मकवानपुर । मकवानपुर प्रहरीले स्पेयर टायरभित्र लुकाएर काठमाडौं लगिदैं गरेकाे लागूऔषध ओनरेक्ससहित सुमाे चालकलाई नियन्त्रणमा लिएकाे छ ।
मंगलबार बाराबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको यात्रुबाहक सुमोलाई प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा १ सय मिलिलिटरको २ सय २५ बोतल लागूऔषध ओनरेक्स बरामद गरेको हाे । हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित चेकपोष्टकाे टोलीले उक्त लागूऔषध बरामद गरी सुमो चालक पर्सा बहुदरमाई नगरपालिका–९ का २४ वर्षीय मुम्ताज मियालाई नियन्त्रणमा लिएको छ ।
सुमोको हुटमा राखिएको स्पेयर टायरमा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । जिल्ला अदालत मकवानपुरले मुम्ताजलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएपछि मकवानपुर प्रहरीले बरामद गरेको लागूऔषध र सुमोसहित चालकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

