मकवानपुर । पत्रकार हत्याको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरले ध्यानाकर्षण गराएकाे छ ।
पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालय हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएको हाे । आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टलाई बुझाइएकाे ध्यानाकर्षण पत्रमा पत्रकार सुरेश रजकको हत्या भएकाेले निष्पक्ष छानबिन गर्न महासंघ मकवानपुरले माग गरेको छ ।
गत १५ चैतमा काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुनेगरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा महासंघ मानव अधिकार आयोग पुगेकाे हाे ।
पत्रकार महासंघ मकवानपुर शाखाले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गरेको अध्यक्ष अधिकारीले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख भट्टले आयोगले घटना भए देखिनै निष्पक्ष छानबिन गरिरहेको बताए । आयोगले १५ चैतको घटनालाई सूक्ष्म तवरले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरूको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको उनले बताए ।
महासंघले यस अघि गृहमन्त्री रमेश लेखक समक्ष १८ चैतमा साेही विषयमा ध्यानाकर्षणपत्र पेस गरेकाे छ । सरकारले पत्रकार महासंघको माग पूरा गर्नेतर्फ पहल नगरेको अध्यक्ष अधिकारीले बताए ।

