मकवानपुर । मकवानपुर प्रहरीले स्पेयर टायरभित्र लुकाएर काठमाडौं लगिदैं गरेकाे लागूऔषध ओनरेक्ससहित सुमाे चालकलाई नियन्त्रणमा लिएकाे छ ।
मंगलबार बाराबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको यात्रुबाहक सुमोलाई प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा १ सय मिलिलिटरको २ सय २५ बोतल लागूऔषध ओनरेक्स बरामद गरेको हाे । हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित चेकपोष्टकाे टोलीले उक्त लागूऔषध बरामद गरी सुमो चालक पर्सा बहुदरमाई नगरपालिका–९ का २४ वर्षीय मुम्ताज मियालाई नियन्त्रणमा लिएको छ ।
सुमोको हुटमा राखिएको स्पेयर टायरमा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । जिल्ला अदालत मकवानपुरले मुम्ताजलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएपछि मकवानपुर प्रहरीले बरामद गरेको लागूऔषध र सुमोसहित चालकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
शुक्रबार विहान १ बजेको समयमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानी स्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौं तर्फबाट हेटौंडा तर्फ आउदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा सर्लाही बागमती गाउँपालिका – ७ बस्ने १३ वर्षीय मानुसी मगरको घटनास्थलमानै मृत्यु भएको हो भने रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर–५ बस्ने ५० वर्षीय निलम देवी राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको अर्यालले बताए । मगरलाई प्रहरीले खोजतलास गर्ने क्रममा शुक्रबार बिहान दुर्घटनास्थल नजिक खोल्सामा मृत अबस्थामा फेला परेकाे थियो ।
दुर्घटनामा घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको गाडी मोडबाट करिब २ सय मिटर तल खसेकोमा पूर्णरुपमा क्षति भएको उनले जानकारी दिए । चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन् । उनको उपचार प्रहरीको निगरानीमा भइरहेको बताइएकाे छ ।
मकवानपुर । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ सुनाचुरीमा बिहीबार बिहान ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको छ ।
दुर्घटना भएको बसका चालक बारा जिल्ला कोल्हबी नगरपालिका–११ बस्ने २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसको स्टेरिङ लक भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । घाइतेको विवरण तथा बसमा रहेको यात्रुको संख्या यकिन हुन सकेको छैन ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
आइतबार दिउँसो परेकाे पानीसँगै चट्याङ लागेर मनहरी – ५ दरदराका २८ वर्षीय अविरल थिङको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ । यसैगरी चट्याङ लागेर स्थानीय ५६ वर्षीय सिंहबहादुर थिङ र मनहरी ५ डिल्लिपुर बस्ने १० वर्षीय सौगात गोले घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
घाइते दुबै जनालाई उपचारका लागि चितवन लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सिंहबहादुर मृतकका बाबु रहेकाे तथा गोले मृतकका सानीआमाको छोरा हुन् । घाइतेहरुकाे अबस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । पत्रकार हत्याको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरले ध्यानाकर्षण गराएकाे छ ।
पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालय हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएको हाे । आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टलाई बुझाइएकाे ध्यानाकर्षण पत्रमा पत्रकार सुरेश रजकको हत्या भएकाेले निष्पक्ष छानबिन गर्न महासंघ मकवानपुरले माग गरेको छ ।
गत १५ चैतमा काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुनेगरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा महासंघ मानव अधिकार आयोग पुगेकाे हाे ।
पत्रकार महासंघ मकवानपुर शाखाले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गरेको अध्यक्ष अधिकारीले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख भट्टले आयोगले घटना भए देखिनै निष्पक्ष छानबिन गरिरहेको बताए । आयोगले १५ चैतको घटनालाई सूक्ष्म तवरले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरूको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको उनले बताए ।
महासंघले यस अघि गृहमन्त्री रमेश लेखक समक्ष १८ चैतमा साेही विषयमा ध्यानाकर्षणपत्र पेस गरेकाे छ । सरकारले पत्रकार महासंघको माग पूरा गर्नेतर्फ पहल नगरेको अध्यक्ष अधिकारीले बताए ।