मकवानपुर । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हाे ।
सोमबार राति १२ बजेबाट ३० वर्षे सेवा अवधिका कारण वसन्त कुँवर अवकाश जाने छन् । मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपी भएका छन् । आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।
प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । प्रतिष्पर्धी तीनै जना २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा गठित परियोजना परामर्श समितिले माइती नेपाल मकवानपुरबाट सञ्चालित मावन बेचविखन रोकथाम परियोजना २०२४ को समिक्षा गरिएको छ ।
बेचविखनमा परेका वा बेचविखनको जोखिममा रहेका, विद्यालय छाडेर बसेका वा छाड्ने अवस्थाका जवरजस्ती श्रम गर्न बाध्य तथा यौन हिंसा तथा दुर्व्यवहारमा परेका महिला, किशोरीहरुलाई उद्धार गरी आवधिक आवासको सहयोग, सिपमुलक कार्यक्रम/ तालिम प्रदान गर्ने उद्दश्यका साथ सञ्चालित परियोजनाबाट एक वर्षमा अपेक्षित उपलब्धि हासिल समिक्षा गरिएको थियो ।
परामर्श समितिका संयोजक नगर प्रमुख मिना कुमारी लामाको अध्यक्षतामा बसेको बैठकले माइती नेपालको कार्यप्रगती प्रशंसनीय भएको निश्कर्ष निकालेको छ । लक्ष्यित वर्गका महिला, किशोरीहरुलाई उनीहरुको बौद्धिक क्षमतामा सबै खाले हिंसाको विरुद्धमा महिला अभियानकर्ताको रुपमा स्थापित हुन सहयोग गरेको, सरकारी तथा गैर सरसरकारी संस्था, महिला तथा बालबालिकाहरुसंग सम्बन्धित संस्थाहरु र संजालसँग सहकार्य र समन्वय गरी मानव बेचविखन र सबैखाले हिंसा विरुद्ध लड्न एक्वद्धता जाहेर गरेको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया तामाङले बताइन् ।
माइती नेपालले परियोजना सञ्चालनको क्रममा यसबीचमा १० किशोरी तथा महिलाहरुले सिलाई कटाइ सम्बन्धी एडभान्स तालिम प्रदान गरेको, १० जनाले नै सिलाई व्यवसाय संचालन सुरु गरेको बताइएको छ । यसैगरी माइती नेपालमा ४८ औं समुहमा तालिम प्राप्त गरेकी १ जना किशोरी एसईई पास भएपछि घरको आर्थिक अवस्था कमजोर भएर पढ्न नपाकोमा गृहको समन्वयमा इस्थर बेन्जामिन स्मृति संस्थासँग समन्वय गरेपछि निजलाई हाल कक्षा ११ मा भर्ना गरिदिएको छ ।
यसैगरी ९ हजार ४३५ जना विधार्थीहरु, समुदायले मानव बेचविखन तथा ओसारपसार विरुद्ध जानकारी पाएको, एडभान्स तालिम लिएको १ जना र बेशिक तालिम लिएको १ जना बहिनीहरुलाई यस गृहको समन्वयमा ओसीएमसीबाट जनही १ लाख बराबरको सिलाई सामाग्री प्रदान भएको थियो ।समिक्षामा माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक तामाङले विभिन्न चुनौती समेत सामना गर्न परेको बताइन् । यौन हिंसा,घरेलु हिंसाको मुद्दाहरुमा बृद्धि, आन्तरिक मानव बेचविखनका क्रियाकलापमा बृद्धि, मुद्दाहरु होस्टायल हुने चुनौती, पिडक पक्षको धम्की, भारतीय तथा अन्य मुलुकबाट वैदेशिक रोजगारको लागि खाडी मुलुक तथा अन्य मुलुकमा गएर अलपत्र परेका महिलाहरुलाई उद्धार गर्न समस्या, साइबर अपराधको मुद्दाहरुमा बृद्धि, सामाजिक संजालको दुरुपयोग जस्ता चुनौती रहेको उनले बताइन् ।
हेटौंडा नगर प्रमुख लामाले माइती नेपालको कार्यशैली पारदर्शी भएकोले आगामी वर्षको लागि पनि परियोजना सञ्चालनको लागि स्वीकृत प्रदान गरेको बताइन् । यसैगरी उपमहानगरपालिका कार्यकारी अधिकृत भरत गौतमले गैससको सहकार्यले स्थानीय सरकारलाई होस्टेमा हैंसे गराउने बताए । बैठकमा उपमहानगरपालिकाका विभिन्न महाशाख प्रमुखहरु, जिल्लाका विभिन्न गैससका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गत आर्थिक वर्षमा बोनो र चान्स स्वीसको आर्थिक सहयोगमा मावन बेचविखन रोकथाम परियोजना २०२४ परियोजना सञ्चालनमा थियो । माइती नेपालबाट आगामी वर्षको लागि Consolidated Actions Against Human Trafficking 2025 सञ्चालनको लागि उपमहानगरपालिकाले अनुमती प्रदान गरेको छ ।
मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकामा माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । बा ४० प ५३०६ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा चालक बकैया ४ बस्ने ३३ वर्षीय रुपक दियालीकाे उपचारकाे क्रममा मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
हात्तिसुडेबाट ठुलोदमार तर्फ आउँदै गरेकाे उक्त माेटरसाइकल मंगलबार बिहान बकैया जुरेली बजारस्थित मदन भण्डारी लोकमार्गमा घुम्तिमा मोडने क्रममा दुर्घटना हुँदा दियालीकाे टाउकोमा चोट लागि घाईते भएका थिए । उनलाई उपचारको लागि बकैया अस्पताल पठाएकोमा थप उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाे थियाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहानै दियालीलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।
मकवानपुर । जीवनको सरल यात्रा त सहजै पार हुन्छ, कठिक परिस्थितीमा आइपर्ने समस्याको लागि समयमै पूर्वतयारी गर्नु आवश्यक छ । यस्तो पुर्वतयारी सहज बनाउनको लागि स्थानीय सरकारले सहजिकरण गरिदिएपछि मकवानजपुरको भिमफेदी गाउँपालिकाका श्रमिकहरु मख्ख छन् ।
औपचारिक क्षेत्रमा कार्यरतहरुको सुरक्षित भविष्यको लागि विभिन्न तयारी रहन्छ । आर्थिक रुपमा समेत धेरथोर जोहो हुने भएपछि प्राय समस्याको तार लाग्छ पनि । तर अनौपचारिक सेवामा कार्यरत श्रमिक मजदुरहरुलाई दिनभर काम गर्यो साँझ बिहान छाक टार्यो गर्नुपर्ने भएकोले उनीहरुको सुरक्षित भविष्यमा चुनौती छ ।
यस्तै अवस्थामा रहेका श्रमिक मजदुरहरुको लागि स्थानीय सरकारले अभिभावकत्व गरिदिएपछि श्रमिक मजदुरहरुको लागि खुसीकै पाटो भयो । मकवानपुरको भीमफेदी गाउँपालिकाले यस वर्ष अनौपचारिक क्षेत्रमा कार्यरत ९९ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । सिकर्मी, डकर्मी, कृषि मजदुर र सवारीसाधनमा काम गर्ने श्रमिकलाई गाउँपालिकाले कोषमा आबद्ध गराएपछि मजदुरहरुले आफ्नो भविष्यको उपचार सुविधा पाउने अवस्था बनेको भन्दै खुसी प्रकट गरे । गाउँपालिकाले गत वर्ष अनौपचारिक क्षेत्रका ९८ श्रमिकलाई कोषमा आबद्ध गराएको थियो ।
सामाजिक सुरक्षा योजनामा आबद्ध धेरै श्रमिक निर्माण क्षेत्रका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने भीमफेदी गाउँपालिका देशकै पहिलो रहेको सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले बताए ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन नेपाल सरकारले औद्योगिक क्षेत्रका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत अर्थात १ हजार १९० रुपैयाँ र गाउँपालिकाको तर्फबाट ९ दशमलव ३७ प्रतिशत अर्थात् १ हजार १४ रुपैयाँ थप गरी जम्मा २० दशमलब ३७ प्रतिशत अर्थात् २ हजार २०४ रुपैयाँ मासिक गाउँपालिकाको कोषमा जम्मा गरिने व्यवस्था मिलाएको छ ।
भीमफेदीले यसअघि १३ माघ २०८० मा ९८ जना श्रमिकलाई कोषमा आबद्धता गराएको थियो । जसमा ८७ जनाले कोषमा निरन्तर रकम जम्मा गराउँदै आएका छन् । दुई वर्षमा १ सय ९७ जनालाई कोषमा समावेश गराइएको अध्यक्ष हिदम लामाले जानकारी गराए ।
गाउँपालिकाले आगामी वर्ष महिला स्वयंमसेविकालाई कोषमा आबद्धता गराउने योजनाअनुसार बजेटको व्यवस्था गरिने अध्यक्ष लामाले प्रतिबद्धता जनाएका छन् । उनले भीमफेदीले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्धता गराएपछि काठमाडौं महानगरदेखि भरतपुर महानगरसम्मले चासो देखाएको बताए ।
अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ (महंगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १९० रुपैयाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात १ हजार १४ रुपैयाँ गरी २ हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले बताए ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा कोषमा श्रमिकलाई आबद्धता गराउन २५ लाख बजेट विनियोजन गरेको थियो । गत आव २०८०÷८१ मा १३ लाख बजेटबाट कार्यक्रम कार्यान्वयन गरिएको गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठले बताए ।
सामाजिक सुरक्षा योजनामा आवद्ध भएपछि श्रमिकहरुले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाबाट सुविधा उपभोग गर्न सकिने कोषका निर्देशक नेपालले बताए ।
श्रमिकका दम्पति र कोषमा आवद्ध भएका परिवारका १८ वर्ष मुनिका बालबालिका जस्ता विभिन्न योजनाहरुमा सहभागी भई योजनामा उल्लेख सेवासुविधा हासिल गर्न सकिने उनले बताए । भिमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच ३० साउन २०८० मा सम्झौता भएको थियो । कोषले ११ मंसिर २०७७ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको थियो ।
चालु आवमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रमको शुभारम्भ गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले यो उदाहरणीय कार्य गरेको बताए । यसले उनीहरुको जीवन र परिवारमा सहजता आउने उनको भनाइ थियो । यो कार्य भीमफेदी गाउँपालिकाले मात्र होइन प्रदेशका १ सय १९ वटै पालिकाले अनुसरण गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए ।
प्रतिनिधिसभाका सांसद महेश बर्तौलाले सरकारले संगठित वा असंगठित क्षेत्रका श्रमिकको जीवन र उनीहरुको परिवारलाई सबल बनाउन विभिन्न योजना ल्याएको दाबी गरे । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आफ्ना पालिकाका बासिन्दालाई सक्षम बनाउन चालिएका यस्ता कार्यले सबै क्षेत्रमा सकारात्मक सन्देश पुग्ने बताइन् ।
भीमफेदी गाउँपालिकाले गत आवदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई समावेश गर्दै आइरहेको छ । चालु आर्थिक वर्षका लागि योगदानमा आधारित श्रमिक कोष शीर्षकमा २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गत १५ फागुनमा चोरको शंकामा प्रतिकार गर्दा मृत्यु भएका भरथकुमार भ्लोनका आमाबाबुलाई मकवानपुर प्रहरीले हिरासतमा राखेकाे छ ।
मकवानपुर प्रहरीले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवाबारीमा भएकाे उक्त घटनको अनुसन्धानका लागि भरतका बुबा ६४ वर्षीय मीनबहादुर भ्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई हिरासतमा राखेकाे जनाएको छ । चोरकाे शंकामा कुटपिटबाट घाइते भएका भरतको उपचारको क्रममा चितवनस्थित भरतपुर अस्पतालमा गत शनिबार मृत्यु भएको थियो ।
उक्त घटनमा घाइते भएका भ्लोन दम्पतीलाई उपचारकाे लागि भक्तपुरस्थित इवा मुरा अस्पताल पठाइएकाे थियाे । उपचारपछि उनीहरुलाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको प्रहरी प्रवक्ता डीएसपी श्यामु आर्यलले जानकारी दिए । उनीहरूमाथि आफ्नै ३९ वर्षीय छोरा भरथको हत्या गरेको आरोप लागेको प्रहरीले जनाएकाे छ ।
‘मृतक भरथका आमाबुबालाई ज्यान सम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिइएकाेमा उनीहरुमाथि हिरासतमा राखेर घटनाको बारेमा अनुसन्धान गर्छौं’ डीएसपी अर्यालले भने । प्रहरीका अनुसार गत १५ फागुन बिहीबार राति घरमा चोरी गर्न आएको भन्दै भ्लोन दम्पतीले आफ्नै छोरा भरथमाथि घरेलु औजारले आक्रमण गर्दा घाइते भएका थिए ।
चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका भरथले खाना खाइरहेकाे आमाबुबाकाे आँखामा खुर्सानीको धुलो छरेको थिए । त्यसपछि उनीहरूबिच केहीबेर घम्साघम्सी भएको थियो । छोराले खुर्सानीको धुलो छरी चोरी गर्न लाग्दा भ्लोन दम्पतीले भान्सामा प्रयोग हुने घरेलु सामानले प्रतिकार गर्दा दुबै पक्षबिच कुटाकुट हुँदा भरथको टाउकोमा चाेट लाग्दा ब्लड जमेकोमा गम्भीर घाइते भएका थिए । उनकाे उपचारको क्रममा १६ फागुनमा मृत्यु भएको थियाे । भ्लोन दम्पती मध्ये मिनबहादुरकाे हात, मुख र टाउकोमा चोट लागेकाेमा अवस्था मध्यम रहेकाे तथा देवीमायाकाे हात र आँखा नजिक चोट लागेकाेमा अवस्था मध्यम रहेकाे थियाे ।