मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा हेटौडामा सम्मान तथा साइकल र्याली कार्यक्रम गरिएकाे छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार वातावरणीय सचेतना मुलक साईकल र्यालि तथा सम्मान कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा हेटौंडाको पर्यटन, स्वास्थ्य र साईकल अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने दिपेन्द्र चन्द ठकुरी, संगित श्रेष्ठ, शैलेस मानन्धर, मरणोपरान्त नरेश लाल श्रेष्ठलाई सम्मान गरिएको छ ।
अभियन्तालाई सम्मानअघि शनिबार बिहान वातावरणीय सचेतनामूलक साईकल र्यालीको आयोजना गरिएको थियो । हेटौँडा उपमहानगरपालिका हेटौडा २ कार्यालय परिसरबाट सुरु भएको साइकल र्याली कान्तिराजपथ, नागस्वती, कमाने, हुप्रचौर हुँदै पुनः हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमै पुगेर समापन भएको थियो । र्यालीमा ६५ जना साइकलयात्रीको सहभागिता रहेको थियो ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौडाका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाको वातावरण समिति प्रमुख एवम् वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा १४ नम्बर वडा अध्यक्ष दीपक खड्काको पनि उपस्थिति रहेको थियो ।

यसैगरी विश्व वातावरण दिवसकै अवसरमा सामुदायिक विकास तथा सचेतना नेपाल र बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको आयोजनामा मेरो फोहोर मेरो जिम्मेवारी अभियानको सुरुवात गरिएको छ । कार्यक्रममा विद्यालयको तर्फबाट सचेतना मुलक नाटक र गीत प्रस्तुत गरिएको थियो ।
टोल विकास संस्था नगर समन्वय समितिको समन्वयमा भएकाे अभियानमा विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीको अध्यक्षता हेटौंडा उपमहानगरपालिका वातवारण तथा विपद् व्यवस्थापन समितिका संयोजक १० नम्बर वडाका अध्यक्ष फुर्वा लामा, सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सीना, टोविसंन समन्वय समिति अध्यक्ष ध्रुव प्रसाद अधिकारी र विद्यालयका सहायक प्रधानाध्यापक अमुल श्रेष्ठ, लगायतको सहभागिता रहेकाे थियो ।

