मकवानपुर । एक्कासि तापक्रम बढेपछि मकवानपुरमा सामुदायिक तथा संस्थागत बिद्यालयहरू बन्द गर्न थालिएको छ ।
पछिल्लो साता तापक्रम बढेसंगै मकवानपुरको बकैया गाउँपालिकाले एक साताको लागि बिद्यालय बन्द गर्ने सूचना जारी गरेको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाको वडा ५ ले आफ्नो क्षेत्रमा रहेको बिद्यालय बन्द गरेको छ ।
अत्यधिक गर्मिका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का सामुदायिक तथा निजी बिद्यालयहरु बन्द गरिने हेटौंडा–५ वडा कमिटीको बैठकले निर्णय गरेको हो । जेठ २१, २२ र २३ गते बिद्यालय बन्द गरिने निर्णय गरिएको वडा सदस्य ज्ञानबहादुर थापाले बताए ।
निकै गर्मिका कारण बिद्यार्थीहरुमा पढ्न समस्या हुन थालेपछी बिद्यालय बन्द गर्ने निर्णय गरिएको थापाले बताए । हेटौंडा उपमहानगरपालिकाले गर्मि हुने वडाहरुको आवश्याकताको आधारमा बिद्यालय बन्द गर्ने वा सन्चालन गर्ने बारे निर्णय गर्ने अधिकार वडा तहलाई दिएको छ ।
मकवानपुरको बकैया गाउँपालिकाले उच्च गर्मीका कारण एक साताका लागि विद्यालयमा विदा दिने निर्णय गरेको छ । शुक्रबार गाउँ शिक्षा समितिको बैठकले एक साताका लागि पालिकाका सवै विद्यालय विदा गर्ने निर्णय गरेको सूचना प्रकाशित गरेको छ ।
जेठ २१ गतेदेखि २७ गतेसम्म एक साताका लागि विद्यालय विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या सिर्जना भई विद्यालयको पठनपाठनमा नकारात्मक असर परिरहेको अवस्थालाई मध्य नजर गरी विदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा २ मा पनि बिद्यालयहरू बन्द गर्ने वा सन्चालन गर्ने भन्नेबारे आइतबार बिहान बिद्यालय व्यवस्थापन समितीसंग बैठक बोलाइएको वडा अध्यक्ष बिष्णुगोपाल श्रेष्ठले बताए । अहिले मकवानपुरको हेटौंडामा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ ।
गर्मीबाट हुनसक्ने लु बाट बच्नको लागि स्वास्थकर्मीहरूले सुझाव दिएका छन् । पटक पटक पानी पिउने, खाली पेट नबस्ने, प्याजको रस खाने, बाहिर निस्कदा टाउको, कान र गर्दन ढाक्ने तौलिया ओड्ने, मध्यान्हको चर्को गर्मीमा घर बाहिर ननिस्कने, पच्ने खानेकुरा मात्र खाने, नरम, मुलायम सूतीको कपडा लगाउने,चिसो फल, खानेकुरा सेवन गर्ने गर्न स्वास्थकर्मीको सुझाव छ ।

