्बन्धमा ११ बुँदे प्रतिबद्धता पत्र जारी गरिएको कामलाई प्रमुख उपलब्धीका रुपमा प्रदेश सरकारले राखेको छ ।
प्रदेशका पदाधिकारी तथा कर्मचारीलाई नीति निर्माण, सेवा प्रवाह लगायतको विषयमा क्षमता अभिवृद्धि गर्न “बागमती प्रदेशको क्षमता विकास योजना, २०७८” को मस्यौदा तयार भएको छ। “बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका कृषकहरू लक्षित गहुँ बालीको बीउमा राहत वितरण सम्बन्धी कार्यविधि,२०७८” स्वीकृत गरी कृषकहरूलाई गहुँको बीउ एवम् मलमा अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको पाण्डेले बताउनुभयो । प्रदेश सरकारको आवश्यकता अनुरूपका भौतिक तथा सामाजिक पूर्वाधार विकासको कार्यक्रम सञ्चालन गर्न “प्रदेश विकास कार्यक्रम (विशेष) कार्यान्वयन सम्बन्धी कार्यविधि, २०७८” स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।
जनशक्ति व्यवस्थापन र कर्मचारीको अभिलेख व्यवस्थापन गर्न “प्रदेश किताबखाना (स्थापना तथा कार्यसञ्चालन) आदेश, २०७८” स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको जानकारी गराउनुभयो । बहुवर्षीय आयोजनाको छनौट तथा ठेक्का सम्बन्धी कार्यलाई व्यवस्थित बनाउन “बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड, २०७८” स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको मुख्यमन्त्री पाण्डेको नेतृत्वको सरकारले गरेको उपब्धीका रुपमा लियएको छ । “सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०७८” स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताइएको छ ।

