मकवानपुर । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही तराइका केही भू-भागमा हुस्सु कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखा जनाएकाे छ ।
हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहने अनुमान छ ।
ती क्षेत्रका १/२ ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ । केही दिनदेखि प्रभावित रहेको मौसम बिस्तारै सुधार हुँदै जानेक्रममा रहेको मौसमविद्ले जानकारी दिए । तराईको हुस्सु र कुहिरो हट्न भने केही दिन लाग्नेछ । चिसो कायमै रहेकाले जोगिन पनि महाशाखाले अनुरोध छ ।
प्रदेश १ तथा बाग्मती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहनुका साथै सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु समेत महाशाखाले अनुरोध गरेकाे छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १४गते शुक्रबार
प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ तथा बाग्मती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।
माघ १५गते शनिबार
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
माघ १६गतेआइतबार
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

