मकवानपुर । नेपाली काँग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेकाे छ । कार्यसमितिको भर्चुअल बैठकबाट सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् ।
केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि काँग्रेसले कार्यसम्पादन समिति गठन गरेकाे हाे । काँग्रेस विधान अनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भएपनि आज पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो । जसमा १३ जना पदेन सदस्य रहेका छन् । कांग्रेस केन्द्रीय समिति १ सय ६८ सदस्यीय हुने व्यवस्था छ।
सभापति देउवाले १४ औं महाधिवेशनमा आफूलाई सहयोग गरेका र शीर्ष नेताहरू समेटेर कार्यसम्पादन समिति गठन गरेका हुन्। कांग्रेसमा १३ जना पदाधिकारी छन् भने कोषाध्यक्ष मनोनीत गर्न बाँकी छ। कार्यसम्पादन समितिमा प्रवक्ता पनि सदस्य हुन्छन् तर अहिले कांग्रेसले प्रवक्ता नियुक्त गरेको छैन।
सभापतिले ३१ जना केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा राख्ने पाउने व्यवस्था छ । २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेकाले कार्यसम्पादन समितिले भने पूर्णता पाएकाे छैन ।
कार्यसम्पादन समिति सदस्य
पदाधिकारीहरुबाट समितिमा रहने पदेन सदस्यहरु
सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार ।
बरिष्ठ नेताहरुबाट समिति सदस्यहरु
वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह सम्पादन समिति सदस्य बनेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापा ।
केन्द्रीय सदस्यहरूबाट समिति सदस्यहरु
शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी , एनपी साउद, सुजाता कोइराला, आनन्द ढुंगाना ।

