मकवानपुर । विश्व वातावरण दिवस हेटौडामा विविध कार्यक्रम गवरी मनाइएकाे छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडामा ५१ औं विश्व वातावरण दिवस मनाइएको हाे । साेमबार विश्व वातावरण दिवसको दिन वातावरणीय सचेतना मुलक बृहत र्यालि तथा पुरस्कार वितरण र सम्मान कार्यक्रम गरी दिवस मनाइएकाे हाे ।
प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको हो । प्लाष्टिक प्रदूषणले विश्वमा असर परिरहेको भन्दै याे वर्ष प्लाष्टिकको प्रयोगलाई रोकथाम गर्न प्ररित गर्ने उद्देश्यले सरकारले दिवसको नारा तय गरेकाे हाे । हेटौंडाका १९ वटै वडाहरुमा रहेका टोल विकास संस्थाहरुले आफ्नै क्षेत्रमा र हेटौंडाको मुख्य बजार वरपरका क्षेत्रका टोल विकास संस्थाहरुले बजार क्षेत्रमा र्याली समेत निकालेर यो दिवस मनाएका हुन् ।
हेटौंडामा ५१ औँ विश्व वातावरण दिवसको अवसरमा हुप्रचौरबाट सुरु भएको र्यालि शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्ध चोकहुँदै रोयल पार्टी प्यालेसमा गएर कार्यक्रम गरि समापन गरिएकाे थियाे । कार्यक्रममा टोल विकास संस्थाको विवरणहरू समेटिएको टोल विकास दर्पण पुस्तिका समेत विमोचन गरिएको छ । टोल विकासमा रहेर वातावरण संरक्षणमा सहयोग पुर्याएकाे भन्दै रामकृष्ण थापा र वातावरण संरक्षण र अभियान संचालनमा महत्वपूर्ण योगदान पुर्याएकाे भन्दै ज्ञान बहादुर थापालाई वातावरण सम्मान २०८० द्वारा सम्मान गरिएको थियो ।

वातावरण दिवसकाे समापन कार्यक्रममा सप्ताहव्यापीरुपमा आयोजना भएका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा उत्कृष्ट र्यालि पुरस्कार तर्फ विकास टोल विकास संस्था हेटौंडा-८ प्रथम, अब्बल डाडा टोल विकास संस्था हेटौंडा-५ दोश्रो, सिमलटार टोल विकास संस्था हेटौंडा-११ तेश्रो, मैदाटोल विकास संस्था हेटौंडा-८, सामुदायिक विकास तथा सचेतना नेपाल र पच्चेबाजा समुह हेटौंडा- १ सान्तवना भएका छन ।
र्यालि कार्यक्रममा १७० भन्दा बढी संघसंस्थाको उपस्थिति रहेको र करिब ७ हजार भन्दा बढी व्यक्तिको उपस्थिति रहेको टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए । समापन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले २०८१ जेठ देखि प्लास्टिक झोला रहित हेटौंडा बनाउन अभियानहरू संचालन गरिने बताइन् ।
कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, भारती पाठक, एकालाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पान्डे, मकवानपुर जिल्ला प्रहरी प्रमुख बामदेब गौतम, हेटौँडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न सरकारी एवम् गैर सरकारी संघ संस्थाहरूको प्रमुख एवम् प्रतिनिधिहरू, टोल विकासका संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
- चन्दा खड्का
सन् १९७२ मा स्विडेनको राजधानी स्टक होममा संयुक्त राष्ट्र सम्मेलन बाट ५ जुन मा विश्व वातावरण दिवस मनाउन सभाले आह्वान गरेको हो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ। यो दिवस सन् १९७४ मा ‘मात्र एक पृथ्वी’ वा वन्ली वन अर्थ को नाराका साथ विश्वव्यापी रुपमा मनाईयो ।
विश्व वातावरण दिवसको मुख्य उद्देश्य प्रकृतिलाई जोगाउनु र विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा जनमानसलाई प्रोत्साहन गर्नु हो । सन् १९९२ को रियो शिखर सम्मेलनले दिगो विकासका सिद्धान्तहरूलाई लक्ष्यका रूपमा हासिल गरी सबै प्रकारका गरिबी उन्मूलन गरी मानव पृथ्वी र समृद्धिका लागि एक समान न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने संयुक्त राष्ट्र संघको परिकल्पनालाई मूर्त रूप दिन पनि विश्व वातावरण दिवसले विशेष भूमिका खेल्छ । प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवशको अवसरमा विश्वव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै मनाउँदै आईरहेको छ। यस वर्ष संयुक्त राष्ट्रसंघले solutions to plastic pollution लाई मूल विषय र Beat Plastic Pollution भन्ने मूल नाराका साथ मनाउन लागिएको छ। यस नारालाई स्थानीयकरण गर्दै “प्लास्टिक जन्य प्रदुषण निर्मुल पारौ: वातावरणमैत्री विकल्पको उपयोग गरौं” भन्दै विश्व वातावरण दिवस २०८० नेपालमा पनि मनाइदैछ ।
यो पटकको वातावरण दिवसको मुख्य उद्देश्य प्लाष्टिकजन्य वस्तुको प्रयोगबाट हुने प्रदुषणबारे जनचेतना बढाउँदै त्यस्ता बस्तुको प्रयोगमा कमी ल्याउन के कस्ता उपायहरु अपनाउनुपर्छ भन्ने कुरामा केन्द्रीत छ। प्लाष्टिकको सबैभन्दा बढि मात्रमा कार्बन उत्सर्जन हुन्छ । दक्षिण एसिया प्लास्टिक प्रदुषणबाट ग्रस्त छ । वर्षेनी ३३० मिलियन मेट्रिक टन फोहर डम्पिङ्ग साईटमा पुग्दछ जस मध्य ४० मिलियन प्लास्टिक जन्य फोहर छन् । हाम्रो क्रियाकलापहरुबाट हरितगृह ग्यास उत्पादन हुन्छन जसलाई हामी carbon footprint भन्छौं। विश्वको प्लास्टिक carbon footprint विश्वको हरित गृह ग्यास उतसर्जनको ४.५% रहेको छ ।यो क्रम अझै बढ्दो छ।
धेरै जस्तो खानेकुराको प्याकेजिङ र पिउने पानीको बोतल प्लाष्टिककै हुन्छ र उपभोक्ताले सो उपयोग गरिसकेपछि जथाभावी फाल्नाले प्लाष्टिक नपुगेको ठाउँ नै छैन । प्लाष्टिक जन्य फोहोरलाई जलाउँदा निस्किने पोलिक्लोरोनेटेड बाइफिनाएल (polychlorinated biphenyl)- डाइअक्सिन, फ्युरान (Dioxin, furan) धुँवा विषाक्त हुन्छ । प्लाष्टिकजन्य फोहरले माटो, पानी र हावाको प्रदुषण गर्छ र अन्ततः मानिस तथा पशुपंक्षी र जनावरहरूको स्वास्थ्यको लागि पनि हानिकारक हुन्छ । यसले भूमिको प्रजनन क्षमतालाई कम गर्दछ साथै नदी, सिमसार प्रदुषण र जलीय प्रणालीलाई समेत असर गर्दछ । पोलिस्टेरेन पोलिमरहरूबाट बनेका फोम कप, दही र डेली कन्टेनर जस्ता प्लास्टिकका समानहरु जलाउँदा स्टिरेन ग्याँस उत्सर्जन हुन्छ जुन सजिलै छाला र फोक्सोबाट अवशोषित भई हृदय रोगको जोखिम बढाउनका साथै श्वासप्रश्वास समस्या पनि निम्त्याउँछ ।प्लाष्टिकका साना कण (microplastic) पानीमा मिसिएर हाम्रो शरीरमा प्रवेश गर्दा प्लास्टिकले शरीर भित्र रहेको इन्डोक्राइन हर्मोनको उत्पादनमा रोकावट गरी दिर्घ रोग लाग्ने गर्दछ ।
प्लास्टिकमा हुने डाइअक्सिन र फुरान्सको जैविक संचय स्वभावका (Persistent organic pollutant or POPs) करण, यी रसायनहरू धेरै समयसम्म वातावरणमा रहिरहन्छन। बिशेष गरि अन्डा, मासु , र डेरी उत्पादनहरुको सेवनबाट यी तत्वहरु मानव शरिरमा प्रवेश गर्छन् । प्रयोगमा नआउने प्लास्टिक झोलालाई उपयुक्त स्थानमा विसर्जजन गर्ने, सकेसम्म एउटै झोला बारम्बार प्रयोग गर्ने, ५–आर कार्यलाई प्रोत्साहन गर्ने (सकेसम्म प्लास्टिक झोला प्रयोग नगर्ने Refuse प्लास्टिक झोलालाई वातावरणमैत्री विकल्पले विस्थापन गर्ने, खेर जाने झोलाको परिमाण घटाउने Reduce, खेर जाने झोलालाई पुनः प्रयोग गर्ने Reuse, , खेर जाने प्लास्टिकलाई पुनः प्रशोधन गर्ने Recycle र पुनः प्रयोगमा आउन नसक्ने प्लास्टिकबाट ऊर्जा उत्पादन गर्ने Recover) यसलाई circular economy अर्थात चक्रिय अर्थ व्यवस्था पनि भनिन्छ।
प्लाष्टिकजन्य पदार्थको अर्को डरलाग्दो जोखिम भनेको जमिन मुनीको पानीलाई प्रदुषित गर्ने हो। क्लोरिनेटेड प्लाष्टिकलाई माटोमा जथाभावी मिसाउँदा सो वरीपरीको माटोमा खतराजन्य पदार्थ छोडन पुग्छ जुन पदार्थ जमिनमुनी रहेको पानी र नजिकका नदीनालामा मिसिन पुग्दा उक्त पानी प्रयोग गर्ने सम्पूर्ण प्राणीलाई निकै घातक असर परिरहेको छ।नेपाल सरकारले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला, आयात, बिक्री वितरण र प्रयोगमा २०७९ श्रावण १ गते बाट प्रतिबन्ध गर्ने निर्णय गरेको छ। स्वच्छ वातावरण नै हामी सबैको आवश्यकता हो । त्यसैले प्लस्टिकजन्य पदार्थको प्रयोग सकेसम्म नगरौं।
वातावरण दिवस हरेक वर्ष मनाइन्छ । यसकाे सार्थकता दिवस मनाउनु मात्रमा छैन । वातावरणमैत्री क्रियाकलाप हरेक दिन आवश्यक छ । हामीले गर्ने दैनिक क्रियाकलापले वातावरणलाई असर परिरहेकाे तर्फ सोच्नु जरुरी छ । हामीले हाम्रै लागि, हाम्रा पुस्ताका लागि, अरुका लागि र पृथ्वीकाे लागि समेत वातावरणमैत्री क्रियाकलाप गर्नु जरुरी भइसकेकाे छ । वातारवण स्वच्छ भए हामी स्वच्छ रहन्छाै । हाम्रा गतिविधि वातावरण मैत्री हुन जरुरी छ । तव मात्र वातावरण दिवसकाे सार्थकता रहन्छ ।
वातावरण इन्जिनियर, हेटौडा उपमहानगरपालिका
मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा हेटौडामा सम्मान तथा साइकल र्याली कार्यक्रम गरिएकाे छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार वातावरणीय सचेतना मुलक साईकल र्यालि तथा सम्मान कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा हेटौंडाको पर्यटन, स्वास्थ्य र साईकल अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने दिपेन्द्र चन्द ठकुरी, संगित श्रेष्ठ, शैलेस मानन्धर, मरणोपरान्त नरेश लाल श्रेष्ठलाई सम्मान गरिएको छ ।
अभियन्तालाई सम्मानअघि शनिबार बिहान वातावरणीय सचेतनामूलक साईकल र्यालीको आयोजना गरिएको थियो । हेटौँडा उपमहानगरपालिका हेटौडा २ कार्यालय परिसरबाट सुरु भएको साइकल र्याली कान्तिराजपथ, नागस्वती, कमाने, हुप्रचौर हुँदै पुनः हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमै पुगेर समापन भएको थियो । र्यालीमा ६५ जना साइकलयात्रीको सहभागिता रहेको थियो ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौडाका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाको वातावरण समिति प्रमुख एवम् वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा १४ नम्बर वडा अध्यक्ष दीपक खड्काको पनि उपस्थिति रहेको थियो ।

यसैगरी विश्व वातावरण दिवसकै अवसरमा सामुदायिक विकास तथा सचेतना नेपाल र बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको आयोजनामा मेरो फोहोर मेरो जिम्मेवारी अभियानको सुरुवात गरिएको छ । कार्यक्रममा विद्यालयको तर्फबाट सचेतना मुलक नाटक र गीत प्रस्तुत गरिएको थियो ।
टोल विकास संस्था नगर समन्वय समितिको समन्वयमा भएकाे अभियानमा विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीको अध्यक्षता हेटौंडा उपमहानगरपालिका वातवारण तथा विपद् व्यवस्थापन समितिका संयोजक १० नम्बर वडाका अध्यक्ष फुर्वा लामा, सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सीना, टोविसंन समन्वय समिति अध्यक्ष ध्रुव प्रसाद अधिकारी र विद्यालयका सहायक प्रधानाध्यापक अमुल श्रेष्ठ, लगायतको सहभागिता रहेकाे थियो ।
मकवानपुर । टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा विश्व वातावरण दिवस ७ दिन बिबिध कार्यक्रम गरी मनाउने भएको छ । समितिले उपमहानगरपालिकामा ५१ औं विश्व वातावरण दिवस सप्ताहब्यापी कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।
“प्लाष्टिकजन्य प्रदूषण निमूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं ” भन्ने मुल नाराका साथ जेष्ठ १६ गते देखि जेष्ठ २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने मुल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन जेठ १६ गते मंगलबार राप्तिखोला सरसफाई र वातावरण संरक्षण सम्बन्धि चेतना मुलक टिकटक प्रतियोगिता आयोजना गरिने छ । दोस्रो दिन अर्थात जेठ १७ मा पर्यावरण संरक्षण सम्बन्धी खुल्ला कविता प्रतियोगिता र सार्वजनिक सवारी साधानमा स्टिकर टास्ने तथा डस्बिन बितरण कार्यक्रम गरिनेछ । त्यस्तै तेस्रो (जेठ १८) मा वातारण संरक्षण तथा लागुपदार्थ दुव्र्यसनी बिरुद्द सडक नाटक प्रदर्शनी र ४० माईक्रोन भन्दा कमको प्लाष्टिक झोलामा लगाईएको प्रतिबन्ध सम्बन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिने अधिकारीले जानकारी दिए ।
त्यसैगरी रक्तदान कार्यक्रम, बाल क्लब स्तरीय वकृत्वकला प्रतियोगिता र हेटौंडाको हुप्राचौर र राजपानीमा वृक्षारोपणको कार्यक्रम चौथो दिन जेठ १९ गते हुनेछ । पाँचौ दिन जेठ २० गते सफा हेटौंडा अभियान अन्तर्गत उमहानगरको १९ वडामा सरसफाई कार्यक्रम र वातावरण सचेतना सम्बन्धी साईकल र्याली तथा सम्मान कार्यक्रम हुने उनले बताए । जेठ २१ छैठौँ दिनमा म आफ्नै डस्टबिन बोक्छु अभियान अन्तर्गत नगरका विद्यालयहरुमा सचेतना मुलक कार्यक्रम गरिने छ भने खेर गएका वस्तुहरुबाट उत्पादित सामग्रीको नगर विद्यालय स्तरीय प्रतिस्पर्धा गराइने छ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन जेठ २२ गते कपडाको झोला वितरण र उत्कृष्ट टोल विकास संस्थालाई पुरस्कृत गरिने छ भने बाजा तथा झाकी सहितको वातावरण सचेतना सम्बन्धी र्यालीले नगरपरिक्रममा गरिनेछ । नगरपरिक्रममा गरी हेटौंडाको हुप्राचौरमा एक सहमारोहबीच सप्ताहव्यापी कार्यक्रमको समापन गरिने संयोजक अधिकारीले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएका प्रतियोगितामा विजयी तथा सहभागीलाई समापन कार्यक्रमको दिन पुरस्कार वितरण तथा सम्मान अधिकारीले बताए ।
सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि टोल विकास संस्था, विद्यालय, खेलकुद संघसंस्था, क्लब, आमा समुह, स्वयंसेविका, धार्मिक, जातिय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरीक समाजका व्यक्तित्वहरुसंग समन्वय गरिएको उनले जानकारी दिए ।
मकवानपुर । “धेरै पटक सालकको मासु खाइयो, गलत गरिएछ, यो त हामी किसानको साथी रहेछ” सालक संरक्षणबारे भएको एक अन्तरक्रिया कार्यक्रममा एक महिलाले भाबुक हुँदै भनिन्, “कानुन लाग्ने भनेको त आफ्नो ठाउँमा छ, कानुनको डरले भन्दा पनि हाम्रै भलाइकै लागि सालक बचाउनु पर्ने रहेछ ।” वर्षौ अघिदेखि वन फाट्टफुट्ट भेटीने सालकलाई मारेर मासु खाने गरेको तर पछिल्लो २ वर्षयता मात्रै आफूलाई सालकको महत्वबारे ज्ञान भएको उनले बताइन् ।
मकवानपुरमा दुर्लभ वन्यजन्तु सालकलाई ‘गौरवको प्राणी’ घोषणा गरिने भएको छ । विश्वमै दुर्लभ मानिएको सालक (प्यांगोलिन) लाई मकवानपुर जिल्लामा ‘गौरवको प्राणी घोषणा गरिएको छ । जिल्लाको प्रायः हरेक क्षेत्रमा पाइने शान्त एवम् लजालू स्वभावको स्तनधारी जनावर सालकको संरक्षण गर्ने उदेश्यका साथ गौरवको प्राणीका रूपमा घोषणा गरिएको हो ।
फेब्रुअरी महिनाको तेस्रो शनिबार अन्तराष्ट्रिय सालक दिवस मनाइँदै आएकोमा विश्वमै दुर्लभ वन्यजन्तु सालक प्रजाति गम्भीर जोखिममा परेकाले यसै दिन पारेर गत फागुन ६ गते डिभिजन वन कार्यालय राप्तीको अगुवाईमा सालकलाई गौरबको प्राणी घोषणा गरिएको हो ।
डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले सालकलाई जिल्लाको गौरवको प्राणीको रूपमा घोषणा गरिएको बताए । प्रमुख आचार्यका अनुसार आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) नेपालमा मात्र पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको यो जनावर मकवानपुर जिल्लामा भने यसको संख्या राम्रो रहेको छ । त्यसैले अर्को पुस्ताले पनि सालक देख्न पाउनु पर्ने भएकोले यसको संरक्षणका लागि गौरवकै प्राणिका रुपमा घोषणा गरिएको हो ।
मकवानपुरको चुच्चेखोला, रानी, अशोक, न्युरेनी सामुदायिक बनमा सालकको संरक्षणको लागि पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालय राप्ती, मकवानपुरले सालकलाई यो जिल्लाको गौरवको रुपमा अगाडी बढाउन नियमित पहल गरिरहेको छ । यसको लागि बिभिन्न संघसंस्था, सामुदायिक वन, पालिका, बिद्यालय अनि युवाबर्गसंग यसको प्रवद्र्धनको लागि समन्वय र सहकार्य अनिवार्य भएको जिल्ला समन्वय समिति मकवानपुर प्रमुख लालित घलानले बताए ।
सालकको मासु पोषिलो हुने र रोगव्याधी निको हुने अन्धविसश्वास, खपटा दबाई हुन्छ र अन्तराष्ट्रिय बजारमा बिक्री हुन्छ भन्ने भ्रमका कारण पछिल्लो समय सालक चोरी निकासी हुदै गएकोले लोप हुँदै जाने क्रममा रहेकोले यसको संरक्षण गर्नु आवश्यक रहेको आचार्य बताउँछन् ।
यसैगरी साँघुरिदै गएको बासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको वासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण र प्राकृतिक आहारको कमी हुँदै जानुले सालक लोपोन्मुख अवस्थामा पुगेको बताइन्छ । यसको संरक्षणका लागि कार्यालयले विभिन्न योजना समेत सार्वजनिक गरेको उनी बताउँछन् ।
सालकको संरक्षणका लागि अवस्था पहिचान, वासस्थान, पारिस्थिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने, सालकको अवैध चोरी, शिकारी तथा व्यापार नियन्त्रण गर्ने, बासस्थानको संरक्षणका लागि खोजी एबम् व्यवस्थापन गर्ने, संरक्षणमा स्थानीय जनताको उत्तरदायित्व समेत वृद्धि गर्ने कार्यहरू भइरहेको आचार्यले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरीदबिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा पाँचवर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने हुँदा कति पय अवस्थामा थाहै नपाइ पनि यसको सिकार हुने गरेकाले सचेतना फैलाउन पनि आवश्यक रहेको उनी बताउँछन् ।
आचार्यका अनुसार सालक नेपालको संरक्षित वन्यजन्तु हो । संरक्षित वन क्षेत्रसँगै सामुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ । यो वन्यजन्तुले घमाइलो र जुका नलाग्ने ठाउँमा बासस्थान बनाउँछ । समुद्रबाट करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जंगल भएको क्षेत्रमा सालक पाइने गरेको छ । झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा कत्ला (खबटा) हुन्छ ।
यो सानो डाइनोसोरजस्तो पनि देखिन्छ । सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ । यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ ।
सालकको दाँत हुँदैन, जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । यसको रंग माटोसँग मिल्दोजुल्दो देखिन्छ । आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ । कतैबाट आक्रमण वा खतरा महशुस भयो भने यो भाग्दैन तर भकुन्डोको आकारमा थुतुनो केन्द्रमा पारेर गुजुल्टिएर बस्छ । खतरा महसुस नभए बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ । विशेषगरी चीन, भियतनाममा औषधि बनाउन र मासु उत्पादनका लागि सालकको बढी माग हुन्छ । चीन र भियतनामका धेरैजसो रेस्टुरेन्टमा सालकको मासु खानु प्रतिष्ठासँग जोडेर हेर्ने चलन छ । त्यसैगरी यसको शरीरमा हुने खबटा बुलेट–प्रुफ ज्याकेट तथा उच्च कोटिको टाँक बनाउन र महँगा सौन्दर्यका सामग्री बनाउन प्रयोग हुने गरेको छ ।
यसैगरी सालक किसानको साथी हो, यसले खेतीबाली र उत्पादनलाई नोक्सान गर्ने जीवलाई खाएर नियन्त्रण गर्छ । एउटा वयस्क सालकले एक दिनमा दुई लाख ३० हजार र वर्षमा करिब सात करोडसम्म त्यस्ता कमिला र धमिरा खाने गर्दछ । त्यसो नगर्ने हो भने किरा र कमिलाका कारण हाम्रा बालीनाली फस्टाउन सक्दैनथे । यसले जमिन खोस्रेर उर्वरा बनाउँछ । सालक नेपालमा संरक्षित वन्यजन्तु समेत भएकोले यसलाई संरक्षण गरी जोगाउन आवश्यक रहेको आचार्यले बताए ।
के हो किसानको साथी सालक
सालक स्तनधारी लजालु जनावर हो, यो प्याङ्गोलिनको नामबाट पनि चिनिन्छ । जीवविज्ञान अन्तर्गत सालकलाई वर्गीकरण गर्दा इचमभचस् एजयष्मियतब मा राखिएको छ, जसको अर्थ खपटा भएको जनावर (Order: Pholidota) भन्ने हुन्छ । विश्वभर ८ प्रजातिका नेपालमा दुई प्रजातिका सालक पाइन्छन् । ती हुन्: तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन र कालो सालक अर्थात चाइनिज प्याङ्गोलिन ।
झट्ट हेर्दा न्याउरीमुसा जस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा खपटा हुन्छ । यो सानो डाइनोसरजस्तो पनि देखिन्छ । सालकलाई विभिन्न स्थान समुदाय अनुसार फरक फरक नामले चिनिन्छ । तराईमा यसलाई ‘हिलेमाछो’ वा ‘सालमछरी’ भनिन्छ भने पश्चिम पहाडतिर यसलाई ‘भकुण्डे भुत’ भनेर चिनिन्छ संरक्षणमा लागि परेका आचार्यले बताए । लमजुङ क्षेत्रमा यसलाई ‘पाखेमाछो’ को नामले चिनिन्छ । सालकको साँघुरिदै गएको लाम्चो शरीर हुन्छ र थुतुनो, पेट र खुट्टामा बाहेक सबैतिर एकआपसमा खप्टिएका खपटाले ढाकेको हुन्छ । यस बाहेक खपटामुनि पहेंला जगरजस्ता रौँ पनि उम्रेका हुन्छन् । सालकका आँखा साना हुन्छन् र बाक्लो परेलाले ढाक्ने गर्छ । सालकको दाँत हुँदैन । जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलन सक्छ । यसको रङ माटोसँग मिल्दोजुल्दो देखिन्छ ।
तामे सालक प्रजातिको सालक हल्का रातो वर्णको हुन्छ । यो प्रजाति हिमालयको दक्षिणी भेगमा समथर तथा कम भिरालो जमिनमा पाइन्छ । यो नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमा समेत पाइन्छ । तामे सालक सबै प्रकारका उष्ण प्रदेशीय वन र घाँसेमैदानमा पाइन्छ । तामे सालकविशेष गरी समुद्र सतहबाट करिब १,००० मिटर उचाइसम्ममा पाइन्छ । यसको शरीरको तौल ९ देखि ११ किलोग्राम, शरीरको लम्बाई ६० दशमलब ७५ से.मि. र पुच्छरको लम्बाई ४५ से.मि. हुन्छ ।
यसैगरी कालो सालक हल्का कालो वर्णको हुन्छ । आचार्यका अनुसार यो प्रजातिको सालक नेपालको पूर्वी क्षेत्रलगायत पूर्वी भारत, चीन, लाओस, थाइल्याण्ड, भियतनाम, म्यानमार र बङ्गलादेशमा पनि पाइन्छ । यो तल्लो पहाडी भेगमा प्राकृतिक वन नभएको वनक्षेत्रमा समेत पाइन्छ ।
यो प्रजाति मुख्यतयाः उष्ण प्रदेशीय वन र उपोष्ण प्रदेशीय वनमा पाइन्छ । कालो सालकविशेष गरी समुद्र सतहबाट करिब १,००० देखि २,००० मिटर उचाइसम्ममा पाइन्छ । यसको तौल करिब ९ किलोग्राम, शरीरको लम्बाई ४८ देखि ५८ से.मि., पुच्छरको लम्बाई ३३ देखि ३८ से.मि. हुन्छ ।
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ तर यसले कमिलालगायत साना कीरा पनि खान्छ । विशेषगरी सालक धमिराको शत्रु हो । एउटा बयस्क सालकले एक दिनमा अनगिन्ति धमिरा र किरा कमिला खान्छ । यसको शरीर खपटाले ढाकिने र प्रमुख आहारा कमिला धमिरा हुनाले यसलाई स्केली एन्टएटर पनि भनिन्छ । यसले अन्नबाली, पशुचौपाया आदि कसैलाई पनि हानि नोक्सान गर्दैन । सालकले किसानको बालीनाली नोक्सान गर्ने किरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानवसमुदायका लागि हितकारी जीव हो ।

सालकले जमिनको प्रांगारिक माटो खनेर जमिन बाहिर निकाल्ने गर्दछ यसले जमिनको उर्वराशक्ति बढ्छ । यसको साथै जमिन भित्रको माटो खुकुलो बनाइ जमिनभित्र बर्षातको पानि छिरेर जमिनको चिस्यान कायम गर्न मदत पु¥याउँदछ र यसले प्राकृतिक सन्तुलनमा पनि महत्वपूर्ण सहयोग पुर्याउदछ । त्यसैले सालकलाई किसानको साथी भनेर भन्ने गरिन्छ । तर यो ज्ञानको अभावमा निर्दोेष सालकहरु मारिएका छन् ।
हालसम्मको जानकारी अनुसार मकवानपुरमा दुबै प्रकारका कालो र तामे सालक पाइन्छ । मकवानपुरको चुरेको फेद जहाँ सालको जंगलको राम्रो उपस्थिति छ त्यो क्षेत्रमा र माथिल्लो भेगको चित्लांग पालुंगको जंगलमा समेत यसको उपस्थिति देखिन्छ । चितवन र पर्सा दुवै राष्ट्रिय निकुन्जको सिमा जोडिएको स्थानमा सालकको बसोबास छ ।
वासस्थान
मकवानपुरको झण्डै एकसय वटा सामुदायिक वनमा सालक रहेको अनुसन्धानले देखाएको छ । स्थानीय सामुदायिक वनको उपभोक्तामा सालकबारे जानकारी भएपछि यसको संरक्षणमा सहजता हुँदै आएको छ ।
यो समुद्र सतहबाट करिब २,००० मिटरसम्मको उचाइमा विशेषगरी सालको जङ्गलमा पाइने गरेको छ । यस जनावरको वितरण पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा निकै बढी रहेको छ ।
किन हुँदैछ लोप
सालक विश्वमै बढी चोरी शिकार हुने प्राणीमध्ये एक हो । अवैध चोरीनिकासी नै सालक लोप हुनुको प्रमुख कारण भएको डिभिजन वन कार्यालय राप्ति मनहरीको ठहर छ । केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्ला समयमा खबटा÷कत्लाका लागि विदेश चोरी, निकासी हुने गरेको छ । यसले गर्दा सालकको सङ्ख्या घट्दै गएको छ । जलवायु परिवर्तन, समुदायमा जनचेतनाको कमी, साँघुरिदै गएको बासस्थान, वन डडेलो, वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण तथा विषादी खाएर मरेका कीरा खानाले हुने मृत्यु आदि सालकको सङ्ख्या घट्नुका थप कारण तथा चुनौतीका रुपमा रहेका छन् ।
नेपालमा सालकको संरक्षण एवं कानुनी प्रावधान
सालक नेपालको संरक्षित जनावर हो । संरक्षित क्षेत्रसँगै समुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले तामे सालकलाई सङ्कटापन्न र कालो सालकलाई अति सङ्कटापन्न सूचीमा सूचीकृत गरेको छ । त्यसैगरी वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार अभिसन्धिको अनुसूची १ मा राखेको छ ।
नेपाल सरकारको राष्ट्रिय निकुञ्जमा तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकसहित २७ प्रजाति स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखी संरक्षिण गरिरहेको छ ।
त्यसैगरी यस ऐनको दफा २६ को उपदफा २ मा सालक मारेमा, घाइते बनाएमा वा यसको अङ्गको व्यापार गरेमा १ लाखदेखि ५ लाख रुपियाँसम्म जरिवाना वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
पछिल्लो समय नेपाल सरकारको बाघ, गैंडा, हात्ती, कस्तुरी, हाब्रे जस्तै सालकलाई अति सङ्कटापन्न सूचीमा राखेर संरक्षणका काम प्राथमिकताका साथ अघि सारेको छ ।